सांसद पद खारेजी बदरको माग गर्दै कृष्ण थापाबाट सर्वाेच्चमा रिट

समाधान संवाददाता २०७८ जेठ २१ गते १४:३२

समाधान संवाददाता, पोखरा

पार्टीले गण्डकी प्रदेश सभा सदस्यबाट हटाएका जनमोर्चा सांसद कृष्ण थापाले पार्टी कारबाही फिर्ताका लागि सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् । जनमोर्चाले बिहीबारमात्रै उनलाई सांसदबाट हटाउन प्रदेश सभामा पत्र दिएको थियो । सभामुख नेत्रनाथ अधिकारीले उनलाई सांसदबाट हटाइएको पार्टीको पत्र पढेर सुनाएका थिए ।
सांसद थापाको तर्फबाट सर्वाेच्च अदालतमा शुक्रबार रिट परेको हो । उनको तर्फबाट वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, बार एसोसिएसनकी उपाध्यक्ष अधिवक्ता ईश्वरी भट्टराई र पाटन उच्च बारका पूर्व अध्यक्ष भोजराज आचार्यले बहस गर्दैछन् । रिटमा सांसद पद खारेजी गैरकानुनी तवरबाट भएको भन्दै खारेजी बदरको माग गरिएको छ । थापाले गणेश घिमिरेलाई वारेसनामा दिई रिट दर्ता गराएका हुन् ।

सांसद थापाले एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावको पक्षमा समर्थन जनाउन मानेका थिएनन् । उनले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन दाबीपत्रमा हस्ताक्षर गर्नसमेत नमानेपछि जनमोर्चाको बिहीबारको केन्द्रीय कमिटी बैठकले कारबाहीको निर्णय गरेको थियो ।

Advertisement


पार्टीले कारबाही गरेको पत्र जनमोर्चा महासचिव मनोज भट्ट र सांसद पियारी थापाले प्रदेश सभा सचिवालयमा दर्ता गरेका थिए ।

२५ चैतमा माओवादीले सरकार छाडेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध २ वैशाखमा कांग्रेस, माओवादी र जसपाका सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको थियो । त्यसमा जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले हस्ताक्षर गर्न मानेका थिएनन् । पार्टी केन्द्रले भने उनीसहित सबै ३ सांसदलाई अविश्वास प्रस्तावको समर्थन गर्न निर्देशन गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया