मर्स्याङ्दीको बाढीले बगायो चामेको झोलुङ्गे पुल

समाधान संवाददाता २०७८ साउन ६ गते १५:०५


रासस, मनाङ

मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले सदरमुकाम चामेको झोलुङ्गे पुल बगाएको छ ।

जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल बगाएपछि चामे र मनाङको भक्तपुर तथा माथिल्लो मनाङसँगको आवतजावतमा सकस भएको छ ।

Advertisement

गत जेठ अन्तिममा परेको वर्षाले गर्दा मर्स्याङ्दी नदीमा आएको बाढी तथा पहिरोले सडक सञ्जाल बगाएर विच्छेद भएको थियो । हिजो रातिदेखि परेको अवरिल वर्षाका कारण आज चामेको झोलुङ्गे पुल पनि बगाएपछि यात्रा झन सकस बनेको हो ।

माथिल्लो मनाङ जोड्ने उक्त पुल बिहान आएको बाढीले बगाएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । ’सडक सञ्जाल विच्छेद भए पनि झोलुङ्गे पुलले सहज बनाएकोमा त्यो पनि बगाएपछि अझ सकस भयो,’ उनले भने, ’अन्यत्र केही ठाउँमा बनाएको काठका गोरेटो बाटोसमेत मर्स्याङ्दी नदीमा आएको बाढीले बगाएको छ । वर्षात् कम हुँदा सहज हुन्छ की भन्ने आश लागे पनि पुनःवर्षा हुँदा समस्या जटिल बन्दै गएको छ ।’

Advertisement

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत अत्यावश्यक वस्तु पु¥याउन सहज भएको स्थानमा पनि समस्या थपिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए । ’यस पटक प्राकृतिक विपत्तिले पनि मनाङलाई धेरै कष्ट दिएको छ, अब विस्तारै कम होला भन्यो, फेरि समस्या आउँछ, त्यसै त सडक सञ्जाल सहज नहुँदा खाद्यान्न अभाव हुने अवस्थामा छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया