जिल्लामा कांग्रेस महाधिवेशनको सरगर्मी

समाधान संवाददाता २०७८ असार १४ गते १३:५५

नेपाली कांग्रेसको १४ औं महाधिवेशन मिति नजिकिँदै जाँदा जिल्ला तहमा पनि त्यसको सरगर्मी सुरु भएको छ । गुटगत रुपमा केन्द्रीय सभापति पदको उम्मेदवारका लागि नेताहरुको नाम बाहिर आउन थालेसँगै पश्चिम नवलपरासीमा पनि गुटगत रुपमै सभापतिको नाम सार्वजनिक हुन थालेको छ ।

जिल्ला तहमा विघटित प्रतिनिधिसभाका सदस्य एंव केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र संविधानसभा सदस्य विक्रम खनालको २ गुट छ । खुम बहादुर खड्काका निकट मानिने कँडेल खड्काको निधनपछि पार्टी सभापति शेर बहादुर देउवा निकट छन् ।

विगतमा देउवा निकट नै मानिने नेता खनाल भने जिल्लामा कँडेलका विरोधी हुन् । महाधिवेशन नजिकिँदै गर्दा अहिले भने खनालले गुटबारे खुलाउन चाहेनन् । केन्द्रमा उम्मेदवार तय भएपछि मात्र खुल्ने उनको भनाइ छ ।

Advertisement

खनाल गुटका नेताहरुले भेला नै गरेर पोखरेललाई उम्मेदवारमा समर्थन गरेको हो । जिल्ला टुक्रिएपछि लामो समय कार्यबहाक अध्यक्षको जिम्मेवारी पाएका प्रस्तावित सभापतिका उम्मेदवार पोखरेल वर्तमान जिल्ला उपसभापति हुन् ।

पोखरेललाई सभापतिको उम्मेदवारका रुपमा समर्थन गर्न बसेको भेलामा २ वटै निर्वाचन क्षेत्रका संघीय सभापति र प्रदेश सभा क्षेत्रीय सभापति थिए । त्यसैगरी भेलामा संविधानसभा सदस्यद्धय खनाल, देवकरण जयसवाल, संघीय सभापतिसमेत रहेका रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ता, सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा, विश्वप्रकाश पाठकलगायतका नेताहरुको सहभागिता थियो ।

Advertisement

कँडेल गुटले भने सभापतिको उम्मेदवारको नाम सार्वजनिक गरेको छैन । गुट विवादकै कारण महाधिवेशनका लागि जिल्लाबाट पठाइएको क्रियाशिल सदस्यतामा पनि दुबै पक्षले केन्द्रमा उजुरी दिएका छन् । जिल्लाबाट नयाँ र पुराना गरी ९ हजार बढीको क्रियाशिल सदस्यता पठाइएको पार्टी सभापति विष्णु प्रसाद पौडेलले जानकारी दिए । सदस्यताबारे केन्द्रमा उजुरी परेको उनले बताए ।

काँग्रेसको महाधिवेशन आउँदो भदौ १६ देखि १९ गते तोकिएको छ । साउन १२ गते वडा अधिवेशन र साउन २६ मा जिल्ला अधिवेशन तोकिएको छ । क्रियाशिल सदस्यको आधारमा वडा अधिवेशनबाट चुनिने क्षेत्रीय प्रतिनिधिले जिल्ला सभापतिसहितको नेतृत्व चयन गर्ने प्रावधान छ ।

तपाईको प्रतिक्रिया