कोरलामा भौतिक पूर्वाधार बनाउन अध्ययन

समाधान संवाददाता २०७७ फागुन १७ गते ११:४५

एसके थकाली, जोमसोम

मुस्ताङको उत्तरी कोरलानामा भन्सार लगायतका पूर्वाधार निमार्णका लागि प्रारम्भिक अध्ययन थालिएको छ । कोरला नाकामा भौतिक पूर्वाधार निर्माण लगायतका काम अघि बढाउन सरकारले प्राविधिक टोली मुस्ताङ पठाएको संघीय सांसद प्रेमप्रसाद तुलाचनले बताए ।

कोरला नाकाको पूर्वाधार निर्माणको सम्भाव्यता अध्ययन तथा सर्भेको जिम्मा सितारा कन्सल्टेन्सीले पाएको छ । टेन्डरमार्फत सम्भाव्यता अध्ययनको जिम्मा सिताराले पाएको हो ।

Advertisement

सांसद तुलाचनले भने, ‘कोरलामा भौतिक संरचना निर्माणका लागि प्रारम्भिक अध्ययन सुरु गर्न लागेका छौं । कन्सल्टेन्सीका ५ जनाको प्राविधिक टोलीले १ साताभित्र कोरलाको भूगोल र जग्गा अध्ययन गर्ने छ । त्यसैको आधारमा डिपिआर बन्छ ।’

सितारा कन्सल्टेन्सीका इन्जिनियर टीका कोइरालाले कोरलामा सरकारले प्रारम्भिक सम्भाव्यता अध्ययन तथा सर्भे गर्न ५ दिन लाग्ने जानकारी दिए । उनले कोरला नाकामो समग्र भूगोल र जग्गाको अध्ययन गरिने र काठमान्डौ फर्किएपछि त्यसका आधारमा विस्तृत परियोजना प्रतिवेदन तयार हुने बताए ।

Advertisement

सीमावर्ती क्षेत्र कोरला नाकामा चीनतर्फ भन्सार, अध्यागमन, सुख्खा बन्दगाह लगायत भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । चीनतर्फ धमाधम पूर्वाधार निर्माण हुँदै गर्दा नेपालतर्फ कुनै काम अघि बढेको छैन । चीनले २०७४ देखि कोरलामा संरचना निर्माण थालेको थियो ।

भारतीय नाकाबन्दीपछि चर्चामा रहेको मुस्ताङको कोरला नाकामा सरकारले २ वर्षअघि जग्गा भन्सारको स्वामित्वमा लिन जग्गा प्राप्ति प्रक्रिया अघि बढाएको थियो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको ५ सदस्यीय समितिले २४ नम्बर पिल्लरको सडक दायाँबायाँ १ हजार रोपनी जग्गा प्रदान गर्न सिफारिस गरेको थियो ।

२४ नम्बर सिमास्तम्भको नेपालतर्फ अन्तर्राष्ट्रिय मापदण्ड छोडेर भन्सार, क्वारेन्टाइन, सुरक्षा पोस्ट, सुख्वा बन्दरगाह अटाउन सक्ने जमिनको लालपुर्जा भन्सार कार्यालयको नाममा आइसकेको छ ।

सरकारले २०७४ देखि थालेको राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सडक आयोजनाको काम भइरहेको छ । सुरु गरेको हो । यो सडकमा बेनी जोमसोम खण्डमा ६० प्रतिशत र जोमसोम कोरला खण्डमा ८० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया