मुख्यमन्त्री पृथ्वीसुब्बाको ‘कमब्याक’

समाधान संवाददाता २०७८ वैशाख ३० गते ७:३२

मन्त्रिपरिषद पहिलो बैठकको निर्णय कोभिड कोषमा ४ करोड रुपैयाँ

अनिष भट्टराई, पोखरा

गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार गुरुङलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी छन् ।

Advertisement

२६ वैशाखमा गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । २७ वैशाखमा सदनमा अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि गुरुङले राजीनामा दिएर मार्गप्रशस्त गरेका थिए ।

राजीनामापछि प्रदेश प्रमुख पौडेलले बहुमत दाबी गरेर आउन दलहरुलाई ३ दिनको समयावधि दिएकी थिइन् ।

Advertisement

पौडेलले दिएको समया सीमाभित्र कांग्रेस, माओवादी, जनता समाजवादीको गठबन्धनले दाबीपत्र लिएर पुगे पनि बहुमत संख्या पु¥याउन नसकेपछि गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेले कांग्रेसका १५, माओवादीका १२ (सभामुखसहित), जनमोर्चाका ३ र जनता समाजवादीका २ सहित बहुमत अर्थात ३१ सांसदको समर्थन रहेको हुँदा मुख्यमन्त्री नियुक्त गर्न अनुरोधसहित दाबी पत्र पेस गरेका थिए ।

तर उनको दाबीपत्र पेस हुनुअघि नै नयाँ सरकार बनाउने सन्दर्भमा आफूहरुको समर्थन नरहेको जनमोर्चा संसदीय दलका नेता कृष्ण थापा र सांसद खिमविक्रम शाहीले प्रदेश प्रमुखलाई पत्र लेखेका थिए ।

प्रदेश सभामा बहुमत पु¥याउन ३१ सांसदको साथ आवश्यक पर्छ । तर २ सांसदले कांग्रेसलाई सहयोग गर्न नमान्दा विपक्षी मोर्चाको सांसद संख्या २९ पुगेको थियो । प्रदेश प्रमुख पौडेलले आइतबार नेपालको संविधानको धारा १६८ (२) बमोमिज बहुमत दाबी गर्न आह्वान गरेकी थिइन् ।

कुनै दलले बहुमत पु¥याउन नसकेपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (३) बमोजिम संसदको ठूलो दलको नेताको हैसियतले पृथ्वीसुब्बा गुरुङलाई मुख्यमन्त्री बनाएकी हुन् ।

अब मुख्यमन्त्री गुरुङले एक महिनाभित्र विश्वासको मत लिनेछन् । संविधानको १६८ (४) ले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको छ ।

मुख्यमन्त्री गुरुङ आफूले विश्वासको मत पाउनेमा ढुक्क छन् । आफूले अस्थिरतालाई हराएर स्थायीत्वलाई कायम गर्न सकेको उनले प्रतिक्रिया दिए । ‘पाउँछु कि पाउँदिनँ त दिनले देखाउँछ, अस्थिरतालाई हराउन सकें, स्थायीत्व कायम छ,’ शपथ पछि गुरुङले भने ।

आफू प्रजातन्त्रमा विश्वास गर्ने र विपक्षीलाई आफूलाई निकाल्न मौका दिएपनि उनीहरु असमर्थ बनेको मुख्यमन्त्री गुरुङले बताए । अब विपक्षीले बहुमतको दाबी गर्दै हिँड्नुको अर्थ नरहने उनले सुनाए ।

‘म डेमोक्रेसीमा विश्वास गर्ने मान्छे हुँ, पहिला पनि गठबन्धनको सरकार बनेकाले १६८ को ३ अनुसार सिधै ठूलो दललाई सरकार बनाउन दिन सकिन्थ्यो,’ उनले भने, ‘तर होइन विधि पद्धति अनुसार जाउँ भनेर जाँदा उहाँहरुले बहुमत प¥याउन सक्नुभएन ।’

मुख्यमन्त्रीमा नियुक्त भएसँगै गुरुङले कोभिड कोषमा ४ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेका छन् । कोभिडविरुद्धको लडाइँमा सशक्त उत्रिनु पर्ने र बजेटको कमी हुन नदिन ४ करोड जम्मा गरिएको बताए ।

‘मसँग कुनै प्रतिवद्धता छैनन्, पहिलाकैलाई निरन्तरता दिने हो, अहिले कोभिड कोषमा ४ करोड थप्ने निर्णय गरेको छु,’ उनले सुनाए ।

बहुमतको सरकार दाबी गर्न विपक्षी दलका नेताहरु पौने ४ बजे प्रदेश प्रमुखको निवासमा पुगे । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल, माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान लगायतका नेता समयमै पुगेका थिए ।

आवश्यक हस्ताक्षर नपुगे पनि दाबी गर्न मिल्ने भन्दै उनीहरु त्यहाँ पुगेका थिए । चुमानले आफूहरुले बुधबार दाबीपत्र बुझाउने र १ महिनामा बहुमत सावित गर्ने बताएका थिए ।

‘हामीले अहिले नै बहुमत देखाउनुपर्दैन, दाबी गर्ने हो, पछि त जति पु¥याउनुपर्छ पु¥याइन्छ,’ चुमानले भनेका थिए ।

उनीहरुले पत्रमा कांग्रेसका १५, माओवादीका १२, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादीका २ सांसदको साथ रहेको दाबी गरेका थिए । तर विपक्षी नेताहरु प्रदेश प्रमुखकहाँ पुग्नुअघि नै २ वटा फरक पत्र दर्ता भएका थिए ।

राष्ट्रिय जनमोर्चाका सांसदद्वय कृष्ण थापा र खिमविक्रम शाहीले आफूहरु कुनै गठबन्धनमा नलागेको र तटस्थ बसेको बताउँदै पत्र पठाएका थिए । यसरी सांसदद्वय र दलहरुको पत्र बाझियो ।

निर्णायक जनमोर्चाका कारण विपक्षीको सरकार बनाउने योजना तुहियो । यसो त उनीहरुको योजनामा मंगलबार नै तुसारापात भएको थियो ।

मंगलबार जनमोर्चा गण्डकीका संसदीय दल नेता कृष्ण थापाले कांग्रेसलाई सहयोग गर्न नसकिने भन्दै दाबी पत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।

उनले हस्ताक्षर गर्न अस्वीकार गरे पनि केन्द्रबाट उनलाई दबाब भने लगातार आएको थियो । केन्द्रबाट मात्र होइन समानुपातिक सांसद पियारी थापासमेत दलका नेतालाई कारबाही हुने प्रतिक्रिया दिइरहेकी थिइन् ।

बागलुङका जनताले कांग्रेससँग सहकार्य नगर्न भनेपछि कृष्ण थापा केन्द्रको निर्णयबाट व्याक भएका थिए । उनी बुधबार पनि हस्ताक्षर गर्न दबाब आएपछि बागलुङ हानिए । ‘लगातार दबाब आइरह्यो, हस्ताक्षर गर्दिनँ भनेपछि पनि धेरै दबाब आएपछि पार्टीकै कुरा सुन्न बागलुङ आएँ,’ थापाले भने ।

नी हस्ताक्षर नगरी बागलुङ गएपछि पार्टीका महासचिव मनोज भट्टले उनीमाथि कारबाहीको प्रक्रिया थाले । जनमोर्चाको जुम बैठक बस्यो र थापालाई संसदीय दलको नेताबाट हटाउने जानकारी प्रदेश सभा सचिवालयमा गराउन महासचिव भट्ट पुगे ।

पियारी थापाद्वारा लिखित पत्र लिएर भट्ट प्रदेश सभा सचिवालय पुगेका थिए । त्यहाँ भट्ट एक्लै गएनन्, कांग्रेस संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेल पनि थिए । दिउँसो २ बजे थापालाई पार्टीको संसदीय दलको नेताबाट हटाएको जानकारी सभामुख, प्रदेश सभा सचिवालयमा गराइयो ।

दिउँसो २ बजे आफूलाई कारबाहीको पत्र दर्ता भएको थाहा पाएपछि सांसद कृष्ण थापाले प्रदेश प्रमुखलाई पत्र पठाए । ‘म पार्टीको कामले जिल्ला आउँदा ममाथि जालसाजी गरेर, गैरकानुनी रुपमा गरिएको कारबाहीलाई वैधानिकता नदिन आग्रह गर्छु,’ उनले पत्रमा लेखेका छन्, ‘म कुनै गठबन्धनमा नलागि तटस्थ बसेको छु ।’

नले पत्रमा आफू कुनै गठबन्धनमा नलागेको बताएपनि विपक्षी मोर्चा भने उनलाई समेत आफ्नो पक्षमा दाबी गर्दै प्रदेश प्रमुखकहाँ पुगे । विपक्षी मोर्चा प्रदेश प्रमुखकहाँ पुगेपछि अर्को विज्ञप्ति आयो । खिमविक्रम शाहीले समेत आफू कुनै गठबन्धनमा नलागेको खुलाए ।

नेताहरु बहुमत दाबी गरेर नपुग्दै उनीहरुको पक्षमा भनिएका २ सांसदले साथ छाडेपछि र हस्ताक्षर देखाउन नसकेपछि विपक्षी जिल्लिए । वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता गरेर गुरुङ सरकार ढलाउन लागिएको खेल अपुरो भएको छ । अब फेरि गुरुङ सरकार नचाहने हो भने मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने दिन विपक्षी मोर्चाले मत अपुग गराउनु पर्नेछ ।

माओवादी केन्द्रका सांसद दीपक कोइरालाले मुख्यमन्त्रीमा गुरुङको नियुक्तिप्रति प्रतिक्रिया दिँदै आफूहरु सन्तुष्ट नभएका बताए ।

जनमोर्चाकी सचेतक पियारी थापा, जसपाकी सचेतक धनमाया लामा पोखरेल र माओवादी केन्द्रका सचेतक गायत्री गुरुङको हस्ताक्षरसहित कांग्रेस नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न पत्र दिएको जानकारी उनले दिए ।

‘तर प्रदेश प्रमुखले एमालेको कार्यकर्ताको रुपमा काम गर्नुभयो,’ उनले भने, ‘यो संविधान अनुसार छैन, बहमुतको सरकार बन्ने सम्भावना हुँदा हुँदै प्रदेश प्रमुखले त्यसो गर्नुभयो, यसमा हामी असन्तुष्ट छौं ।’

तपाईको प्रतिक्रिया