हिमाल उक्लिएको पानी

समाधान संवाददाता २०७८ असार ८ गते ८:२८

सम्पादकीय

मनाङ र मुस्ताङमा पानी पर्दैन, हिउँ पर्छ । यसपालिको असारले अहिलेसम्म भनिँदै आएको भनाइलाई खण्डन गरिदिएको छ । मनाङ र मुस्ताङ दुवै हिमाली जिल्लामा अचाक्ली पानी प¥यो । मनाङमा खोला छ, माछा छैन, खेत छ धान फल्दैन ।

तर यस्तै पाराले पानी पर्दै जाने हो भने मनाङका खोलामा माछा पनि पुग्न सक्छन्, खेतमा धान पनि फल्न सक्छ । बरु स्याउ पो नफल्न सक्छ । वातावरणविदहरुले विश्वतापमान वृद्धिको असर यो पानीलाई मानेका छन् ।

Advertisement

हुन् पनि यति धेरै पानी मुस्ताङ, मनाङमा नपरेको बुढापाका बताउँछन् । मनाङका ५७ वर्षे पूर्व सांसद पोल्देन छोपाङ गुरुङले आफ्नो जीवनकालमै यसपालिको जस्तो वर्षा र बाढी पहिरो मनाङमा नदेखेको सुनाँछन् ।

मौसम विज्ञान विभागको रेकर्ड अनुसार गएको ३० वर्षयताकै सर्वाधिक वर्षा यसपालि मुस्ताङमा भयो । सम्भवत त्यसअघि परेको पानीको रेकर्ड राखिएको थिएन । सन् १९९१ देखि २०२० सम्म मुस्ताङको वार्षिक औसत वर्षा २ सय ८९ मिलिलिटर थियो ।

Advertisement

यो वर्ष सन् २०२१ को जुन १७ सम्म २ सय ५० मिलिलिटर पानी परिसकेको छ । वर्षाको यो दर गएको ३० वर्षको भन्दा ५ गुणा बढी भएको मौसम विज्ञान विभागले जनाएको छ ।

अझ मनाङमा त बितेको ५ वर्षको अवधिको भन्दा यसपालिको पानी ८ गुणा बढी हो । मनाङमा ५ वर्षको औसत वर्षा ४२ मिलिलिटर थियो भने यसपालि जुन महिनाको १ देखि १७ गतेसम्म १ सय ९७ मिलिलिटर पानी परेको छ ।

मुलुकमा सबैभन्दा धेरै पानी पर्ने ठाउँ हो पोखरा र पोखराको पनि लुम्ले । जहाँ वार्षिक ४ हजार २ सय मिलिलिटर पानी पर्दा मनाङमा २ सय मिलिलिटरमात्रै पर्ने गरेको हो । तर यसपालि मनाङले अभूतपूर्व वर्षा व्यहो¥यो ।

सयौं घरहरु काम नलाग्ने गरी बाढीले भत्कायो । सयौं परिवारलाई विस्थापित हुन बाध्य बनायो । सदरमुकाम चामे बजारका थुप्रै पूर्वाधार ध्वस्त भए । मस्र्याङ्दी नदीमा उर्लिएको बाढीले तल्लोतटीय क्षेत्र लमजुङतिर पनि असर पु¥यायो ।

धन्न यसपालि पानी धेरै पर्दैछ, बाढी आउँदैछ भन्ने सूचना भारी वर्षा भएको असार १ गतेभन्दा अघि नै आइसकेको थियो । सम्भवत त्यही सूचनाका कारण हुन सक्छ खास मानवीय क्षति हामीले व्यहोर्नुपरेन । योचाहिँ विपद् पूर्वतयारीको एउटा काम र उपलब्धि देखिन्छ । तर अब त्यतिले पुग्दैन ।

विपद्को पूर्वतयारीमा गर्नुपर्ने कुरा धेरै छन् । पहिलो त विश्वतापमान वृद्धिलाई रोक्न विश्व नै लाग्नुपर्ने अवस्था छ । जुन नेपालको बसको मात्रै बात रहेन । तर आफ्नो ठाउँबाट गर्नसक्ने जति गर्नु नै पर्छ ।

अर्काेतिर नदी र खोला किनारका बस्तीहरुलाई सुरक्षित बनाउनुपर्छ । नदी र खोलामा मापदण्ड कडाइका साथ लागु गराउनुपर्छ । विश्वतापमान वृद्धि अनुकूलनका बालीनालीमा ध्यान दिनुपर्छ । परिवर्तित जलवायुअनुकुल आफूलाई ढाल्न सकिएन भने अझै धेरै क्षति भोग्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया