एन्फा कास्कीको कामले देशकै फुटबलको बद्नाम हुने खतरा

समाधान संवाददाता २०७७ चैत १० गते १८:४९

कोरोनाकै कारण देखाउँछ एन्फा, अनुशासन समितिले ५ महिनामा पनि दिएन राय

अनिष भट्टराई, पोखरा

अखिल नेपाल फुटबल संघ (एन्फा)को छानबिन समितिले एन्फा कास्की अध्यक्षले सामान्य मापदण्ड पनि नमानेको ठहर गरेको छ ।

Advertisement

एन्फा कास्की अध्यक्ष मिलन गुरुङले एकलौटी गरेर अघि बढ्दा कास्कीको मात्रै नभएर देशकै फुटबलको बद्नाम हुने छानबिन समितिले ठह¥याएको छ । गत असारमा ११ दिन छानबिन गरेपछि तयार प्रतिवेदनमा समितिले यस्तो लेखेको हो ।

एन्फा कास्कीका अध्यक्ष मिलन गत माघमा बैंकिङ कसुरसहित तीनवटा मुद्दामा पक्राउ परेपछि जिल्ला फुटबल संघभित्रका आर्थिक अनियमितताको विषय बाहिर आएको थियो । सोहीबारे छानबिन गर्न असार २ मा एन्फाले समिति गठन गरेको थियो ।

Advertisement

एन्फा उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा गठित समितिमा एन्फा कास्कीका पूर्वअध्यक्ष आनन्द रन्जित र विष्णुप्रसाद पराजुली सदस्य थिए ।

छानबिन समितिले एन्फालाई बुझाएको प्रतिवेदनमा कास्की जिल्ला फुटबल संघका ९ कमजोरी उल्लेख गरेको छ ।

सबै कमजोरी संघका अध्यक्ष मिलन गुरुङका कारण भएको एन्फा केन्द्रनिकट स्रोतबाट समाधानलाई प्राप्त प्रतिवेदनको निचोडमा उल्लेख छ । असारमै पूर्ण भएको प्रतिवेदन भने अहिलेसम्म लुकाइएको छ । सार्वजनिक गरिएको छैन ।

कास्की जिल्ला फुटबल संघ विधिवत रुपमा सञ्चालन नहुँदा व्यक्ति हावी भएको प्रतिवेदनमा जनाइएको छ । फुटबल संघले एन्फाको विधि विधानमात्र नभएर सामान्य मापदण्ड पनि पूरा नगरेको छानबिन समितिको निचोड थियो ।

‘संस्था सञ्चालनमा एन्फाले विधान त टाढाको विषय सामान्य मापदण्ड पनि पूरा गरेको देखिँदैन,’ प्रतिवेदनमा लेखिएको छ, ‘संस्थाभन्दा व्यक्ति ठूलो भन्ने नियत देखियो ।’

जिल्ला संघका अन्य पदाधिकारीहरुले अध्यक्षको एकलौटी र विधानविपरीत कार्यबारे केन्द्रमा समयमै खबर गर्न नसकेको जनाइएको छ । जिल्ला संघले कुनै प्रतियोगिता र कार्यक्रमको आयव्यय विवरण पेस गर्नुपर्ने भए पनि वैधानिक व्यवस्थाको उल्लंघन गर्दै विवरण पेस नगरिएको छानबिन समितिको ठहर छ ।

कास्की जिल्ला फुटबल संघको गतिविधिले देशकै फुटबल बदनाम हुने प्रतिवेदनमा उल्लेख छ । ‘एन्फा केन्द्रको मात्र नभई देशकै फुटबल बदनाम हुने देखियो, यी सबैमा कास्की जिल्ला फुटबल संघका अध्यक्ष जिम्मेवार,’ प्रतिवेदनमा भनिएको छ ।

आम्दानी खर्च बैंकमार्फत एकद्वार प्रणालीबाट नभएकाले आम्दानी खर्च पारदर्शिता नभएको र हिसाब एकिन गर्न पनि छानबिन समितिलाई गाह्रो परेको प्रतिवेदनमा उल्लेख छ ।

अनुसन्धानको क्रममा छानबिन समितिले मनकामना कप फुटबल प्रतियोगितामा करिब २९ लाखको नोक्सानी भएको देखाउँदै आय–व्यय सार्वजनिक गरिदिएको थियो । मनकामना कपको आर्थिक पक्ष खुलाउने जिम्मा एन्फा कास्कीकै भए पनि एन्फा कास्कीले सो जानकारी बाहिर ल्याएको थिएन । समितिले मनकामना कपमा २९ लाख १७ हजार २ सय ९० रुपैयाँ नोक्सान भएको जनाएको थियो ।

७५ सालमा आयोजना गरिएको प्रतियोगितामा ९२ लाख ९८ हजार १ सय ६४ रुपैयाँ खर्च र ६३ लाख ८० हजार ८ सय ७४ आम्दानी देखिएको हो । प्रतियोगिता सञ्चालन गरेर ३७ वटा संस्थालाई २४ लाख १९ हजार ९ सय ७४ रुपैयाँ दिन बाँकी देखिएको छानबिन समितिले बताएको थियो ।

छानबिन समितिले एन्फालाई ९ बुँदे सुझाव पनि दिएको छ । प्रतिवेदनमा उल्लेख गरिए अनुसार जिल्ला फुटबल संघको अनियमितामा अध्यक्षको काम गर्ने तरिका जिम्मेवार रहेकाले यो सच्चिनुपर्ने छ । ‘अध्यक्षले फुटबल विकासभन्दा पनि बदनाम गर्ने खालको काम गरे, यो समय सापेक्ष हुनुप¥यो,’ समितिको सुझाव छ ।

समितिले घुमाउरो पारामा कास्की जिल्ला फुटबल संघका अध्यक्षलाई दण्डित गर्नुपर्ने बताएको छ । ‘प्रस्तावित गरी एन्फाको ४८ जिल्ला सदस्य छन् । ती सबैमा सकारात्मक सन्देश जाने गरी एन्फाले कदम चाल्न जरुरी छ,’ प्रतिवेदनमा लेखिएको छ ।

लेखा परीक्षण नै नभएको र साधारणसभा नै नबसेको फुटबल संघको सदस्यता नवीकरण गरिदिएर एन्फाले गल्ती गरेको समितिको ठहर छ । आगामी दिनमा लेखा परीक्षण र साधारणसभा भएका संघको मात्र सदस्यता नवीकरण गर्न उसको सुझाव छ ।

छानबिन सकिएको ९ महिना बितिसक्दा पनि एन्फा अझै प्रतिवेदन सार्वजनिक गर्ने सुरमा छैन । समितिले आफ्नो समयसीमाभित्रै प्रतिवेदन एन्फामा बुझाए पनि एन्फाबाट नै थप प्रक्रिया अगाडि बढ्न सकेको छैन । समितिले साउन ३ गते प्रतिवेदन एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई बुझाएको थियो । प्रतिवेदन बुझाउँदै १५ दिनभित्रै बाँकी कारबाही सक्न छानबिन समितिले सुझाएको थियो ।

प्रतिवेदनलाई साउन तेस्रो साता एन्फाकोे कानुन र अर्थ शाखामा पठाइएको थियो । मंसिरमा सो प्रतिवेदन एन्फाको अनुशासन समितिमा पठाइएको थियो, र अहिलेसम्म समितिले कुनै प्रतिक्रिया भने जनाइसकेको छैन । ‘त्यही समितिमा पठाएका थियौं, कोरोनाले बैठक बस्न नपाएर अड्किएको छ,’ एन्फा प्रवक्ता किरण राईले समाधानसँग भने ।

सुरुबाट नै एन्फाले कोरोनाको कारण देखाउँदै प्रतिवेदन सार्वजनिक गर्न नसकिएको बताउँदै आएको छ । ‘हामी कोरोनाका कारण त्यो काम गर्नै पाएका छैनौं, अहिले थ्री नेसन्स कपको तयारीले समय बितेको छ,’ राईले भने । अहिले उक्त प्रतिवेदन जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले कास्की जिल्ला फुटबल संघका अध्यक्षलाई बचाउन प्रतिवेदन बाहिर ल्याउन नचाहेको बताए । ‘ललितपुरलाई कारबाही गर्ने, कास्कीको त झनै छानबिन प्रतिवेदन हेरेर नै काम गर्नुपथ्र्यो, काखा–पाखा गरियो,’ उनले भने ।

समितिले कास्की जिल्ला फुटबल संघले आयोजना गरेका प्रतियोगिताको हिसाब–किताब माग गर्दै छानबिन प्रक्रिया अघि बढाएको थियो । समितिले ६ वटा प्रतियोगिताका कागजात तथा बिल भरपाई माग गर्दै अध्ययन गरेको हो ।

जिल्ला फुटबल संघले २०७५ मा आयोजना गरिएको मनकामना कप, जिल्ला लिग, जिल्ला स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता, प्रदेश स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता तथा पुरुष र महिलाको अन्तर विद्यालय फुटबल प्रतियोगिताको कागजात बुझाएको थियो ।

अब के हुन्छ ?

अनुशासन समितिले दिने सुझाव अनुसार आगामी कदम चालिने एन्फा प्रवक्ता किरण राई बताउँछन् । तर अनुशासन समितिले भने मंसिरदेखि कुनै प्रतिक्रिया दिएको छैन । अनुशासन समितिले गल्ती भएको भए विधि विधान अनुसार कारबाही गर्न सिफारिस गर्ने राई बताउँछन् । ‘विधानमा जे छ, त्यो अनुसार सिफारिस हुन्छ,’ उनले भने । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा भने प्रवक्तालाई सोध्नुस् भन्दै जवाफ दिन मानेनन् ।

हस्ताक्षर नगर्दा विवाद, अनि राजीनामा
विजया गुरुङ, निवर्तमान कोषाध्यक्ष, एन्फा कास्की

मैले पहिलाबाट नै चेक राखेकी थिइनँ । उसलाई (मिलन गुरुङ) चाहिँदा चेक लिएर आउँथ्यो अनि मैले हस्ताक्षर गरिदिन्थें । तर पछि केही गलत गरिराको छ भन्ने सुनेपछि मैले हस्ताक्षर गर्न छाडिदिएँ । बंैक त संयुक्त खाता हो, मैले हस्ताक्षर नगरी कसरी चल्छ ? कि किर्ते गरेको हुनुप¥यो । मैले नि बाहिर त्यही सुनिरहेको हुन्छु ।

मैले खास पहिले नै राजीनामा दिएकी थिएँ । तर स्वीकृत भएको थिएन । टुँडिखेलमा केही दिनअघि भएको बिटी कपमा भनाभन नै भयो । मलाई पनि नराम्रो वचन ग¥यो अनि मैले ५ मिनेटमै राजीनामा दिएँ । हस्ताक्षर गर्दिनँ भन्दा विवाद बढेको हो ।

तपाईको प्रतिक्रिया