गोली हानेर मलाई मारे त के लाग्यो र ?

समाधान संवाददाता २०७८ वैशाख ३० गते १५:४०

चित्रबहादुर केसीसँग पैसा खाएको अनुभव छ र ? उहाँले नै लेनदेन गरेको अनुभव छ र ?

अनिष भट्टराई, पोखरा

गण्डकी प्रदेशमा बुधबार नयाँ सरकार गठन गर्न कांग्रेस नेतृत्व गठबन्धनका लागि अन्तिम दिन थियो ।

Advertisement

कांग्रेस, माओवादी, जनता समाजवादी पार्टीले राष्ट्रिय जनमोर्चाको साथमा नयाँ सरकार बनाउने कसरत थालिएको थियो ।

तर अन्तिम समयमा जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले कांग्रेसलाई साथ दिन नसकिने भन्दै बहुमतको दाबी पत्रमा हस्ताक्षर गरेनन् । उनी बुधबार बिहानै बागलुङ लागे ।

Advertisement

पार्टी केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले कांग्रेसलाई साथ दिन निर्देशन दिएपनि बागलुङका जनताले कांग्रेससँग नमिल्न भनेपछि उनले निर्णय नमानेको बताउँछन् ।

थापा बागलुङ गएपछि बुधबार पृथ्वीसुब्बा गुरुङकै नेतृत्वमा बुधबार सरकार बनेको छ । थापा अहिले चर्चामा छन् । उनै थापासँग समाधानले छोटो कुराकानी गरेको छ । प्रस्तुत छ थापासँगको कुराकानीः

तपाईंले कांग्रेस नेतृत्व गठबन्धनलाई साथ दिन नमानेपछि पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्रीमा नियुक्त हुनुभयो, के भन्नुहुन्छ ?

उहाँ मुख्यमन्त्री बन्नु राम्रो छ । तर सरकार सञ्चालन गर्ने बेला मनाङेजस्ता मन्त्री बनाउनु हुन्न । संसदमा अन्य योग्य माननीय ज्यूहरु हुनुहुन्छ । राम्रा मान्छेलाई मन्त्री बनाएर गण्डकीलाई उत्कृष्ट प्रदेश बनाउने गरी काम गर्न मेरो सुझाव छ ।

नयाँ सरकार बनाउने सन्दर्भमा कतैपनि छैन, तटस्थ छु भनेर तपाईंले प्रदेश प्रमुखलाई दिएको पत्र त किर्ते हो भनेर तपाईंकै सचेतक पियारी थापाले भन्नुभएको छ नि ?

उहाँ हुने बिरुवाको चिल्लो पात हो कि नहुने बिरुवाको चिल्लो पात हो मैले बुझ्न सकिनँ । त्यो पत्र मैले पोखरामा साथीहरुलाई ड्राफ्ट गर्न भनेको थिएँ । साथीहरुले बाइ मिस्टेक कृष्णबहादुर थापा लेख्नुभएछ ।

एकैछिनमा बाहिर निकाल्नुभएछ । तर प्रदेश प्रमुखलाई दिँदा त बहादुर काटेर दिएको हो । उहाँलाई यो कुरा थाहा भएन होला । यसले पनि कृष्ण थापालाई कारबाही हुन सक्छ कि भनेर ठान्नु भयो होला । यस्तो काम त पियारी माननीयले ३ दिनमा धेरै गर्नुभयो । यथार्थ नबुझी यस्तो गर्नु उहाँको संसदीय पदको असाध्यै घृणित काम हो ।

नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले १ महिनामा विश्वासको मत लिनुपर्छ । तपाईंहरुले विश्वासको मत दिनुहुन्छ ?

मुख्यमन्त्रीज्यूलाई साथ दिँदा धेरै विवादित भइयो । अब हामीले साथ नदिने हो भने प्रदेश सभा विघटन हुन सक्ने अवस्थामा पुग्छ । त्यसले गर्दा केन्द्रले संयमता अपनाएर निर्णय लिनुपर्छ । त्यो समयमा हामीले निर्णय गर्छौं ।

पहिला दिएको समर्थन त उहाँले राजीनामा दिएपछि सकिएको थियो । अब गर्ने समर्थन कसरी कुन प्रकारले गर्ने भन्नेमा निर्णय होला ।

तपाईंलाई दलले संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो । के भन्नुहुन्छ ?

एउटा विधि प्रक्रियाबाट हटाएको भए मैले त्यसलाई सहर्षै स्वीकार्ने कुरा हुन्थ्यो । अब नियम उल्लंघन गरेर संसदीय पद्धतिलाई खिल्ली उडाएर कारबाही गरिनु राम्रो होइन ।

महासचिव जस्तो मान्छे सहभागी भएर यस्तो किन गर्नुभयो, असाध्यै दुखद छ । दुई जना माननीयहरु बागलुङ नै भएका बेला एउटा माननीयलाई काँधमा बोकेर पूर्वाग्रही रुपले कारबाही गरियो । त्यसो गर्नु हुँदैनथ्यो ।

कारबाही गर्ने सन्दर्भमा पियारी थापा माननीय नै अघि सर्नुभयो । के छ तपाईंको टिप्पणी ?

अब उहाँले यो अवधिमा दलहरुसँग साँठगाँठ गर्ने, दलको माननीयसँग सम्बन्ध बिगार्ने, माथिको आशीर्वाद थापिरहने किसिमको चरित्र देखाउनुभयो । त्यो दुखद छ । तर म उहाँप्रति कुनै कुण्ठा राख्दिनँ ।

उहाँ मभन्दा धेरै जुनियर हो । संसदीय विधि, पद्धति बुझ्नु पर्छ अझै । म त उहाँलाई सहयोग गर्छु । राम्रो बनाउनेमा पनि ध्यान दिन्छु । संसदमा रहियो भने सहयोग गर्छु । तर उहाँ नै मलाई हटाउनुपर्छ भनेर धेरै लाग्नु भएको छ । बाहिरबाट भएपनि सहयोग रहन्छ ।

तपाईंका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले हाम्रा सांसद बिके भनेर प्रतिक्रिया दिइराख्नु भएको छ । तपाईं बिक्नु भएको हो ?

उहाँ जस्तो सम्मानित नेताले आफ्ना सांसदलाई बिनाआधार बिके भनेर भन्नुभएछ । लाञ्छना लगाउनु भएछ । बरु फलानो दिनमा यो–योसँग बसेर यति पैसा खाए भनेर भन्न सकेको भए राम्रो हुन्थ्यो । कांग्रेसलाई समर्थन गरेर सरकार बनाऊ भनेर भनेको मानेनन् भनेर भनेको भए राम्रो हुन्थ्यो ।

उहाँहरु पनि संसदमा हुँदा कहिले समर्थन गर्नुभयो कहिले विरोध गर्नुभयो । के उहाँले त्यति बेला लेनदेन गर्नुभएको रहेछ र ? के उहाँसँग त्यसको अनुभव रहेछ र ? विना प्रमाण भन्नु दुखदायी छ । मैले धेरै पटक भनेको छु, मैले १ सुका खाएको प्रमाण भए मलाई गोली हानेर मार्दिनुस् । तर यसरी लाञ्छना लगाउँदै जाने हो भने वैकल्पिक बाटोबाट जानुपर्छ कि भन्ने मनमा लागेको छ ।

वैकल्पिक बाटो भन्नाले ?

त्यो त कानुनकै बाटो हो नि ।

भोलि तपाईंलाई पार्टीले निष्कासन गर्ने सम्भावना देख्नुभएको छैन ?

मेरो जिम्मेवारीबाट निष्कासन गरेर पार्टीमा रोल नदिएर गोली हानेर मारे भने त मेरो के लाग्यो र ? पार्टीले निर्णय ग¥यो भने स्वीकार्नै पर्छ । तर विगतका नजिर पनि छन् ।

गरिने कारबाही हो भने त्यसको मूल्यांकन पनि होला नि । कुनै पार्टीमा जाने कुरा पनि हुँदैन, कतै ठाँटिएर बस्न जाने पनि हुँदैन । जनताको काम गर्ने कुरा हो, संगठनलाई सहयोग पु¥याउने कुरा हो, जुन रोलमा बसेर पनि गर्नसक्छु । आफ्नो क्षेत्र सानै भएपनि म यहीँ बसेर काम गर्छु ।

तपाईको प्रतिक्रिया