मान्छेका लागि मान्छे

समाधान संवाददाता २०७८ असार ८ गते १९:५३

राजु विश्वकर्मा


मेरा हितैषी मित्र प्रकाशचन्द्र मिश्रको फेसबुक स्टाटस देखें । उहाँ लेख्नुहुन्छ, ‘बाढी पहिरो भूगोलको समस्याभन्दा पनि भद्रगोल नीतिको अवस्था हो ।’ मलाई ठीकै लाग्यो । नीति निर्माता नेता, गण्यमान्य, विज्ञ सबैलाई थाहा छ नेपालमा बाढी पहिरोको जोखिम क्षेत्र कहाँकहाँ छ । हुनुपर्ने र गर्नुपर्ने के हो उनीहरुलाई प्रष्ट थाहा छ । यस्तो प्राकृतिक प्रकोप कसरी न्यूनीकरण गर्ने भनेर चेतनामूलक कार्यमूलक कार्यक्रमहरु भइरहेका छन् । त्यस्ता जोखिम क्षेत्रमा रहेका बस्तीहरुलाई हटाउने, सुरक्षित क्षेत्रमा व्यवस्था गर्ने । राज्यले गर्नैपर्ने काम हो यो । तर गर्दैन । नागरिकहरु पनि जेजे होला होला भनेर बस्छन् ।

वास्तवमा खोला त आफ्नो बाटो बगेको हो नि । थुप्रै जनधनको क्षति भइरहेको छ । बाढी पीडितहरुको उद्धार र सहयोगका लागि सरकारले द्रुत गतिमा शक्ति परिचालन गर्नुपर्छ ।
मेरो छिमेकी दाजु विद्याराज शिवाकोटी र मैले छलफल गर्‍यौं । उहाँ भन्नुहुन्छ, ‘वास्तवमा विश्वभरिका हरेक सरकार चलाउनेले प्रमुख गर्नुपर्ने काम के हो भने आफ्नो देशमा कुनै पनि नागरिक घरबारविहीन हुनुबाट बचाउनु हो । प्रत्येक नागरिकलाई बासको व्यवस्था गर्नु हो ।’ तर यसो हुन सकेको पटक्कै छैन किन होला ?


चन्द्रमा, मंगल ग्रहमा पुग्ने देशले आफ्नो देशको नागरिकहरु पुलमुनि र सडकमा गुजारा गरिरहेको कसरी हेरेको होला । नेपालबाट गएका हाम्रा नेपालीहरु बरु व्यवस्थित भएर बसेका देखिन्छ तर त्यहींका नागरिकहरु पुलमुनि बाँचेको युटुबमा देख्दा त्यहाँका शासकहरुप्रति उदेक लागेर आउँछ ।
चिया बेचेर गुजारा गरेर हुर्किएको बालक अहिलेको भारतका प्रधानमन्त्री छन् तर भारतमा गरिबहरु ऋण तिर्न नसकेर आत्महत्या गरेको, सडकमा आफ्ना नागरिकहरु घिसिपिटी जिन्दगी बाँचेको कसरी हेरेर बस्न सकेको होला । सरकार निरीह देखिएको बेला पोहोरदेखि निरन्तर अलपत्र परेका हजारौं नागरिकहरुलाई अभिनेता सोनु सुदले उनीहरुलाई घरजान बस, रेल रिजर्भ गरिदिए । उनलाई भगवान मान्छन् । नारायण गोपालले गाउनुभएको गीत जस्तोः एउटा मान्छेको साथले कति फरक पर्दछ जिन्दगीमा ।


हाम्रो प्रम ओली सामान्य किसान परिवारमा हुर्केका हुन् । अहिले देशको प्रम छन् तर उनले किसानहरुको हितमा र भुइँ मान्छेको जीवनमा परिवर्तन ल्याउने खास काम केही गरे जस्तो लाग्दैन । बहुमतको सरकार बनेका उनका हरेक कर्म र वचन विवादित छन् । चाहने हो भने सुकुम्बासी समस्या, घरबारविहीन हुनेको समस्या सजिलै सल्टाउन सकिन्छ । तर यसैमा राजनीति गरिरहने र मजा लिइरहने भएपछि कसको के लाग्छ र ?


गौरवकै कुरा हो कि देशले मधेसी र महिला राष्ट्रपति पायो । तर खोई त नि मधेसमा के परिवर्तन आयो ? नेपाली महिलाहरुको हक अधिकार न्यायमा के चाहिँ भयो ? बलात्कारी हत्यारा खोई पत्ता लागेको ? उहाँहरुले आम मानिसहरुको जीवनमा प्रभाव र प्रगति हुने केही गरिदिए हुने थियो नि ।
बाराक ओबामा राष्ट्रपति हुँदा विद्यालयमा पुगेर बन्दुकधारीले गोली चलाई निर्दोष बालबालिकाहरु मारे । उनी रोए । र संसदमा बन्दुक नियन्त्रण गर्नेसम्बन्धी प्रयास गरे । तर उनले सकेनन् । के यस्तो हो र ? संसारभरि सरकारलाई सीमित व्यापारिक समूहले प्रयोग गर्छ र ? उनीहरुको स्वार्थमा सरकारले काम गर्छ कि ?


हरेक राष्ट्रका सरकारलाई, विज्ञलाई पढेलेखेका सबैलाई थाहा छ, चुरोट रक्सी सुर्तीले मानिसको अंगभंग गर्छ, रोग लगाउँछ यो हानिकारक छ । तर उक्त पदार्थ उत्पादन र बेचबिखन गर्न अनुमति दिन्छ । अर्को पाटोबाट चाहिँ यो हानिकारक छ, नखाऊ है पनि भन्छ । जब हानिकारक छ भने उत्पादन नै बन्द गरे हुन्न ? किन अनुमति दिने त नि ? यस्तो नाटक किन गर्नु ?


तर विश्वभरिका मानिसहरुलाई निराशाबाट आशा, अस्वस्थबाट स्वस्थ, रोगभोकबाट रोकतोक, समस्याबाट समाधान, मरणबाट शरण, अशान्तिबाट शान्ति, दुःखबाट सुख, आँशुबाट हाँसोमा ल्याउन धार्मिक सामाजिक व्यक्तिहरुबाट गरिएको प्रयासहरु, अभ्यासहरु देवत्व लाग्छ । पुजनीय लाग्छ ।


जस्तो किः भगवान् बुद्धले जीवन सरल, सफल, सन्तुष्ट बनाउन उपायहरुको खोजी गरिदिनुभयो । जिसस क्राइस्टले दीनदुःखीहरुको सेवा गर्ने महान् शिक्षा दिनुभयो । आफ्ना भक्तहरुलाई गरिब, पीडितहरुको सेवा गर्न अह्राउनुभयो । फलस्वरुप, इटलीदेखि मदर टेरेसा भारत आउनुभयो र करोडौं दुःखी रोगी पीडित, अपहेलित भारतीय नागरिकहरुको सेवा गर्नुभयो । जुन निरन्तर जारी छ । र विश्वभरि क्रिस्चियन कम्युनिटीले गरेको सेवा सहयोग अतुलनीय, पुजनीय, अनुकरणीय छ । एक क्रिस्चियन विदेशी महिलाले भारतमा हिन्दूहरुको सेवा गर्नु आफैमा महान् हो । यो देवत्व आत्मा भएकाले मात्र गर्न सक्छन् । त्यसैले उहाँलाई मदर, आमा भनेर विश्वले पुज्दछ ।


एकजना दाजुले साइबाबाको महिमा गान गाउनु भयो । श्रीमतीलाई नेपालको उत्कृष्ट डाक्टरहरुबाट उपचार गराउँदा पनि ठीक नभएपछि हायलकायल भएका उनी भारतमा साइबाबाले सञ्चालन गर्नुभएको अस्पताल पुगेपछि रोग पहिचान भएछ र औषधी उपचारले स्वस्थ हुनुभएछ । पुरै निःशुल्क । भारतभरि धार्मिक समूहले चलाएका संस्थाहरुले धेरै गरिबहरुको रोगभोकको उपचार गरिरहेका छन् । त्यसैले साइबाबालाई भगवान्को रुपमा पुजिएको छ ।


आइफोनका आविष्कारक स्टिभ जब्सले भने अनुसार उनी आफ्नो देश अमेरिकामा भोक मेटाउन दैनिक आठदश किलोमिटर हिँडेर हिन्दुहरुको मन्दिरमा गई त्यहाँ निःशुल्क बाँडिएको खाना कैयौं दिनसम्म खाए रे । एक क्रिस्चियनले हिन्दूको मन्दिरमा निःशुल्क बाँडिएको खाना खाएर जीवन धाने । यो भन्दा ठूलो धार्मिक सहिष्णुता के हुन सक्छ ?


भक्तपुरबाट आएका तीन नेवार परिवारले कलात्मक घर निर्माण गरी बस्नलायक बस्ती बसाएको बन्दीपुर पछि सदरमुकाम दमौली सरेपछि उजाड उराठ भयो । त्यही बेला एक बन्दीपुरे सपूत चिजकुमार श्रेष्ठ सर अमेरिका पढेर र आफ्नै देशको शिक्षा क्षेत्रमा केही गरौं भनी अमेरिका छाडी नेपाल आई काम गर्नुभयो । आफ्नो गाउँका छरिएर बसेकाहरुलाई एकतामा बाँध्न काठमाडौंमा बन्दीपुर सामाजिक विकास समिति संस्था स्थापना गर्नुभयो । गाउँ फर्किएर केही गरौं भन्ने सन्देश दिन आफै लागि पर्नुभयो । सबैलाई डोर्‍याउनुभयो । आफ्नो उजाड भएको गाउँमा शिक्षाले मात्र परिवर्तन ल्याउन सक्छ भन्ने ठम्याई आफ्नो चिनजानमा रहेको फादर रविनसँग सेन्ट जेभियर्स जस्तै विद्यालय खोल्न मद्दत माग्नुभयो । फादरसँग दुई शिक्षक समूह रहेछ । उहाँले जापानी सिस्टरको समूह रोज्नुभयो । त्यहाँकै नेवारहरुले जग्गा जमिन दान दिए । नोट्रेडेम विद्यालय स्थापना भयो । दीनदुःखी पिछडिएका वर्गका छोराछोरीहरु पनि निःशुल्क पढ्न पाए । जापानदेखि त्यो सानो गाउँमा तीन दशकदेखि जापानी गुरुआमाहरु निरन्तर बसी दूरदराजका बालबालिकाहरुलाई शिक्षा दिक्षा दिइरहनुभएको छ । बन्दीपुर पनि धपक्क पर्यटकीय नगरीको रुपमा विकसित भइरहेको छ । ती बन्दीपुरेहरु र हाम्रा महान् जापानी गुरुआमाहरुप्रति सदा सम्मान रहिरहनेछ ।


रामेछापका जगदीश घिमिरेलाई सम्झन चाहन्छु । विदेशी जीवन छोडेर देश फर्किएर तामाकोशी सेवा समाज स्थापना गरेर त्यहाँका मानिसहरुलाई अवसर सिर्जना गरिदिनुभयो । उहाँको किताबबाट धेरै कुराहरु बुझ्न सिक्न पाइन्छ । बझाङी राजा पृथ्वीबहादुर सिंह मानव सेवाका कारण सम्झिइरहनुहुनेछ । शंखधर साख्वा गरिबहरुको ऋण मोचन गरिदिएर विभूति कहलिनुभएको छ । अरनिको, सीता, भृकुटीहरु राष्टिय विभूतिले सुसज्जित हुनुहुन्छ । आदिकवि, मोतीराम भट्ट भाषा निर्माताका कारण सम्मानित हुनुहुन्छ । राजा रामशाह कुशल न्याय सम्पादन गर्ने भएर सम्झिरहेका छौं । पृथ्वीनारायण शाहले त झन् एक नेपाल र नेपालीलाई एकतामा बाँध्नुभएको छ । यस्ता धेरै ऐतिहासिक पात्रहरु हुनुहुन्छ जसले मानिसहरुलाई सामाजिक भावना र एकतामा बाँध्न सानातिना र महत्वपूर्ण कर्महरु गर्नुभएको छ ।


राजा महेन्द्रले राष्ट्रिय गाउँ फर्क अभियान चलाउनुभयो । गाउँघर फर्किएर आफूले पाएको सीप, शिक्षा र ज्ञान प्रयोग गरी त्यहाँ बसोबास गर्नेहरुको जीवनमा केही सुख सुविधा थप्ने यो महान योजना थियो । असल र सफल पूर्व प्रम मनमोहन अधिकारीले आफ्नो गाउँ आफै बनाउँ भनेर ल्याउनुभएको कार्यव्रmम एक कोसेढुंगा सावित भएको छ । यसले निरन्तरता पाएको छ । उहाँले ज्येष्ठ नागरिकहरुलाई भत्ता दिन सुरु गर्नुभएको योजनाले ज्येष्ठ नागरिकहरुमा नेपाली नागरिक हुनुको आत्मसम्मान जागेको छ । यसलाई अझ बलियो साथ सुदृढ र निरन्तरता र चेतना जगाउन आवश्यक देख्छु म ।
मेरो एकजना गाउँले भतिजो सौगात श्रेष्ठ सामाजिक कार्य विषय पढेछन् । उनको बुवा चाहन्थे कि आफूले चलाइरहेको होटल चलाओस् । तर उनी मानव सेवा आश्रममा लागेछन् । र अहिले काठमाडौं हेटौंडामा सडकमा आश्रित हजारौं अलपत्र नागरिकहरुलाई लालन पालन गरिरहेका छन् । मैले यो कुरा थाहा पाएपछि उनको बुवाआमालाई सपूत जन्माउनुभयो भनेर धन्यवाद दिएँ । उनलाई पनि भेटेरै धन्यवाद भनें र तिमीले गरेको महान् कार्य हो भनेर बधाई दिएँ । मैले सोधेको थिएँ उनलाई, पढेर जागीर खाएर पैसा कमाउने बेलामा किन यस्तो सामाजिक काम रोजेको । उनले भने, अंकल, मेरो हृदयले यही रोज्यो । काम गरिखान र पैसा कमाउन बुवाको होटल छँदैछ म जहिले पनि गर्न सक्छु । तर म यी दीनदुःखीहरुको सेवामा लाग्छु । व्यक्तिगत जीवनमा पनि फर्कन्छु तर यसलाई पनि निरन्तरता दिन्छु । आहा, २० वर्षे ठिटोको कस्तो महान सोच ।

हेल्प नेपाल नेटवर्कनामबाट अस्ट्रेलियाबाट भाइ केशव बानिया क्षेत्रीले निरन्तर सहयोग गरिरहेका छन् । मेरो साथी सचिन श्रेष्ठ लन्डनबाट सोही संस्थाबाट आर्थिक संकलन गरि नेपालका विभिन्न ठाउँहरुको स्वास्थ्य शिक्षामा सहयोग गरिरहेका छन् । अक्सिजन अभावले राष्ट्र हायलकायल हुँदा खाडी क्षेत्रमा रहेका नेपाली दाजुभाइहरुले रकम जोहो गरी अक्सिजन खरिद गरी नेपाल पठाउँदा धेरैले जीवनदान पाए । डा. सन्दुक रुइतले लाखौंलाई संसार देख्न सक्ने बनाइरहनुभएको छ ।

कुलमानले अँध्यारो युगबाट नेपालमा उज्यालो ल्याइदिनुभयो । महावीर पुनले आफ्नै देशमा केही गर्न हजारौं युवाहरुलाई ठाउँ बनाइदिनुभएको छ । बाटो देखाइ दिनुभएको छ । पुष्पा बस्नेतले जेलमा रहेका व्यक्तिहरुका छोराछोरीलाई लालनपालन, शिक्षा दिक्षा दिइरहनु भएको छ । अनुराधा कोइरालाज्यूले लाखौं चेलीको मुहारमा फेरि जीवन जिउने सपना र साहस कोरिदिनुभएको छ । इन्द्रेणी समूह कृष्ण कँडेल दाइले सांगीतिक मनोरञ्जनका साथसाथै असहाय, पीडितहरुका लागि नगद सहयोग जुटाइरहनुभएको छ । यस्तो विषम परिस्थितिमा पनि डाक्टर नर्स र स्वास्थ्यकर्मीहरुले आफ्नो पेसागत धर्म पालन गरि लाखौं बिरामीहरुको उपचार गरिरहनुभएको छ । उहाँहरुप्रति मान सम्मान रहिरहनेछ ।


सन्तोष र खुसी लागेको चाहिँ विदेशमा बसेर पनि हाम्रा दाजुभाइ दिदीबहिनीहरुले नेपाल देशको उन्नति प्रगतिको लागि चिन्तन मनन र नेपालीहरुलाई आफूले सकेको सहयोग गरिरहेको देख्दा सुन्दा हो । साँच्चै उहाँहरुको हृदयमा राष्ट्रप्रेम, भक्तिभाव छ ।


राजनीतिले मान्छेलाई भाग लगाउँछ, बाँड्छ । यो मान्छे हाम्रो त्यो मान्छे उसको भन्छ । तर त्यसमा पनि हाम्रोलाई राम्रो गरेको नै राम्रो मान्छु म । बराबरी नसही, ठीकै छ त कमसेकम कोही न कोही त लाभान्वित भएकै छन् । तर धार्मिक र सामाजिक सेवामा चाहिँ खासमा यो हाम्रो र त्यो अर्काको भन्ने हुँदैन । सेवा सहयोग भन्ने कुरा मान्छेका लागि मान्छेले नै गर्ने हो । यो केवल मागेर, दिएर, लिएर र काम गरेर हुन्छ । हामी जे गर्छौं स्वच्छ सामाजिक भावना र आध्यात्मिक चेत र चिन्तनसाथ गरौं । सामाजिक सहिष्णुता, समावेशिता र विश्व एकतामा विश्वास गरौं ।

तपाईको प्रतिक्रिया