यो वर्ष आहा रारा गोल्डकपमा ८ टिम भिड्ने

समाधान संवाददाता २०७७ चैत १ गते ०:००

समाधान संवाददाता, पोखरा

मोफसलकै प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १९ औं संस्करणमा ८ टिम सहभागी हुने भएका छन् ।

१ विदेशी र ७ नेपाली क्लब चैत २१ देखि २८ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

Advertisement

प्रतियोगितामा मनाङ मस्र्याङदी, नेपाल पुलिस, थ्री स्टार, एपिएफ, संकटा, सहारा, मछिन्द्र, अफ्रिकन रुट एसोएसन क्यामरुन सहभागी हुने सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । गत वर्ष १० टिम थिए ।

गत संस्करणमा पुलिसलाई टाइबेकरमा हराएर मनाङले उपाधि जितेका थियो । प्रतियोगिताको विजेताले १० लाख १ हजार रुपैयाँ र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पुरस्कार पाउने क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए ।

Advertisement

१ जना फुटबल खेलाडीलाई ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७’ बाट ३५ हजार रुपैयाँ, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिनेछ । गत कात्तिकमा निधन भएका प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको स्मृतिमा १९ औँ संस्करणदेखि उत्कृष्ट ५ विधाका पुरस्कार अर्पण गरिने अध्यक्ष थापाले बताए ।

प्रतियोगिताबाट आम्दानी १ करोड २९ लाख र खर्च १ करोड १ लाख ८१ हजार हुने अनुमान गरिएको छ । सहारा क्लबले प्रतियोगिताबाट हुने आम्दानी आफैंले सञ्चालन गरेको सहारा फुटबल एकेडेमीमा खर्च गर्दै आएको छ ।

एकेडेमीमा १४ जिल्लाका २४ बालक आश्रित छन् । सहाराले ती बालकलाई २०७० सालदेखि आवाससहित स्वास्थ्य, शिक्षा र फुटबल प्रशिक्षण दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया