माघ अन्तिममा टाइगर कप राष्ट्रिय भलिबल

समाधान संवाददाता २०७७ माघ १२ गते १९:०२

समाधान संवाददाता, पोखरा

गण्डकी महिला भलिबल टोलीको इतिहास गर्विलो छ । राष्ट्रिय खेलाडीहरुको उत्पादन थलो बनेको गण्डकीको भलिबल अहिले भने गुमनाम छ ।

राष्ट्रिय प्रतियोगिताहरुमा गण्डकीको सहभागिता पातलिएको छ । कुनै बेला भलिबल उपाधिको दाबेदार गण्डकी अहिले सहभागितासम्म जनाउँदैन ।

Advertisement

नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाही गण्डकीकै भएपनि अहिले अन्य क्लबका लागि खेल्छिन् । कारण हो– गण्डकीले प्रतियोगितामा सहभागिता नजनाउनु ।

‘गण्डकीले खेल्न बोलाए, सहभागिता जनाए म गण्डकीबाट नै खेल्न सधैं तयार छु,’ अरुणा भन्छिन् ।

Advertisement

भर्खरै नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पिपल्स च्वाइस अवार्ड जितेकी अरुणाको नेतृत्वमा गण्डकीको टोली बनाउन सके गण्डकीको भलिबल इतिहासका पाना दोहोरिने थिए । तर अहिले गण्डकीको भलिबल टोली बनाउन समेत सकस छ ।

यस्तो अवस्थामा गण्डकीमा पुन भलिबलको रौनक फर्काउन राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्प्यिनसिप भलिबल प्रतियोगिता हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ २७ देखि फागुन १ सम्म भलिबल प्रतियोगिता हुन लागेको हो ।

‘पहिला गण्डकीको भलिबल कस्तो थियो ? अहिले कस्तो छ ? त्यो हेरेर बस्न नसकिने भएकाले प्रतियोगिता ल्याएका हौं,’ ग्रुपका अध्यक्ष नारायण शर्माले भने, ‘प्रतियोगितामा गण्डकी सहभागी नबनेपनि भलिबल उठाउनलाई प्रतियोगिता सहयोगी बन्ने छ ।’ देशका उत्कृष्ट टोली ल्याएर खेलाउनुले गण्डकीको भलिबल जाग्ने ज्ञवालीको आशा छ ।

प्रतियोगितामा महिला र पुरुषतर्फ समान ४÷४ टोलीको सहभागिता रहनेछ । सिंगल राउन्ड रोबिन प्रतियोगितामा ३ विभागीय क्लबले नाम दर्ता गराएका छन् । महिला तथा पुरुष प्रतियोगितामा सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको टोलीले प्रतिस्पर्धा गर्नेछ । महिला प्रतियोगितामा न्यु डायमन्ड एकेडेमी काठमाडौं र पुरुषतर्फ गण्डकी प्रदेशको टोलीले खेल्नेछ ।

प्रतियोगिता जित्ने टोलीले समान १ लाख ५० हजार रुपैयाँ प्रदान गरिने टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष शर्माले जानकारी दिए । दोस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ, तेस्रो टोलीले ३५ हजार र सान्त्वना हुने टोलीले १५ हजार रुपैयाँ हात पार्नेछ । महिला पुरुष दुवै समूहका विजेताले समान रकम पाउने अध्यक्ष शर्माले बताए ।

पुरुष तथा महिला उत्कृष्ट खेलाडीतर्फ सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, डिफेन्डर तथा स्पाइकरलाई समान ५÷५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताका विभिन्न चरणका लागि छुट्टाछुट्टै टिकट रकम तोकिएको छ ।

लिग चरणका खेलका लागि १ सय रुपैयाँ, सेमिफाइनलका खेलका लागि १ सय ५० र फाइनल खेलका लागि २ सय रुपैयाँ टिकट तोकिएको छ ।

प्रतियोगितामा ३० लाख रुपैयाँ आम्दानी हुने आयोजकको अनुमान छ । २५ लाख खर्च गरेर ५ लाख रुपैयाँ बचत गर्ने लक्ष्य रहेको शर्माले बताए ।

तपाईको प्रतिक्रिया