टाइगर कप विजेतालाई डेढ लाख

समाधान संवाददाता २०७७ माघ २५ गते ८:५७

समाधान संवाददाता, पोखरा

टाइगर गु्रप अफ नेपालले आयोजना गरेको प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ ।

प्रतियोगिताका लागि मञ्च तथा दर्शक दीर्घाको व्यवस्थापनको काम भइरहेको अध्यक्ष नारायण शर्माले जानकारी दिए । प्रतियोगिता पोखरा रंगशालामा माघ २७ देखि फागुन १ गतेसम्म हुनेछ ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम छ ।

Advertisement

‘प्रतियोगिता हेर्न आउने ज्येष्ठ नागरिक तथा अपांगलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइको छ,’ अध्यक्ष शर्माले भने, ‘प्रतियोगिता अवधि भरका लागि खेलाडीको दुर्घटना बिमा गरिएको छ ।’

उनले कोरोना भाइरसको संक्रमणका कारण प्रवेशद्वारमा साबुन, पानी राखेर हात धुने व्यवस्था मिलाएको जानकारी दिए । उनले सरकारले निर्धारण गरेका स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरिने बताए ।

Advertisement

नेपालको राष्ट्रिय खेल भलिबलको यो प्रतियोगितालाई आगामी दिनमा समेत निरन्तरता दिने जानकारी दिदै उनले अन्य विधाका खेलकालाई समेत जोड्ने घोषणा गरे । प्रतियोगिता संयोजक नवीनकुमार गुरुङले राष्ट्रिय स्तरको प्रतियोगिता खेलेका र नयाँ खेलाडीलाई समेटेर गण्डकी प्रदेशको टिम बनाइएको जानकारी दिए ।

राउन्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरीबल काठमाडांै, त्रिभुवन आर्मी क्लब, काठमाडौं, नेपाल प्रहरी काठमाडांै र न्यु डायमन्डको सहभागिता रहनेछ । पुरुषतर्फ सशस्त्र प्रहरीबल काठमाडौं, त्रिभुवन आर्मी क्लब काठमाडौं, नेपाल प्रहरी काठमाडौं र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा उपाधि विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, द्वितीय हुनेले ७५ हजार तथा तृतीयले नगद २५ हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २० हजार पाउने छन् । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान५ हजार नगद प्राप्त गर्ने छन् ।

प्रतियोगिता गर्न २५ लाख खर्च हुने अनुमान छ । प्रतियोगिताबाट ३० लाख बचत हुने गु्रपका अध्यक्ष शर्माले जानकारी दिए । बचेको रकम सामाजिक, खेल क्षेत्र र खेलाडीको सहयोगका लागि खर्च हुने उनले बताए ।

प्रतियोगितामा पहिलो चरणका खेलका लागि टिकट दर १ सय रुपैयाँ तोकिएको छ । सेमीफाइनलका लागि १ सय ५० रुपैयाँ र फाइनल खेलका लागि २ सय रुपैयाँ कायम गरिएको छ ।

टाइगर ग्रुप अफ नेपालका महासचिव प्रकाश बरालले खेलकुद, शिक्षा तथा सामाजिक क्षेत्रमा क्रियाशील संस्थाले स्थापनाको पहिलो वर्ष प्रवेशको अवसरमा प्रतियोगिता गरेको बताए ।

तपाईको प्रतिक्रिया