मन्त्री लम्सालको भाषण उनैलाई घाँडो

समाधान संवाददाता २०७७ पुष २९ गते ११:४७

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले हिजो संसदमा आफैंले राखेको भनाइ सच्च्याउने प्रयास गरेका छन् । लम्सालले आउँदो वैशाखमा हुने चुनावमा संघीय संसदको उम्मेदवार बन्ने भन्दै त्यसका लागि मुख्यमन्त्री तथा पार्टी प्रदेश इन्चार्जसँग टिकट मागेका थिए । उनले मन्त्रीमा आफ्नो सट्टा अर्काे कसैलाई खोज्न पनि आग्रह गरेका थिए

तर लम्सालले प्रदेश सभाबाट राजीनामा गरी संघीय संसदको चुनाव लड्न जाने अर्थ लाग्ने गरी धारणा राखेका थिए । तर त्यसबाट मन्त्री पद धरापमा पर्ने देखेपछि साँझ नै आफ्नो भनाइबारे थप प्रष्ट पार्ने प्रयास गरेका छन् ।

Advertisement


मन्त्री लम्सालको निजी सचिवालयका तर्फबाट माधव पराजुलीले निकालेका विज्ञप्तिमा ‘प्रदेश सभामा बोल्ने क्रममा केही माननीय सदस्यज्यूहरुले आगामी बैशाखमा हुने गरी सरकारले घोषणा गरेको निर्वाचन हुन सक्दैन भनेपछि एउटा जिम्मेवार मन्त्रीले सोही सभालाई सम्बोधन गर्ने क्रममा तोकिएकै मितिमा निर्वाचन हुन्छ, हामी सबै तयार हौं भन्नु स्वभाविक नै हो’ भनिएको छ ।

मन्त्रीले प्रदेश सरकारलाई कमजोर बनाउन, आफू मन्त्रिपरिषद्बाट बाहिरिन नभई प्रतिनिधि सभाको मध्यावधि निर्वाचन तोकिएकै समयमा हुन्छ भनी विश्स्त पार्न उक्त अभिव्यक्ति दिएको पराजुलीले बताएका छन् ।

Advertisement

‘पुस २८ गते संसदमा उठेका सवालहरुको मन्त्रीज्यूले जवाफ दिने क्रममा २०७८ साल बैशाख १७ र २७ गते दुई चरणमा हुने गरी घोषणा गरिएको आम निर्वाचन तोकिएकै समयमा हुने हुँदा त्यसका लागि म पनि तयार छु र हजुरहरु पनि तयार हुनुहोस् भन्ने मनसायका साथ प्रदेश सभा बैठकमा आफ्नो अभिव्यक्ति राख्नुभएको व्यहोरा प्रष्ट पार्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।


सरकार ढाल्ने, राष्ट्रपतिलाई समेत महाअभियोग लगाएर हटाई निर्वाचित संस्थाहरुलाई खाली बनाएर जालझेल गरी सत्तामा पुग्ने मनसायका साथ खेलिएको घृणित खेलले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि नै गम्भीर वितृष्णा पैदा गर्ने कार्यलाई रोक्न प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेको पनि विज्ञप्तिमा छ । ‘निर्वाचन घोषणा भईसकेपछि पनि केही व्यक्ति विशेष तथा राजनीतिक दलका नेताहरुले निर्वाचन नहुने र यो निर्वाचन हुनका लागि गरिएको घोषणा नभएको भनी जनतामा अफवाह फैलाएकोले तोकिएकै मितिमा निर्वाचन हुन्छ भनी जनतालाई आश्वस्त पार्न माननीय मन्त्रीज्यूले प्रदेश सभाको बैठकमा उक्त अभिव्यक्ति दिनुभएको हो,’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्री लम्सालले प्रदेश सभामा के भनेका थिए ?

तपाईको प्रतिक्रिया