गाउँसभा र सर्वदलीय बैठक बोलाउन माग

समाधान संवाददाता २०७७ माघ २६ गते १३:०२

समाधान संवाददाता, पोखरा

मादी गाउँपालिकाको केन्द्र सार्ने निर्णय सम्बन्धमा तत्काल गाउँसभा र सर्वदलीय बैठक बोलाउन गाउँपालिका लेखा समितिले माग गरेको छ ।

लेखा समिति संयोजक सरोज केसीले आइतबार विज्ञप्ति जारी गर्दै केन्द्र सार्ने विवादबाट उत्पन्न असहज परिस्थितिले गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएकाले निकासका लागि यस्तो माग गरेका हुन् ।

Advertisement

हाल याङ्जाकोटमा रहेको गाउँपालिकाको केन्द्र बेतेनी सार्ने सम्बन्धमा गाउँपालिकाले प्रदेशमार्फत संघ सरकारसमक्ष सिफारिस गरिएपछि स्थानीयले विरुद्धमा तालाबन्दी गरेका हुन् । तालाबन्दीपछि ६दिनदेखि दैनिक कामकाज ठप्प छ ।

लेखा समिति संयोजक केसीले विज्ञप्तिमार्फत तत्काल निकास दिन तत्काल वार्ता र छलफलका लागि गाउँसभा र सर्वदलीय बैठक बोलाउन माग गरेका हुन् । गाउँपालिका केन्द्र निर्धारण विषय निर्वाचित भएको मितिले सुरुको ६ महिनाभित्र सामान्य बहुमत र त्यसपछिको निर्धारण दुइतिहाइको बहुमतले पारित हुने कुरा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र संघीय कानुनले प्रष्ट पारेको छ ।

Advertisement

केसीले समस्या समाधानका लागि ७ सुझाव पनि दिएका छन् । तत्काल गाउँसभामार्फत नै समाधान खोज्न वा सर्वदलीय सर्वपक्षीय बैठक बोलाई निर्णय गर्न माग गरिएको छ ।

राज्यको पुनर्संरचनाअन्तर्गत कास्कीका साविक पार्चे, नामार्जुङ, थुमाकोडाँडा, कालिका, सिल्दजुरे, मिजुरेडाँडा, भाचोक, सैमराङ, माझठाना, हंसपुर गाविस मिलेर मादी गाउँपालिका बनेको हो । गाउँपालिकामा१२ वडा छन् ।

तपाईको प्रतिक्रिया