कविताः गोल्ड मेडल

समाधान संवाददाता २०७८ असार १२ गते ८:२१

विनोदविक्रम केसी

ओलम्पिकमा
त्यस्ता नाथे दुई चार गोल्ड मेडल त
हामी पनि ल्याउँथ्यौं
हामी जेमा छौं सिपालु
जेमा छौं च्याम्पियन
ती खेल राखून् न ओलम्पिकमा
अनि देखाइदिनेछौं दुनियाँलाई
नेपाल कत्तिको लायक देश हो
दलितको मुटु ताकेर
तारो हान्ने खेल होस् एउटा
हाम्रो खातामा गोल्ड मेडल पक्का !

चाकरीको दौड होस् एउटा
बाउको बिहे देखाइदिनेछौं
उसेन बोल्टलाई
वडाध्यक्षको घरदेखि प्रधानमन्त्रीको निवाससम्म
जुन रफ्तारमा दौडेर पुग्छौं हामी
दुनियाँको त्यो नम्बर एक धावक पर्नेछ दंग
र, गर्नेछ सलाम
चन्द्र–सूर्य अंकित रातोमा रातो
त्रिकोणात्मक झण्डालाई

खेलभन्दा पनि उपरी तहको
संसदीय चलखेलको प्रतिस्पर्धा होस् एउटा
देखेर हाम्रा रंगीचंगी कौशल
दुनियाँका आँखा विस्फारितका विस्फारित रहनेछन्
दाल–चामल–आलु–प्याज–नून–तेलसँग
पराजित मान्छेहरूको देशमा
चलिरहेछ सत्ताधारी र प्रतिपक्षको
सानदार कुस्ती

के दाउपेच जान्दछन् र ओलम्पिकका पहलमानहरू
जति जान्दछन् हाम्रा महारथिहरू
आयोजना होस् न कुर्सीको कुस्ती एउटा
देखाइदिनेछौं दुनियाँलाई
कुन खोलाको पानी खाएर हुर्केका हौं हामी !

जनताको हीनता, जनताको दीनताको पोखरीमा
पौडी खेल्ने स्पर्धा राखियोस् एउटा
त्यो माइकल फेल्प्सले सीधै बाई दिनेछ
हाम्रा प्रतिनिधि पौडीवाजलाई

अपसोच !
धोकेवाजहरूले ओलम्पिकमा
गरेनन् सामेल त्यस्तो कुनै खेल
जसमा छौं पोख्त हामी

र यसरी,
टोकियो १९६४ देखि
रियो २०१६ सम्म
नफर्फराएको झण्डासँगै
रित्तो गला ÷ खाली हात
फर्किरहेका छौं हामी

कमसेकम
बोक्सीलाई दिसा खुवाउने खेल होस् एउटा
दाइजो कम ल्याउने बुहारी जलाउने खेल होस् एउटा
कमजोरमाथि जोरजुलुम गर्ने खेल होस् एउटा
त्यस्ता नाथे दुई, चार गोल्ड मेडल त
हामी पनि ल्याउँथ्यौं ।

तपाईको प्रतिक्रिया