बा भन्दा मित बाआफ्ना होलान् र ?

समाधान संवाददाता २०७८ वैशाख ३१ गते १९:१३

शेखर गौतम

Advertisement

सरकार रहनु र गिर्नुमा आम जनताको खास चासो नरहला, तर यत्ति हो दुकानमा चिनी र तेल किन्दा महँगो वा सस्तो सगँ दाजेर फरक पक्कै छुट्टाउने गरेका छन् । घर अगाडि बाटो बन्दै छ भने सरकार बनेको मतलब राख्ने र त्यही धुलोले आफू छेकिदा ठेकदार लाई होइन सरकारलाई सराप्ने परम्परा बिसको उन्नाइस छैन ।

दुरबिनले नदेखिएको दृश्य सायदै चस्माले भेटिएला अनि माखाले कहिले धार्नी पुर्याउन सकिएला ? तरपनी प्रयास लत्रदै घस्रदै कहिलेकाहि दौडदै पनि जारी छ । यो राजनीतिमा संसद अहिले यस्तै प्रपञ्चमा चलेको छ । मलाई प्रशिक्षण गर्ने बेला नेताहरूले दिएका वचन अझै ताजा छ,–“यो संसद खसिको टाउको  देखाएर कुकुरको मासु बेच्ने थलो हो । यो फोहोरी थलोलाइ सुधार्नु पर्छ अनि बल्ल परिबर्तन सम्भब छ ।”

Advertisement

संसद कुनै दुकान होइन जहाँ सामान र पैसाको मोलमोलाइ हुने गर्दछ । यहाँ त बिचारको मनथन हुनेछ, अनि न्यायको आवाज बोलिने छ । शासक तानाशाही भएमा गगनभेदी जनसागरले रोक्नुपर्छ र जनताको स्वाधिनता सहितको सरकार बनाउनु पर्छ । तबमात्र आमूल परिबर्तन सम्भब हुनेछ । त्यही अनुरुपमा न्यायको पक्षपाती हुने गरिन्छ भनिएको थियो । तर आज यतिका आन्दोलन हाम्रै पालामा भएको छ, सहिदले यहि स्वस्थ परिवर्तनको निम्ति आफ्नो ज्यान अर्पित गरे तर त्यो अर्पण नेताको स्वार्थ पुर्तिको निम्ति मात्र भएको अहिलेको ज्वलन्त प्रमाणहरु छन । स्वार्थ र बिलाशिता जोडिएको मान्छेले आफ्नो अनुरुपको व्याख्या गर्नु राजनीतिमा सबैभन्दा ठूलो बेइमानी हो ।

एउटा रोचक प्रसङ जोडौ २०४० साल तिर तत्कालिन नेकपा मालेको बैठक पोखराको एक घरमा बसेको थियो, दिसापिसाब गर्नको निम्ति पनि पालैपालो बैठक कोठाबाटै जानु पर्दथ्यो र त्यसैमा एकजना नेताले चर्पिको भित्तामा पिसाब फेरेछन् । त्यो नेता पछि गएको अर्को नेताले त्यो भित्तामा पिसाब फेरेको बिषय बैठकको एजेन्डा बनाएर कारबाही गरेको घटना कास्की नेकपा एमालेमा चर्चाको बिषय आज पनि ताजा छ । अनुशासनको परिधी भित्र वस्दै त्यसरी निर्माण गरेको पार्टीको मुल्यांकन सायदै कसैले कुनै तराजुमा गर्न सक्ने त्यति धेरै हैसियत बनाएको छैन ।

Advertisement

त्यो बेला जहाँ पन्चायतको बर्बर आतताइ थियो, बोल्न हिड्न र छलफल गर्न पाइन्नथ्यो त्यो बेला एउटा कम्युनिस्ट पार्टीको कार्यकर्ता हुनु निकै ठूलो चुनौती थियो । रातको समयमा पाँच सामग्री छाता, खुकुरी, कलम, कपि, लाइट लिएर हिड्नु पर्ने कार्यकर्ता पछिल्लो घटना क्रमले खुकुलो हुँदै गएको पार्टीमा मण्डले र पञ्चेले भरिदै गए । पार्टीमा तिनै मान्छेको दबदबा र हालिमुहालिले गर्दा जसरी धानमा पुत्ला लागेर खोल राम्रै देखिने तर भित्र गुदो नहुदाको अबस्थामा पार्टी पुग्दा होनहार कार्यकर्ता मात्र झोलेको रुपमा बिकास हुन बाध्य भए । फेरि पार्टी समालिदै खडेरीमा बिस्तारै जरा गाड्दै जनता जगाउदै बिशाल पार्टी बन्ने लक्षण देखाउदै झन्डै दुई तिहाइ सम्म पुर्याउनु कम्मर कस्ने तिनै चिनी र तेलमा सरकार देख्ने नागरिक नै हुन । जो आज झन्डै  आधा मुल्यमा पसिना बेच्न र दोब्बर मुल्यमा भोक किन्न बाध्य छन् ।

चिया पसलमा पनि भिन्नता छ , कुर्सीमा बसेर गफ छाट्नेका कुरा बेन्चमा बस्नेले हो माहो मिलाउछ, अनि त्यही कुरा बेन्च वालाले भुइमा बस्नेलाइ थपरी मार्न लगाएर राजनीतिको उछितो काट्छ । जहापनी बिगार्ने कित कुर्सी वालाले हो कित मध्यम बर्गियले नै हो । टनकपुर बाँध होस या कोसीको पानीका सन्दर्भमा किन नहोस पार्टी फुट्ने जुट्ने भएकै छन् । अहिलेको नेकपाको नतिजा आउन आजका घटनाक्रम मात्र कारण बनेका छैनन्, अघिल्ला सुक्ष्म बैठकहरु कोट्याउने हो भने टाढा जानू पर्दैन । २०७६  मंसिर ४ गतेको नेकपाको सचिवालयको बैठक सबैभन्दा दोशपुर्ण छ भन्न मलाई कुनै कठघरामा उभिएर करारनामामा हस्ताक्षर गर्नु पर्दैन । जुन बैठकले सरकार र कार्यकारी अध्यक्षको जिम्मेवारीका सन्दर्भमा नचाहिने छलफल झिक्यो र आफुलाइ सरकारको पूरा अबधि चलाउन पाउने भएपछि प्रचण्डलाई साङ्लो भिराएर  कार्यकारी अध्यक्षको जिम्मेवारी दिने प्रपन्च रचियो त्यो नै नेकपाको निम्ति घातक बन्यो । 

प्राय सबैलाइ के थाहा थियो भने मध्यरातमा पार्टी एकता पुर्ब करिब १५ लाख कार्यकर्ताको प्रतिनिधित्व गर्दै दुई अध्यक्षले स्वार्थ अनुसार गरिएको सम्झौतामा पार्टीले आधा–आधा सरकार चलाउने सहमति गरे त्यो सहमति प्रचण्ड र केपी ओलिका लागि थिएन भन्ने कुरा नबुझ्दा नै यो भुकम्प पार्टीमा आइलाग्यो । अब चाहेर पनि पुरानो अबस्थामा पार्टी फर्कन तत्काल सम्भब नहुने गरि मिठो मुखले हानिकारक शब्दद्वारा  उछेटो काटेर पानी बाराबारको अबस्थामा छ । सबै जनताले सुन र पितल छुट्टाउनु हुन्छ होला भन्दिन तर चाटी खान पल्केका केही मुठ्ठी भर स्वार्थ भरिएका गुरिल्लाको बहकाउमा लाग्नाले पालुवा हाल्दै गरेको नेपालको कम्युनिस्ट आन्दोलन धरासाइ बन्दैछ । यत्ती हो कोहि आफै माग्दछन कोहि अरुलाइ मगाउछन ।

धेरैको मस्तिष्कमा पौष ५ गते ताजा नै छ, जनताको अधिकार प्राप्त सरकारले आफुलाइ चल्न नदिएपछि विघटनको अबस्थामा पुग्नु सबैभन्दा ठुलो दुर्भाग्य हो । राजनैतिक गतिविधिमा वास्तवमा अदालतको प्रवेश त्यति स्वस्थकर देखिन्न । करिब दुइतिहाइको समर्थनमा बनेको सरकारले अबस्थाको मध्यनजर गर्दै विघटन गरेर पुन निर्बाचन मै जाने कुरा खासमा अलोकतान्त्रिक कदम हो भन्ने लाग्दैन । र दुई पार्टीले आफ्ना सिमित लक्ष्य र उदेश्यलाई महाधिवेशनमा टुङ्गो लगाउने गरि गरिएको पार्टी एकतामा कोहि कसैसँग नाम मिल्दैमा पुन पुरानै पार्टीमा फर्काउने अधिकार अदालतलाई छैन । यस्तो नजिर बसाल्नु अदालतको निम्ति ठूलो प्रश्न चिन्न खडा भएको छ । पीडितले जे कुरा मागेको छ त्यही कुरा मात्र दिने हो नकि बनी सकेको कुखुरालाई अण्डामा परिबर्तन गरेको फैसला न्यायाधिसले दिनु सायद सरकारी सेटिङ्ग पनि हो भन्न सकिने अवस्था बन्यो । त्यसैले अदालतले यस्ता राष्ट्रिय राजनीतिमा प्रत्यक्ष जोडिएका मुद्दाहरुलाइ हस्तक्षेप नगरेकै भए उत्तम हुने थियो ।

हिजोको दलाल चरित्र बोक्दै सुन्दर कोटको  खल्तीमा सत्ता र शक्तिको चिट बोकेर परिक्षा हलभित्र प्रवेश गरेर जनताको अपमान गर्ने मेरा नेतालाई गालीले मात्र पुग्दैन । जनताको अपेक्षा यति क्रर पनि थिएन, सहज समाज निर्माण हुनेछ र सिंहदरबार चौतारीमै आउनेछ अनि घरकै मिठोमसिनो खाएर छोराछोरीले पढ्ने छन्, जागिर खाने छन्, उपचार यहि हुनेछ भन्नेनै थियो । तर अपेक्षाको टुसा उम्रीएको हेर्न पाउने जनताको आशामा तुसारो लाग्यो ।

कोरोना पनि अहिले क्या गज्जब बन्यो, हामी बालक हुदा स्कुल जान जागर नलाग्दा पेट दुखेको भान पार्दै पौडी खेल्न भागेको जस्तै भएको छ आज संसद भवन । केही बिषयमा गम्भीर छलफल गर्नु परेमा कोरोना देखाइदिए पुग्यो, त्यति मात्र होइन यँहा त अबिश्वासको पक्षमा भोट हाल्नुपर्ने भएपछि सांसद अपहरण सैलिमा हस्पिटलमा कोरोना पोजेटिभ भएको रिपोर्ट देखाएर आइ सि यु मा भर्ना सम्म भए भने उता संसद भबनमा सांसद हराएको निहुमा बैठक स्थगित गर्ने सम्मको असंवैधानिक हर्कत भर्खरै सम्पन्न भयो ।

प्रतिपक्षी सांसदले सत्तारूढ दलको लाइमा बसेर मतदान गरि आफ्नो क्रान्तिकारी पन देखाए कोहि सांसदले जुन कुरा सहि थियो या गलत थियो भन्ने कुरा पछिल्ला दिनमा समिक्षाका बिषय बन्ला । आफ्नो सरकार ढलाएर प्रधानमन्त्री पद कृस्तीमा राखेर वुढानिलकण्ठ तिर जानू आफैमा हास्यास्पद छ ।

जसले बनिबनाउ सरकार चलाउन नसकेर दरबारमा लगेर बुझायो त्यसैलाइ पुन दुई तिहाइको सरकार ढलाएर सुम्पनु पर्ने के त्यस्तो चमत्कारिक गुण देख्यौ ? अनि केपि ओलिमा नभएको क्रान्तिकारी पन शेरबहादुर देउवामा कसरी भेट्टाउनु भयो ?  न सरकार संविधान जलाउनेहरुलाइ सुम्पन सकिन्छ न सरकार राजासँग घाँटी जोडिएकालाई बुझाउन सकिन्छ । त्यसैले  बेलैमा सोचेरै आफंै चलाउने निश्चित गरेरनै हालको नेकपा एमालेको संकट टरेको छ र ७६ (३) अनुसार बनेको सरकारले अब साच्चैको बिकासको मुल फुटाउनु छ।कोरोना बाट आक्रान्त जनतालाई राहत दिदै सकुशल घर फर्काउनु छ । त्यसैले  यो मौसम सरकार बदल्ने होइन आफै बदलिने र समिक्षा गर्दै लड्दा लागेको धुलो टक्टकाउदै खुलामञ्चमा नेताहरूले एकै स्वरमा भन्ने बेला आएको छ “हिजोका तिता अतीत बिर्सौ र एक भै अगाडि बढौं हामि बदलिएका छौ र नेपाल लाई अबस्य बदल्ने छौ” । अनि ठण्डा दिमागले एक पटक सोचौं त के बा भन्दा मितबा आफ्ना होलान् र ?

गौतम  अनेरास्ववियु केन्द्रीय सदस्य हुन्

तपाईको प्रतिक्रिया