नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै

समाधान संवाददाता २०७७ माघ १९ गते ९:५८

काठमाडौं

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा रहेको नेकपा प्रचण्ड–माधव समूहले आज केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

समसामयिक राजनीतिक विषय तथा आन्दोलनका कार्यक्रमसँग केन्द्रित विषयमा छलफलका लागि आकस्मिक रुपमा केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

Advertisement

स्थायी कमिटी सदस्य पम्फा भुसालले दिएको जानकारी अनुसार आकस्मिक रुपमा बोलाइएको केन्द्रीय कमिटीको बैठक ११ बजे बस्नेछ ।

नेतृ भुसालले भनिन्, ‘मुख्यतः आन्दोलनका कार्यक्रम र समसायमिक विषयका केन्द्रीत विषयमा छलफल हुनेछ ।’

Advertisement

नेकपाको विवाद निरुपणमा निर्वाचन आयोगको भूमिकाका कारण नेकपा प्रचण्ड–माधव पक्ष सशंकित छ । पुरानो केन्द्रीय कमिटीअनुसार बहुमत सदस्य भएको यो समूहले राजनीतिक दलसम्बन्धी दफा ५५ अनुसार आफ्नो आधिकारिकता दाबी गरेको थियो ।

तर, आयोगले त्यसलाई मान्यता दिएन । बरु, दुई अध्यक्ष प्रचण्ड र केपी ओलीलाई पत्र लेखेर निर्वाचनको विषयामा छलफल गर्न १६ माघमा बोलाएको थियो । त्यसदिन प्रचण्ड–माधव समूहका नेताहरु लीलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधानले छलफल बहिस्कार गरेका थिए । र, एक पेजको पत्र बुझाएर १८ माघपछि मात्रै छलफल गर्ने पनि उल्लेख गरेको थियो ।

नेकपाको यो समूह विवाद निरुपणमा आयोगमाथि प्रश्न उठाउँदै आएको छ । देशव्यापी विरोधसभा गरेर फर्के लगत्तै प्रचण्ड–माधव समूहले केन्द्रीय कमिटीको बैठक आकस्मिक रुपमा बोलाएको हो ।

तपाईको प्रतिक्रिया