माधव नेपालको प्रश्न – एमाले केपीको निजी कम्पनी हो ?

समाधान संवाददाता २०७७ चैत १९ गते २२:११

समाधान संवाददाता, पोखरा

एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले केपी ओलीले पार्टीलाई निजी कम्पनी बनाउन चाहेको आरोप लगाएका छन् ।

बिहीबार पोखरामा आयोजित आफ्नो पक्षका कास्की जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै नेता नेपालले एमाले अध्यक्ष केपी ओली पार्टीलाई आफ्ना समर्थकको समूह बनाउन चाहिरहेको बताएका हुन् ।

Advertisement

‘केपी ओली सिस्टममा पार्टी चलाउन चाहँदैनन्, विधिविधानको पालना गर्न चाहँदैनन् किनभने उनलाई कम्युनिस्ट पार्टी बनाउनु छैन,’ नेता नेपालले थपे, ‘उनी प्राइभेट लिमिटेड कम्पनी, सानो गुटको रुपमा, उनको आदेश पालना गर्ने व्यक्तिको समूह लिएर चल्न चाहन्छन् ।’

आफूहरुलाई केपी ओलीको कारबाही मान्य नहुने उनले बताए । एमाले अध्यक्ष केपी ओलीले पार्टी हित विपरीत काम गरेको भन्दै अध्यक्ष ओलीले १६ चैतमा नेता नेपाल र रावललाई ६ महिनाको लागि निलम्बन गरेका थिए । बिहीबारमात्रै सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई निलम्बन गरेका छन् ।

Advertisement

‘केपी ओलीले काराबाही गरेर कसले टेर्छ, कसले मान्छ ? उसले मलाई वरिष्ठ नेताबाट हटाएर, स्थायी कमिटीबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलाई हटाएर हट्ने कुरा हुन्छ,’ नेता नेपालले भने, ‘के त्यो (एमाले) केपी ओलीको निजी कम्पनी हो ? त्यसो भएकाले हामी अहिले पनि नेकपा एमालेका स्थायी कमिटी सदस्य हौँ, वरिष्ठ नेता हौँ र उपाध्यक्ष, उपमहासचिव, सचिवमा छौँ ।’

केपी ओलीले राज्यका निकायलाई कब्जा गरिरहेको नेता नेपालले आरोप लगाए । गाउँ–ठाउँमा समस्यामा परेकालाई सहयोग गर्न कार्यकर्तालाई उनले निर्देशन दिए । प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतगिामी शक्तिसँग साँटगाँठ गरिरहेको नेता नेपालले आरोप लगाए ।

‘आँट भएका, हिम्मत भएकाहरु हामी हौँ । केपी ओली वास्तवमा पछुवा समाजका पछुवा तत्वमध्ये पर्छन् । ओली अहिले पनि प्रतिगामी तत्वसँग साँटगाँठ गरिरहेका छन् र आफूलाई सर्वज्ञाता ठानेका छन्,’ उनले भने ।

तपाईको प्रतिक्रिया