किसानको पीडाः २–४ रुपैयाँ बढ्ला र बेचौंला भनेको तरकारी असिनाले लग्यो

समाधान संवाददाता २०७७ फागुन २७ गते १३:४५

अनुप पौडेल, पोखरा

खेतका बन्दा र काउली बेच्न ठिक्क थियो । मूल्य २/४ रुपैयाँ बढेपछि बेचम्ला भन्ने आसमा थिए पोखरा २२ पुम्दीभुम्दीका किसान, उमाकान्त बराल । तर, बुधबार दिउँसो परेको मुसलधारे असिनापानीले उनको बारीका बन्दा, काउली, खुर्सानी, काँक्रो, मुलासखाप बनायो ।

तरकारी बाली सखाप हुन एक घन्टा पनि लागेन । महिना दिनको मिहिनेत क्षणभरमै सकिएपछि उनको मन अहिले अमिलिएको छ ।

Advertisement

‘बन्दा निकाल्न तयार थियो । मूल्य थोरै बढ्ला र १/२ दिनमै बेचम्ला भनेको त्यो खाइदियो,’ मोहनस्वाँरा कृषि फर्म सञ्चालक बरालले भने, ‘खडेरीलाई भनेर लगाएको मुला र धनिया उम्रेको थियो, त्यो पनि सोत्तर ।’

उनका अनुसार भीषण असिनापानीले ६ सय बोट काँक्रो र एघार सय बोट सत्रसय जातको खुर्सानी सोत्तर पारेको छ ।

Advertisement

असिनापानीले तीन लाख रुपैयाँ बराबर क्षति भएको बरालले बताए । ‘यो सिजनको तरकारी सबै गयो । ३ लाख रुपैयाँ डुब्यो । फागुन सुरुमै परेको असिनापानीले अलिअलिमात्रै गएको थियो,’ उनले निराश हुँदै सुनाए, ‘अहिले एक घन्टा परेको असिनापानीले हरिबिजोग नै बनायो ।’

असिनाले डाकिएको तरकारी बारी । तस्बिर- उमाकान्त बराल

पुम्दीकै अर्का किसान देवीलाल बरालले पाँच रोपनी क्षेत्रफलमा लगाएको खुर्सानी, सिमी, करेला, घिरौंला पनि बुधबार क्षणभरमै असिनाले सक्यो । गत ३ फागुनमा पनि पोखरामा असिनापानी परेको थियो । त्योबेला पनि तरकारी असिनाले सकेपछि बाँकी बिरुवा लगाए ।

‘ऋषि पञ्चमीको अघिल्लो दिन परेको असिनाले सबै लग्यो । त्यतिबेला अलिअलि बिरुवा छोपेर सुरक्षित राखियो,’ भ्युप्वाइन्ट अर्गानिक कृषि फर्म सञ्चालक देवीलालले थपे, ‘पहिलाको गएपछि तिनै बिरुवा लगाएको थिएँ, त्यो पनि अहिले गयो ।’

अब फेरि नयाँ बिरुवा ल्याएर लगाउनुपर्ने चिन्ता उनलाई छ । बुधबार परेको असिनापानी पछिल्लो दुई दशकयताकै ठूलो भएको देवीलालले सुनाए ।

‘ठूल्ठूला असिना परे । प्लास्टिकका पिर्का बाहिर थिए, त्यो नै फुटाल्यो । त्यो लग्यो भनेपछि अरु बाली त एकदम नोक्सान गर्‍यो,’ देवीलालले भने, ‘बारीमा के लगाएको केही नदेखिने गरी पर्‍यो । पुरै सेताम्मे छ ।’ आफ्नो तीन लाख रुपैयाँ आर्थिक क्षति भएको उनले बताए ।

बुधबार पोखराको ‘तरकारी हब’ मै ठूलो असिनापानी परेको हो । पुम्दीभुम्दी, निर्मलपोखरी, भरतपोखरी पोखराका तरकारी पकेट क्षेत्र हुन् । पोखराको बजार क्षेत्रमा भने त्यस्तो विधि ठूलो असिना परेको थिएन ।

असिनापानीले कति क्षति भयो भन्ने यकीन भइनसकेको पोखरा महानगरपालिकाको कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । ‘बाली ४०/५० प्रतिशत क्षति भएको देखिन्छ । आर्थिक क्षति हेर्दा केहीजस्तो नदेखिए पनि हिसाब गर्दा करोडौं आउँछ,’ उनले भने ।

कृषि बिमा गर्दैनन् किसान

पोखराको दक्षिणपश्चिम क्षेत्रबाट धेरै तरकारी उत्पादन हुन्छ । महानगरभित्र उत्पादन हुने तरकारीले यहाँको ३० देखि ४० प्रतिशत माग धान्छ । बाँकी तरकारी कास्कीका अरु पालिका, तनहुँ, स्याङ्जा, चितवन, धादिङ ल्याउने गरिएको छ ।

महानगरको तथ्यांक अनुसार पोखरामा करिब १७ सय हेक्टर क्षेत्रफलमा तरकारी खेती हुन्छ । तर कृषि बिमा नगर्दा किसानले असिना पर्दा ठूलो क्षति व्यहोर्दै आएका छन् ।

जीवन, पशु बिमामा धेरैको आकर्षण भए पनि कृषि बिमामा किसान जोडिन नसकेको महानगरपालिकाको कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताउँछन् । बुधबार असिनापानीले नोक्सान पु¥याएको क्षेत्रका अधिकांश किसानले पनि कृषि बिमा गरेका छैनन् ।

केन्द्र सरकारले ७५ र प्रदेश सरकारले २५ प्रतिशत व्यहोरेर बिमा गर्ने व्यवस्था छ । तर, क्षति भए पनि अनेकथरी डकुमेन्ट बुझाउनुपर्ने भएकाले किसान बिमातर्फ आकर्षित हुन सकेका छैनन् ।

‘पशु बिमामा आकर्षण राम्रो छ । कृषितर्फ निकै कम छ । पोखरामा दुई सय जति किसानले कृषि बिमा गर्नुभएको छ,’ कडरियाले भने, ‘पोखरेली किसानको राम्रो आम्दानीको स्रोत तरकारी हो । बजार पनि राम्रो छ ।’

तपाईको प्रतिक्रिया