मुख्यमन्त्रीको दौडमा जसपा पनि, आचार्य भन्छन्–मेरो दावी स्वभाविक छ

समाधान संवाददाता २०७७ चैत २९ गते २१:५७

समाधान संवाददाता, पोखरा ।

गण्डकी प्रदेशमा सरकार परिवर्तनको हल्ला चलेपछि प्रदेश सभामा रहेका दलका नेताहरु तथा केही सांसदहरु मुख्यमन्त्रीको दौडमा निस्किएका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ओली सरकारलाई साथ नदिने र अविश्वासको पक्षमा आफु रहेको प्रतिक्रिया दिएपछि उत्साही भएका गण्डकी प्रदेशका प्रतिपक्षी सांसदहरुले आफ्नो पक्षमा लबिङ थालेका हुन् ।

Advertisement

यद्यपी जनमोर्चाले औपचारिक रुपमा कुनै निर्णय लिइसकेको छैन । पार्टी नेतृत्वले गण्डकी प्रदेश सांसदहरुलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई दिएको समर्थन फिर्ता लिन भनेको छैन् । तर पनि चित्रबहादुर केसीको समाधानमा प्रकाशित अन्तरवार्तापछि कांग्रेस, माओवादी केन्द्र र जसपा उत्साही छन् ।

गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस १५, माओवादी केन्द्र १२ र जनता समाजवादी २ सहित गुरुङ नेतृत्वको सरकारको विपक्षमा २९ सांसद पुगेका छन् । प्रदेश सभामा एमाले पक्षका २८ सांसद छन् । ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन या बचाउन ३१ सांसद चाहिन्छ ।

Advertisement

सरकार परिवर्तनको अंक गणित जुटाउन लागि परेका कांग्रेस र माओवादी केन्द्रलाई झस्काउने गरी जनता समाजवादी पार्टीले पनि मुख्यमन्त्रीको दावी गरेको छ ।

जसपाका सांसद हरिशरण आचार्यले गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा आफ्नो दावेदारी रहेको बताए ।

‘केपी ओलीको कदम प्रतिगमनकारी हो भन्दै सबैभन्दा पहिला आन्दोलनमा उत्रने जसपा नै हो’ गोर्खाबाट निर्बाचित जसपा सांसद आचार्यले समाधानसँग भने, ‘त्यसैले सरकारको नेतृत्वमा हाम्रो दावी स्वभाविक छ ।’

तपाईको प्रतिक्रिया