कारबाहीलाई वैधता नदिन प्रदेश प्रमुखसँग कृष्ण थापाको आग्रह

समाधान संवाददाता, पोखरा
जनमोर्चाका सांसद कृष्ण थापाले आफूलाई संसदीय दलको नेताबाट हटाइनु गैरकानुनी भएको हटाइएको बताएका छन् ।
प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पत्र लेख्दै उनले कारबाहीलाई वैधता नदिन आग्रह गरेका छन् । ‘म पार्टी कामले बागलुङमा हुँदा किर्ते, जालसाजी गरेर हटाउन खोजियो, कारबाहीलाई वैधता नदिन आग्रह गर्छु,’ उनले लेखेका छन् ।
उनले कुनै गठबन्धनमा नलागेको पनि बताएका छन् । ‘म हालको सरकार निर्माणको कुनै गठबन्धनमा नलागि तटस्थ बसेको व्यहोरा जानकारी गराउँछु’ थापाले भने ।
संसदीय दलका नेताबाट हटाइएका थापा भने अहिले आफ्नो घर बागलुङ जैमिनी पुगिसकेका छन् । आफूलाई कारबाही गर्ने बारे स्पष्टिकरण कसैले पनि नसोधेको उनले बताए ।
‘खै मलाई स्पष्टिकरणको बारेमा कसैले सोधेन, कारबाही गर्ने भन्ने त सुनेथें मिडियामा,’ उनले भने ।
थापा एकाबिहानै बागलुङ गएका थिए । उनी हस्ताक्षर गर्न दबाब धेरै आएपछि बागलुङ गएको बताउँछन् । ‘पोखरामा धेरै दबाब दिए, बागलुङको अवस्था बुझ्नु पर्यो नि, म त बिहानै घर आएँ,’ उनले भने । आफूले मंगलबार पार्टी महासचिव मनोज भट्टसँग भेट्दा धेरै दबाब आफूलाई दिइएको बताए ।
राष्ट्रिय जनमोर्चा पार्टीले कृष्ण थापालाई गण्डकी संसदीय दलको नेताबाट हटाएको थियो । कांग्रेसको नेतृत्वमा सरकार बनाउन हस्ताक्षर गर्न नमानेपछि उनलाई संसदीय दलको नेताबाट हटाइएको अर्की सांसद पियारी थापाले जानकारी दिइन् ।
तपाईको प्रतिक्रिया