आज विश्वासको मत लिँदै मुख्यमन्त्री

समाधान संवाददाता २०७८ असार ४ गते ७:१६

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन् । शुक्रबार ११ बजे बस्ने सदनमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने तयारी छ ।

मुख्यमन्त्री पोखरेलले मंगलबार संसद सचिवालयमा विश्वासको मत लिने सम्बन्धी प्रस्ताव दर्ता गराएका थिए । २९ जेठमा मुख्यमन्त्री नियुक्त भएका पोखरेललाई १ महिनाभित्र विश्वासको मत लिनैपर्ने बाध्यता छ ।

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका पोखरेले २८ असारसम्ममा विश्वासको मत लिनैपर्ने बाध्यता भएपनि सरकारका कामकारबाही अघि बढाउन विश्वासको मत लिन लागेका हुन् ।

Advertisement

४ दलीय गठबन्धनमा किचलो आउन नदिन र सरकारका कारबाही अघि बढाउन विश्वासको मत लिएपछिमात्रै मन्त्रालय विस्तार गर्ने मुख्यमन्त्री पोखरेलले तयारी गरेका छन् । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्रीमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरलाई नियुक्त गरेकी थिइन् ।

मुख्यमन्त्री पोखरेललाई कांग्रेसका १५, माओवादीका ११, जनमोर्चा र जनता समाजवादीका २÷२ र १ स्वतन्त्र सांसदको साथ छ । पोखरेललाई विश्वासको मत प्राप्त गर्न ३० सांसदको साथ चाहिन्छ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई सर्वोच्च अदालतले सांसद पद नरहने गरी कारबाही गरेपछि सांसद कायम संख्या ५९ छ ।

Advertisement

मन्त्रालय विस्तार र नियुक्त मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी नतोक्दा सरकारको कारबाही अघि बढाउन समस्या आएको छ । विश्वासको मत अघि नै मन्त्रालय विस्तार र मन्त्रालय भागभण्डा गरे गठबन्धनमा किचलो आउन सक्ने डरले मुख्यमन्त्रीले त्यसो गर्न सकेका छैनन् ।

शनिबार ४ जनालाई मन्त्री बनाएर सपथ लिएका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिएपछि मन्त्रालय विस्तार गर्ने र मन्त्रालयको जिम्मा तोक्ने तयारी गरेका छन् ।

शनिबार मुख्यमन्त्री पोखरेलसँगै कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जनता समाजवादीबाट हरिशरण आचार्य, र स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्री बनाएका थिए । अहिले यी ४ जना नै विनाविभागीय हुन् ।

मुख्यमन्त्री नियुक्त भएको तेस्रो दिनमै पोखरेल सरकारले बजेट ल्याएको थियो । शनिबार मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री पोखरेलले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

जम्बो गठबन्धन सहित मुख्यमन्त्री बनेका पोखरेललाई गठबन्धनलाई एक ढिक्का बनाएर राख्नुपर्ने चुनौती छ । नेकपामा आएको फुटझैं गठबन्धनमा पनि फुट सिर्जना हुनसक्ने संशय मुख्यमन्त्री पोखरेलमा छ । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको गठबन्धन लामो समय नजाने र फुट सिर्जना हुने आँकलन गरिसकेका छन् ।

निवर्तमान मुख्यमन्त्री गुरुङले भनेझैं गठबन्धनमा किचलो आएको स्पष्ट देखिन्छ । जनता समाजवादी पार्टीकी सांसद धनमाया लामा पोखरेलले आफू सरकारलाई साथ दिन नसक्ने सार्वजनिक अभिव्यक्ति दिएकी छन् ।

आफूहरुको गठबन्धनमा सरकारमा जाने बेला २ जना नै सांसद जानुपर्ने सहमति गरिएपनि १ सांसदमात्र मन्त्री भएपछि लामा रुष्ट छिन् । आफूलाई पनि १ मन्त्रालय दिएर सरकारमा लैजानुपर्ने उनको माग छ । ‘हाम्रो सहमति २ मन्त्रालय, थ्रेसहोल्डको खारेज र उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइनुपर्छ भन्ने थियो, सहमतिमा नचलिएकाले साथ दिन सकिन्नँ,’ उनले भनिन् ।

तत्कालिन नेपाल कम्युनिस्ट पार्टीमा फुट आएपछि मुख्यमन्त्रीमा पोखरेलको दाउ लागेको थियो । २५ चैतमा माओवादीबाट सरकारमा सहभागी मन्त्रीद्वय हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिएका थिए । २ वैशाखमा कांग्रेस, माओवादी, जनमोर्चा र समाजवादीको गठबन्धनले अविश्वास प्रस्ताव दर्ता गरेको थियो । त्यसअगावै प्रदेश प्रमुखले चालु सातौं अधिवेशन अन्त्य गरिदिएका थिए ।

विपक्षीले सोही दिन विशेष अधिवेशन डाक्नका लागि समावेदन दिए । १३ वैशाखमा विशेष अधिवेशन सुरु भएपछि १५ वैशाखमा मतदान हुने कार्यसूची थियो । तर सभामुखले हठातमा अनिश्चितकालका लागि बैठक स्थगित गरिदिएपछि २७ वैशाखमा मतदान गर्ने सहमति जुटेको थियो ।

त्यसअगावै २६ वैशाखमा मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि ठूलो दलको नेताको हैसियतले गुरुङ नै मुख्यमन्त्रीमा दोहोरिएका थिए । नेपालको संविधानको धारा १६८ (३) ले बहुमतको सरकार बन्न नसके ठूलो दलको नेताले सरकार बनाउन सक्ने व्यवस्था गरेअनुरुप मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री बनेको एक महिनामा विश्वासको मत लिनुपर्ने बाध्यता अनुसार गुरुङले बिहीबार सदन फेस गरे । २९ वैशाखमा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका गुरुङले नेपालको संविधानको १६८ (४) बमोजिम विश्वास मागेका थिए ।

६० सदस्यीय गण्डकी प्रदेश सभाका २७ सांसदले उनलाई विश्वासको मत दिएका थिए । अविश्वासमा ३० र १ जना तटस्थ बसेका थिए । १ सांसद अनुपस्थित रहे ।

जनमोर्चाका कृष्ण थापा तटस्थ बसेका थिए । विश्वासको मत लिने दिन नै उनलाई आफ्नैले धोका दिए । आफैँले मन्त्री बनाएका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले साथ छाडे । दीपक मनाङकै निर्णायक हस्ताक्षरमा गण्डकीमा सत्ता पल्टियो ।

तपाईको प्रतिक्रिया