कांग्रेसले राजनीतिक बेइमानी गर्‍याे : मन्त्री आचार्य

समाधान संवाददाता २०७८ साउन ८ गते १८:३८

गण्डकी सरकारले विवादका बीच शुक्रबार पूर्णता पाएको छ । सत्तारुढ गठबन्धनमा सहभागी कांग्रेस र माओवादी केन्द्रका थप ३, ३ मन्त्रीले सपथ लिएका छन् । माओवादी र कांग्रेसले मनोमानी गरेको भन्दै सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) असन्तुष्ट भएको छ ।

जसपा नेता एवं ऊर्जा, जलस्रोत र खानेपानी मन्त्री हरिशरण आचार्यले कांग्रेसले राजनीतिक बेइमानीको पराकाष्ठा नाघेको आरोप लगाए । विश्वासको मत दिनुअघि जसपा र मुख्यमन्त्री कृष्णचन्द्र नेपालीबीच ३ बुँदे सहमति भएको थियो । सहमतिमा राजनीतिक नियुक्तिमा भागबण्डा गर्ने, जसपालाई अर्थ मन्त्रालयसहित २ मन्त्रालय दिने उल्लेख थियो ।

मन्त्रिमण्डल दोस्रो पटक विस्तार गर्दासमेत जसपालाई अर्काे मन्त्रालय नदिएपछि जसपा असन्तुष्ट बनेको हो । ६० सदस्यीय गण्डकीमा जसपाका २ सांसद छन् । १ सदस्य रिक्त हुँदा अहिले यहाँ ५९ सांसद छन् ।

Advertisement

जसपाको केन्द्रीय नेतृत्वसँग आफ्नो २ दिनअघि कुरा भएको उल्लेख गर्दै उनले अरु पार्टीभित्र खेल्ने प्रयत्न नगर्न कांग्रेसलाई चेतावनी दिए । सरकार छाड्ने वा भित्रै बसेर भण्डाफोर गर्ने चाडै निक्र्याेल हुने उनको भनाइ छ । ‘छाड्ने कुरा वा के गर्ने भन्ने छलफल गर्छाै । सरकारमै बसेर सरकारको भण्डाफोर गर्न पनि सक्छौं । एकलकाँटे प्रवृत्तिले सहकार्य हुन सक्दैन,’ उनले भने ।

ऊर्जामन्त्री आचार्यले जसपाबाहेक अरु सबै दल बेइमान र धूर्त भएको आरोप लगाए । उनले भने, ‘कांग्रेस केपी ओलीभन्दा फरक छैन । कांग्रेसलाई हामीले तानेर ल्याएको हो अग्रगामी बाटोमा ।’

Advertisement

छलफल र सहकार्यबिना मन्त्रिपरिषद् विस्तार भएपछि जसपा मन्त्री आचार्य मन्त्रीहरुको सपथ समारोहमा समेत गएनन् । बेइमानीको साक्षी नबस्ने भन्दै उनले समारोह बहिष्कार गरेको जनाए । ‘लिखित पनि फल्दिनुभो, अलिखित त झन त्यसै पनि तोडिहाल्नु भो । उहाँहरुको बेइमानीको साक्षी बस्नलाई हामी त्यहाँ जाने कुरा त्यति राम्रो पनि भएन । त्यसो भएर म आज अनुपस्थित भएँ,’ आचार्यले भने ।

एक चरण सम्झौता उल्लंघन गर्दा आफूहरु लचिलो बनेको सुनाउँदै उनले अहिलेको कदमले सरकार अप्ठेरोमा पर्न सक्ने संकेत गरे । मुख्यमन्त्रीलाई जसपासँग गरेको प्रतिवद्धता सम्झाउँदै आफूले सहमति पूरा नभए सरकार धर्मर हुनसक्ने बताएको उनले सुनाए । उनले भने, ‘भोलि भएको दुर्घटनाको भागीदार तपाई हुनुहुन्छ र तपाईहरुको सरकार के हुन्छ भनेर मुख्यमन्त्रीलाई भनेर निस्केको थिएँ ।’

उ बेला मुख्यमन्त्रीले पार्टी केन्द्रले कारवाही गरे पनि बोलेको वचन पूरा गर्ने प्रतिवद्धता गरेको आचार्यको दाबी छ । गण्डकीमा जसपा सरकारबाट बाहिरिँदा सरकारले बहुमत गुमाउने अंकगणित छ । यहाँ एमालेका २७ सांसद छन् । १ स्वतन्त्र, जनमोर्चा, कांग्रेस र माओवादी केन्द्रको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका हुन् ।

तपाईको प्रतिक्रिया