गण्डकी प्रदेशलाई ‘कोभिसिल्ड’ लिएर आज पोखरा आउँदै डा. जागेश्वर गौतम

समाधान संवाददाता २०७७ माघ ११ गते १०:३९

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा कोभिड १९ विरुद्धको खोप ‘कोभिसिल्ड’ आज साँझसम्म आइपुग्ने भएको छ । प्रदेशका फ्रन्टलाइनरलाई लगाउने खोप लिएर भ्यान आइतबार साँझसम्म पोखरा आइपुग्ने सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख शम्भुप्रसाद ज्ञवालीले बताए ।

गण्डकी प्रदेशलाई खोप लिन पोखराबाट ‘रेफ्रिजेरेटर भ्यान’ शुक्रबार नै काठमाडौं पुगेको थियो ।

Advertisement

भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ । प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिनेछ । ज्ञवालीका अनुसार प्रदेशले कति खोप पाउँछ भन्ने अझै यकीन भइसकेको छैन ।

गण्डकी प्रदेशले ४० देखि ४५ हजार डोज खोप पाउने अनौपचारिक जानकारी आएको प्रदेशका अर्का उच्च स्वास्थ्य अधिकारीले बताए । ‘कति खोप पठाउँछन् भन्ने आएपछि थाहा होला तर गण्डकीलाई ४० हजार डोज दिने भन्ने सुनेको छु,’ ती अधिकारीले भने, ‘त्यति आए स्वास्थ्यकर्मीसहित २० हजार फ्रन्टलाइनरलाई पुग्छ ।’

Advertisement

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक खिमबहादुर खड्काले खोप राख्ने ठाउँ व्यवस्थापन भइसकेको जानकारी दिए ।

उनका अनुसार कोरोना भाइरसविरुद्धको उक्त खोप जिल्ला स्वास्थ्य कार्यालय कास्की हाताभित्रको खोप भण्डार गृहमा राखिनेछ ।

केन्द्रले खोपसहित व्यवस्थापन र प्रदेशमा सहजीकरण गर्न प्रतिनिधि पनि पठाउने भएको छ । गण्डकी प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई खोप व्यवस्थापन संयोजक तोकिएको छ । उनीसँगै वरिष्ठ जनस्वास्थ्य प्रशासक मदन श्रेष्ठ पनि आउनेछन् ।

पोखरास्थित खोप भण्डारमा ल्याएपछि ४ दिनभित्र जिल्लामा पठाइनेछ । कति जनालाई खोप लगाउने भन्ने अझै जानकारी आइनसकेको स्वास्थ्य महाशाखा प्रमुख ज्ञवालीले बताए । ‘केन्द्रले जिल्लाबाटै विवरण मागेकाले उनीहरु आफैंले पठाएका छन् । खोप आएपछि पोखरामा तालिम हुन्छ । त्यसपछि कतिलाई लगाउने भन्ने थाहा हुन्छ,’ उनले भने ।

उक्त खोप स्वास्थ्य संस्थामा कार्यरत कोभिड १९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड १९ को संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ ।

२ मात्रामा दिइने खोप पहिलोपटक लगाएको ४ हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयका प्रवक्ता डा गौतमले बताए । खोप लगाउन सुरु गरेको १ हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ । माइनस २ डिग्री सेल्सियसदेखि माइनस ८ डिग्री सेल्सियसमा राख्न सकिने उक्त कोभिसिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ ।

कुल जनसंख्याको ७२ प्रतिशतलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना सरकारको छ । पहिलो चरणको खोप लगाएपछि सरकारले दोस्रो चरणका लागि ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्र अन्तर्गत निशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ ।

कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसंख्यालाई पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जिटुजी), सार्वजनिक खरिद नियमावली अनुसार र ठेक्कामार्फत ल्याउनेछ ।

अहिले विश्वमा फाइजर एन्ड बायोएनटेक कम्पनी (अमेरिका), मोडेर्ना (अमेरिका), ग्यामेलिया (रसिया), स्पुतनिक–भी (रसिया) र अक्सफोर्ड अक्ट्राजेनिका (बेलायत) र चीनको साइनोभ्याक्स लगायतका खोप कोभिड–१९ विरुद्ध प्रयोग भइरहेका छन् ।

तपाईको प्रतिक्रिया