मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

समाधान संवाददाता २०७८ जेठ २७ गते १८:०४

समाधान संवाददाता, पोखरा


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन असफल भएका छन् । ६० सदस्यीय गण्डकी प्रदेश सभाका २७ जना सांसदले उनलाई विश्वासको मत दिएका छन् । ५७ मत खसेकोमा विपक्षमा विपक्षमा ३० मत परेको छ । एकजना सांसदले मत हालेनन् ।


अब प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको १६८ (५) बमोजिम सरकार गठनका लागि आह्वान गर्नेछिन् । कुनै एक सांसदले आफूसँग बहुमत भएको दाबी गर्दै प्रदेश प्रमुखकहाँ गएपछि नयाँ सरकार गठन हुनेछ । यसरी गठन हुने नयाँ सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

Advertisement


कांग्रेस नेतृत्वको गठबन्धनमा ४ दल गुरुङ सरकार ढाल्न लागेका थिए । कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरेर यो गठबन्धनले अविश्वास प्रस्तावसमेत ल्याएको थियो । २ वैशाखमा अविश्वास प्रस्ताव प्रदेश सभा सचिवालयमा पेश भएको थियो ।


तर अविश्वास प्रस्तावमा मतदान हुन पाएको थिएन । १५ वैशाखको बैठकमा मतदान हुने कार्यसूची भएपनि जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि सभामुख नेत्रनाथ अधिकारीले बैठकलाई अनिश्चितकालका लागि स्थगित गरिदिएका थिए । पछि कार्यव्यवस्थाको बैठकले २७ वैशाखमा अविश्वासमा मतदान हुने निर्णय गरेको थियो । मतदान हुनु एक दिनअघि मुख्यमन्त्री गुरुङले राजीनामा दिएर मार्ग प्रशस्त गरेका थिए ।

Advertisement


प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमत दाबी गरेर आउन विपक्षीलाई समय दिएपनि उनीहरु जान सकेनन् । र ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीमा पृथ्वीसुब्बा नै दोहोरिएका थिए ।
२९ वैशाखमा दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका गुरुङले १ महिनामा विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यताका कारण विश्वासको मागेका थिए । २६ वैशाखमा राजीनामा दिएपछि संविधानको १६८ (२) अनुसार सरकार गठन हुन नसकेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले १६८ (३) अनुसार गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । ठूलो दलको नेताको हैसियतमा पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा दोहोरिएका थिए ।

तपाईको प्रतिक्रिया