अदालतबाट नसोचेको निर्णय आउन सक्छः भट्टराई

समाधान संवाददाता २०७७ पुष २९ गते १८:४९

समाधान संवाददाता, पोखरा

समाजवादी पार्टी नेपालको संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले प्रतिनिधि सभा विघटनबारे सर्वोच्चबाट सोचेजस्तो निर्णय नआउन सक्ने बताएका छन् ।

समाजवादी पार्टी गण्डकी प्रदेशले आयोजना गरेको विरोध कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै भट्टराईले केपी ओलीको प्रभावमा अदालत पर्न सक्ने बताए ।

Advertisement

‘अदालतबाट सोचेजस्तो निर्णय नआउन सक्छ, प्रभावित पार्न सक्ने खतरा छ, हामी सडकबाट पैरवी गरिरहनुपर्छ,’ उनले भने, ‘अदालतभन्दा माथि जनताको अदालत हुन्छ, जनताले निर्णय गर्नुपर्छ ।’

आफूहरु अदालतले सही निर्णय दिनेमा आशावादी रहे पनि ओलीको धम्काइमा अदालत पर्न सक्ने उनको जिकिर थियो ।

Advertisement

ओली प्रवृत्तिले आगामी दिनमा गलत नजिर बसाल्ने भट्टराईले बताए । अहिले प्रधानमन्त्री ओलीले संविधानविपरीत संसद विघटन गर्नुलाई सही भन्दै थपडी बजाउनुले भविष्यका लागि गलत नजिर बन्ने उनको भनाइ थियो ।

विगतमा संसद विघटन भएपनि त्यतिबेला संविधानमा टेकेर सदन विघटन भएपनि अहिले संविधानविपरीत विघटन भएको भट्टराईले बताए ।

‘अहिले हो ल भइहाल्यो भन्ने हो भने पछि कुनैले यही नजिर हेरेर समावेशिता फाल्देला, कोहीले अधिकार हटाइदेला,’ उनले भने ।

प्रधानमन्त्री ओलीले संसदमात्रै नभई संविधाननै विघटन गरेको भट्टराईको तर्क थियो । ओलीलाई नेपाली जनताले कारबाही गर्नुपर्ने धारणा उनले राखे ।

अमेरिकामा ८ दिन कार्यकाल बाँकी रहेका डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन लागिएको बताउँदै ओलीलाई पनि कारबाही हुनुपर्ने उनको तर्क थियो । भट्टराईले सुनाए, ‘अहिले यत्तिकै छाडिदिने हो भने हाम्रो त्याग खेर जान्छ, ओलीले चुनाव गर्दैनन्, उनलाई कारबाही हुनुपर्छ ।’

नेता भट्टराईले ओलीलाई ‘चटके’ को संज्ञासमेत दिए । ओलीका कारण आफूहरुले संविधान बनाउँदा देखेका सपना पूरा नभएको बताउँदै नेपाली जनताका सपनाको हत्या भएको टिप्पणी भट्टराईले गरे ।

‘हामीसँग सपना थियो, भ्रमपूर्ण सही किसान समृद्ध हुन्छन्, रोजगारी सबैलाई मिल्छ, विभेद अन्त्य हुन्छ, कुण्ठित राष्ट्रवाद उठ्छ भन्ने सपना थियो,’ उनले भने, ‘संविधानको विघटन गरी सपना टुटाइए ।’ ओलीलाई सच्चिएर पार्टीमा फर्कन ओलीइतर नेताले सुझाउनुलाई उनले गलत रहेको बताए । ‘आफू पनि मासिने अरु पनि मास्ने यो हितैषी प्रवृत्तिमा नजानुहोस्’ उनको सुझाव थियो ।

नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति रहने व्यवस्था र अदालतको पुनस्र्थापना नहुनुले यो संकट आएको भट्टराईको जिकिर थियो । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था राख्न असहमति भएपछि प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने अधिकार हटाएको उनले बताए ।

‘दुवै संविधान बनाउने समितिमा म थिएँ, प्रत्यक्ष निर्वाचित राष्ट्रपति नराख्ने भएपछि विघटन गर्न पाउने अधिकार हटाएका थियौं, ४ चरणबाट सरकार बन्न नसक्ने स्थितिमा मात्र सदन विघटन हुन्छ,’ भट्टराईले जनाए ।

ओलीले कोरोना महामारीको बेलामा सबैलाई सडकमा झर्न बाध्य बनाएको उनको भनाइ थियो । नेकपा अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल जस्ता नेताहरु माइतीघर मण्डलमा बस्नुलाई ओलीले ‘मै हुँ भन्नेलाई सडकमा झारेको’ भट्टराईको तर्क थियो ।

अहिले जनयुद्ध नै केका लागि गरिएको भन्दै प्रश्न उठ्न थालेको भट्टराईले बताए । जनतामा किन रगत, पसिना बगाइएछ, किन आफन्त सहिद भएछन् भन्ने भाव बढेको भन्दै उनले आफूहरु जनयुद्धका एजेन्डामा अझै प्रतिबद्ध रहेको बताए ।

असारमा नेकपाभित्रको किचलो उच्च बिन्दुमा रहेका बेला प्रचण्ड–माधवले ओलीलाई कारबाही गर्ने तयारी थालेको उनले खुलाए । ‘उहाँहरु त्यति बेलै कारबाही गर्छौं भन्नुहुन्थ्यो, पछि गर्नुभएन, किन डराउनुभयो मै अचम्ममा परें,’ भट्टराईले भने ।

प्रधानमन्त्री ओली राष्ट्रवादको कुरा गर्ने गरे पनि उनी नक्कली राष्ट्रवादी रहेको अध्ययक्ष भट्टराईको आरोप थियो । अरुलाई धम्काएर कहिल्यै पनि सक्कली राष्ट्रवादी बन्न नसकिने उनले बताए ।

अहिले ओलीले भारतसँग आत्मसमर्पण गरेर संसद विघटन गरेको उनको अर्को आरोप थियो । ‘ओलीले भारतसँगै आत्मसमर्पण गरेर सदन विघटन गरे, हामी चनाखो नभए ठूलो राष्ट्रघात गरिने तयारी छ,’ भट्टराईले भने, ‘कामचलाउ सरकारको मन्त्री भारतभ्रमण जानुले राष्ट्रघात हुँदैछ भन्ने पुष्टि गर्छ ।’

अध्यक्ष भट्टराईले ओली फाँसीवादको नयाँ भाइरस रहेको आरोप लगाए । हिटलरले सबै विनाश नगरेसम्म नमरेको भन्दै ओलीले पनि विनाश निम्त्याउन लागिरहेको भट्टराईको भनाइ थियो । ‘हिटलरले जे ग¥यो, ओली त्यही बाटोमा छन्, सर्वनाश नभएसम्म ओलीले छाड्ने देखिन्न,’ उनले भने ।

जसपाका वरिष्ठ नेता अशोक राईले केपी ओलीले जनतामाथि खड्ग प्रहार गरेको बताए ।

‘उहाँको नाम नै खड्ग ओली हो, जनतामाथि नै खड्ग प्रहार गर्नुभयो, पार्टीको रिस जनतामाथि पोख्नुभयो,’ राईले भने । प्रधानमन्त्री ओलीलाई कारबाही गरिनुपर्ने उनको धारणा थियो ।

प्रचण्ड–माधव माइतीघर मण्डलाको सडकमा बसेर आफ्नो स्थान देखाएको राईले बताए । अब आउने दिनमा नेपाली जनता फेरि संघर्षका लागि तयार बस्नुपर्ने उनले बताए ।

‘अर्थव्यवस्था डामाडोल छ, यस्तो बेलामा कसरी निर्वाचन गर्ने ?’ उनले भने, ‘आउने दिन संघर्षमय हुनेछन्, रगत पसिना बगाउनुपर्नेछ, आँधीवेहरीमा कावा खानुपर्छ ।’ जनयुद्धलाई बाबुराम भट्टराईकै निर्णायक भूमिकामा अवतरण गराइएको उनले बताए ।

प्रचण्डलाई ‘अल्पबुद्धि’ भन्दै प्रचण्डले कहिल्यै ठूलो नेतृत्व लिन नसकेको उनको जिकिर थियो ।

जसपा नेता शरदसिंह भण्डारीले केपी ओलीले आफ्नो सनकको आडमा देश ध्वस्त पारेको बताए । नेपाली जनताले ठूला तानाशाह फालेको भन्दै ओलीजस्ता फुच्चे तानाशाह फाल्न कुनै समय नलाग्ने उनको तर्क थियो ।

नेकपाले लोकतन्त्रको रक्षा गर्न नसकेको र कांग्रेसप्रति जनताको विश्वास गुमेको उनले उल्लेख गरे । प्रधानमन्त्री ओलीले संविधान माथि कु गरेर संसदको विघटन गरेको बताए । संविधान त्रुटिपूर्ण भएकाले संशोधन गर्नुपर्ने उनको माग थियो ।

जसपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य हरिशरण आचार्यले अब ओलीलाई कालोमोसो र चप्पलको माला लगाएर बालुवाटारबाट निकालिनुपर्ने बताए ।

मंगलबार गण्डकी प्रदेशसभामा मन्त्री विकास लम्सालले संघको चुनाव लड्न इच्छा देखाएको भन्दै मन्त्री लम्साललाई पागलको संज्ञा दिए ।

बुधबारको विरोध कार्यक्रममा जसपाका गण्डकी इन्चार्ज गणेशमान गुरुङ, जसपा नेतृ हिसिला यमी, प्रदेश सभा सदस्य धनमाया लामा पोखरेल, शंकर गौतम लगायत नेताहरु सहभागी थिए ।

तपाईको प्रतिक्रिया