एक नामविहीन पात्रको प्रेम

समाधान संवाददाता २०७८ साउन ९ गते १७:५८

—ब्लग—
सुजाता ढकाल

म के गर्छु यो देशमा बसेर ? यो प्रश्नको उत्तर सोच्न मेरो क्षमतामा शंका र प्रश्न गर्ने मानिसले बाध्य गरेको थिएन । यो देशमा कुनै अवसरै नदेखी देशबाट टाढा गएर कहिल्यै नफर्किने सोच बनाएको एनआरएनले पनि दबाब पारेको होइन । एउटा यस्तो देशप्रेमीले प्रश्न गरेको थियो जसको पुरै जीवन देशका लागि समर्पित भएर बितेको थियो । जसको चाहुरिएको छालामा पनि देशैको माटोमा बिलीन हुने प्रतिवद्धता जाहेर थियो । त्यो मानिस, जसले आफ्नो जीवनको हरेक पल, हरेक निर्णय र आफ्ना हरेक इन्द्रियहरु देशका लागि समर्पित गरेको थियो ।

Advertisement


जो बुझ्थ्यो मातृभूमिप्रतिको प्रेम र समर्पणको दायित्व र बुझाउँथ्यो घरमा आउने पाहुनादेखि उसले चिया पिउने पसलेसम्मलाई । कहिलेकाहीँ त बीच सडकमै अदालत बसाउँथ्यो र देशमाथि गद्दारी गर्ने राजनीतिकर्मीविरुद्ध एक हुल मान्छे बटुलेर चर्को आवाजमा कराउँथ्यो । बिहान आँखा खोलेदेखि बेलुकी उसको बिरामी दिमाग र शरीरले आराम नपाउने बेलासम्म देश र राजनीतिको चिन्तन, मनन र शिक्षण गथ्र्यो । मानौँ देशको जिम्मा सबै उसैको काँधमा छ । परिवर्तन जरुरी छ भने त्यो उसैको चिन्ताले मात्र परिपूर्ति हुन्छ भन्ने आभास गराउँथ्यो ।


कहिले किताबले बेरिएर त कहिले टिभी, कहिले रेडियोको समाचारमा अल्झिएर र आआफ्नै विचार र धाराले भरिएकाहरुहरुसँग घेरिन्थ्यो । ऊ कहिल्यै पनि देशका सामाजिक, राजनीतिक वा अन्य कुनै मुद्दा र विषयबाट टाढा थिएन । मानौं, अब ऊ बाँच्ने अन्तिम बाहना नै त्यत्ति रह्यो । जीवनको ऊर्जाले भरिपूर्ण, धनले परिपूर्ण र ज्ञानले पुरिएको उमेर, उसले सबै आफ्नै मातृभूमि र देशका लागि बिताएको थियो । तर रिटायर्ड भएपछिको खाली समयमा पनि पढेर र पढाएर बिताउँथ्यो ‘देश’ ।
लाग्थ्यो अब उसलाई देश बाहेक अरु केही सोच्नु नै थिएन । वा सोच्ने विषय नै केही थिएनन् । अझ भनौं, अब त्यही अन्तिम विषय हो जसले उसको सास केही समय अझै चलायमान राख्न सक्छ ।
हाम्रो समाज अनुसार उसको जीवन पूर्ण थियो । सन्तानलाई आफ्नो खुट्टामा उभ्याइसकेको थियो । बाँचुन्जेल खान र लाउन पुग्ने सम्पति आर्जेको थियो । सबैभन्दा महत्वपूर्ण समाजमा बस्न चाहिने अर्थहीन, देखावटी सम्मान र मर्दा ‘विचरा राम्रो मान्छे थियो’ भन्ने वा पर्दा बाध्यता र उसले लगाएको गुनै तिर्न भए पनि साथ दिएजस्तो गर्दिने मान्छे पनि कमाएको थियो । रह्यो कुरा ज्ञानको त्यो ऊसँग बाँडेर नसकिने थियो । त्यसैले सायद ठाउँ बढी चाहिएर ज्ञानले दिमागमा एउटा छुटै ठाउँ बनाउन खोज्दा ब्रेन ट्युमरको बिरामी बनाएर छोडेको थियो । जसले कहिलेकाहीँ उसलाई पागल हुने गरी र केहीले पागल भन्ने गरी सताउँथ्यो ।

Advertisement


सम्बन्धमा ऊ मेरो छिमेकी हो । म बस्ने ठाउँ र उसको घरको दुरी एक नजरको वा सासभरको थियो, नभए एकैचित्तको हुँदो हो । त्यसैले त ऊसँग समय हुँदा र खाली हुँदा मलाई बोलाइहाल्थ्यो र म पनि भ्याएसम्म उ सँग बात गर्न पुगिहाल्थे । उसको कुरा सुन्दा लाग्थ्यो, पुरानो कुरा नयाँ समयसँगै झन् कति बढी मूल्यवान हुने रहेछन् । ऊसँग बोल्दा समय बितेको पत्तै लाग्ने थिएन । जीवनको पृष्ठभूमि र कर्ममा केही फरक भएता पनि उसको सोच र ऊर्जा मेरोभन्दा आधुनिक र ज्यादा लाग्थ्यो ।

समाजलाई हेर्ने उसको दृष्टिकोणले कुनै पनि मस्तिष्कलाई जुनै पनि समाजप्रति प्रेम बसाइदिने सामथ्र्य राख्थ्यो । ऊ सगरमाथाको उचाइदेखि लालीगुराँसको सुन्दरताको बयान गथ्र्याे, सती प्रथाको उल्लंघनदेखि छोरीचेलीका लागि बनाइएको नियमसम्म सबैको सकारात्मक पाटो हेथ्र्याे । संसारको फोहोर पखाल्न सक्ने उसको देशमा पानी छ भन्ने कुरा गथ्र्याे । उसको देशको सेना देख्दा अरुको पसिना चुहिएको कल्पना गथ्र्यो । बाक्लो हरियो जंगल देखाउँथ्यो र भन्थ्यो कति भाग्यमानी छ ऊ ।
हरेक कुरालाई हेर्ने उसको तरिका निकै फरक हुन्थ्यो । र, फरक हुन्थ्यो उसको सोचाइ, विशाल धरातलका फराकिला सोचाइ अनि तर्क । तर ऊसँग समय भने दिन गनेर टाढिँदै थियो र उ, टाढिँदै थियो चिया पसलेसँग, बहस गर्ने उसका साथीहरुसँग र ऊ हिँड्ने र अदालत बसाउने बाटाहरुसँग । तर पनि ऊ मोटामोटा किताबमा र खाली पानामा कलम लिएर यसरी डुब्थ्यो, मानौँ उसलाई मृत्युको भन्दा बढी किताब नसकी जाने भय छ, कथा नसकी जाने भय छ । केही कुरा जानी नसक्दै मरेर जाने डर छ । दुर विदेशमा बस्ने सन्तानले बोलाँउदा जान नखोज्ने ऊ दिनभरि बार्दलीको कुर्सीमा बसी पढेर र लेखेर तल बाटामा हिँड्ने मान्छे हेरेर अनि थाकेपछि त्यही लडेर बिताएको देख्दा लग्थ्यो मान्छेलाई ठाउँ कति कम चाहिने रहेछ आफ्नो जीवन बाँच्न सिके ।


त्यसदिन पनि ऊ आफ्नो सानो संसार सधैं जसरी बार्दलीमा बसेर नियाल्दै थियो । त्यत्तिकैमा उसको सानो संसारको सानो फ्रेममा म पर्न पुगेछु र बोल्ने साथी नपाएको उसले मलाई सधैं जसरी बोलायो । काम खासै नभएको भएर म पनि गफीन थालेछु । जीवनमा उसको समय, साथी र यहाँसम्म कि पुग्ने ठाउँ सँगै गफ गर्ने विषय पनि कम हुँदै गएका थिए । तर त्यस दिन एक्कासि ‘के हुने होला है यो देश को ?’ बाट सुरु भएको थियो हाम्रो संवाद ।


हुन त त्यसभन्दा पहिला पनि मसँग उसले देशका विषयमा धेरै कुरा गरेको थियो । मलाई बुझाउँदै जंगलदेखि बाटोसम्मका विरोधका कथा अनि दरबार हत्याकाण्डदेखि प्रजातन्त्र र लोकतन्त्रका मन्त्रहरु, कहिले कुलमानदेखि रामेसम्मलाई ओगट्ने कथा त कहिले विद्यादेखि बिजुलासम्मका व्यथा । कहिले देशका लागि सहिद भएको उसको साथी अनि फेरि कहिले सत्तामा चुर भ्रष्टाचार गर्ने पापी । ऊ सबैका कुरा गथ्र्याे, सबैको कथा लेख्थ्यो र सबैलाई एकै समान देख्थ्यो ‘मान्छे’ समान । उसका कुरामा म कहिले ध्यान दिन्थेँ । कहिले दिन्थिनँ तर आजको उसको प्रश्नमा म भिन्नता भने पक्कै महसुस गर्न सक्थे भिन्नता सोधाइमा, भिन्नता उत्तरको आसामा, अनि भिन्नता परिवेशमा ।
कहिले सकारात्मक त कहिले नकारात्मक हुने मान्छेको स्वभाव नै हो र म पनि मान्छे नै हुँ । तर उसको प्रश्नको उत्तर मैले कुन शैलीमा दिनुपर्ने थियो ? म सोच्दै थिएँ किनकी न म राज्यको परिस्थितिबाट अन्जान थिएँ न उसको समेटिएर नसमेटिने प्रश्नको उत्तरबाट । यो विषयमा म पनि गलत त अवश्य हुन सक्थे तर उत्तरहीन यो देशको विषयमा कोही हुन सक्दैन ।

त्यसैले उसको सुस्ताएको शरीर, थाकेको मष्तिस्क र चिन्तित बोलीलाइ नियालेर सकारात्मक भावमा सकारात्मक शब्द बटुल्दै के थिएँ, उस्ले मेरो भ्रामिक अभिव्यक्ति देखेर सायद कुरा फेर्न खोज्यो तर खासै टाढा पुग्न भने सकेन र फेरी त्यही बिषयमा फरक प्रश्न सोध्यो ’के गर्ने सोच छ त यो देशमा बसेर ?’ ऊ त्यस दिन अर्कै सुनिन्थ्यो, मानौँ उसको प्रश्नले उत्तरसँगै मौनता पनि आशा गरिरहेछ । मानौँ, ऊभित्र धेरै कुराहरु छन् र ऊ हिजोको जस्तो आज कुनै हालतमा छैन न ऊ न उसको मन । नत्र ‘के गर्ने’ सोच मात्र पनिको उत्तर नभएको मलाई ‘यो देशमा बसेर’ले झन् ठूलो मर्कामा पारिरहेको थियो, म उत्तरविहीन थिएँ । मैले के गर्ने वा के गर्छु त्यो सबैको बारेमा सोच्न आफूलाई समय कहिल्यै दिएकै थिइनँ । मेरो परिस्थितिबाट अन्जान ऊ पनि पक्कै थिएन ।


तर आज एक्कासि ऊ अर्कै लाग्न थाल्यो । पाको, शंकालु, स्मार्ट कि बिरामी ? मानौँ केही कुराले उसलाई खाँदै छ भित्रभित्रै, तर मैले सोध्न भने सकिरहेकी थिइनँ । र त्यही सोध्न नसकेको प्रश्नको उत्तर मेरो मौनताले गर्दा उसले विषय फेरि पनि मोड्दै, आफैले दिन थालिसकेको रहेछ । पछि थाहा भो उसको सन्तान उसलाई लिन आउँदै रहेछन् । उतै उपचार गर्न तर उसलाई उसको आफ्नै देशमा मर्ने धोको सायद अपूरो हुने पो हो कि भन्ने पीरले खाइरहेको रहेछ । पहिलोचोटि मलाई किन उसँग बोलेछु जस्तो महसुस हुँदै थियो, सायद म स्वार्थी पनि भएकि थिए होला तर कसैको दुःख कम गर्न सकिदैन भने दुःख सुन्नु मात्र कहाँ सम्मको सन्तोषको कुरा भयो र ?


त्यस दिन त्यो प्रश्न मनमा यसरी गाडियो, जसरी कुनै कापीको पानामा कलमको टुप्पो गाडिन्छ, विस्तारै आफ्नो मसी कापीमा छोड्दै अनि शब्द बनाउँदै । र त्यो कुराले मभित्रै अर्कै मान्छे बनाउँदै थियो मभन्दा बेग्लै र भिन्न । त्यो दिन त्यही प्रश्न अरु कसैले सोधेको भए सायद मैले केही उत्तर फर्काएर बिर्सिन्थेँ पनि होला । तर त्यो प्रश्न यस्तो व्यक्तिले सोधेको थियो जसले आफ्नो जीवनभर सबैलाई आफ्नै देशमा बस्ने, आफ्ने देशमा मर्ने प्रेरणा दियो र देशैका लागि आफ्नो सबथोक खच्र्याे । आफ्नो उमेर, छोराछोरी, यहाँसम्म कि आफ्नो स्वास्थ्य पनि, तर त्यो प्रश्न ?


केही दिनमै ऊ बाहिर जाने रहेछ त्यसैले कि अन्त्यमा सबै सँग थाकेर, आफ्नो दिमाग, आफ्नो देश, राजनीति आफ्नो समय अनि आफू आफै ? खैर त्यो प्रश्न पनि ऊसँगै उतै गयो अनी कहिल्यै फर्केर पनि आएन तर साँच्चै के गर्छु म यो देशमा बसेर ?


उ जस्तै हुन्छु देशप्रेमी ? अनि सिकाउँछु देशको पाठ अरुलाई ? तर मसँग त ऊ जस्तो बाँड्दै हिँड्ने ज्ञान पनि छैन न यो देश र समाजलाई हेर्ने सकरात्मक र उर्जाशील सोच उसको जस्तै ।
उत्तरै नदिई गएको ऊ उतै बिलायो, कहिल्यै नफर्किने गरेर तर उसको त्यो प्रश्नले सधैं मलाई ऊ आज पनि त्यही बार्दलीमा भएको महसुस गराउँछ । यहीँ भएको महसुस गराउँछ । तर उत्तर मैले अझै पाएकी छैन सायद यो प्रश्नको उत्तर दिने क्षमता नै मसँग छैन । तर जाऊँ पनि त कहाँ म उसले गरेको प्रश्नको उत्तर खोज्न ? उसले पाठ पढाएका विद्यार्थीसँग ? ऊ चिया खाँदै गफिने खाजा घरमा ? उसले पढ्ने पुस्तकमा कि बाटोमा बसाउने अदालतका अरु पात्रहरुसँग ? सायद उसले कोरिरहने कापीमा केही थियो तर त्यो कापी भने म सँग थिएन ।


आज पनी कोशिसको क्रम जारी छ । तर साँच्चै म के गर्छु यो देशमा बसेर ? सायद गर्न सके त गर्ने धेरै कुराहरु छन्, तर के गर्छु म ?


पार्टी फुटाउन हिँड्छु ? जुटाउन हिँड्छु ? अन्यायमा परेकालाइ न्याय दिलाउन हिँड्छु ? देशको लथालिंग राजनीति बटुल्न हिँड्छु कि देशलाई सही बाटो देखाउन हिँड्छु ? फेरि न्यायका लागि बोलेँ भने कतै म पनि मदन भण्डारी बन्ने पो हुँ कि ? राजा नभए पनि मेरो परिवारको दशा दरबार हत्याकाण्डको जस्तो पो होला कि ? मेरी बहिनी निर्मला पन्त हुने त हैन कतै ? कि भाइ भोलि खराब राजनीतिको सिकार बनेको देख्नुपर्ला ?


थाहा त आजको दिनसम्म पनि हुँदैन, कि भोलि के हुन्छ ? कहिले कहाँ के कसरी र किन हुन्छ ? कतै महामारीका कारण बेड र अक्सीजन नपाएर मर्छु कि ? आदर्श मिश्राका बाबुजस्तै उपचार नपाएर ? थाहा छैन ३ वर्षदेखि एकै कक्षामा अड्किएर करियरै छोडिदिन्छु कि ? पढेर जागिरै खान्छु ? फेरि जागिर पनि त के खाउँला ? कसले दिन्छ मलाई जागिर न ठाउँमा आफ्ना मान्छे न घुस खुवाउन पैसा ।


त्यदि उसको प्रश्न छोटो लागेको थियो र एक्कासी सुन्दा अर्थहीन तर प्रश्न कती जटील रहेछ त्यो आज हरबखत उत्तर खोज्दा ज्ञात हुन्छ। प्रत्येक आज, खोज्छु खोजीरहन्छु तर हारे भने उत्तर खोज्न? अनी त्यसपछि ?


सायद त्यसपछि सोध्छु अरुलाई म पनी ऊ बनेर । सायद ऊभन्दा धेरै भिन्न भएर किनकि मसँग उसको जस्तो ज्ञान छैन, कुनै पनि कुरामा बहस गर्न सक्ने हिम्मत र ऊ जस्तो बन्ने प्रेरणा पनि ।
तर अझै अरु कतिले ऊजस्तै प्रश्न गर्ने वातावरण सिर्जना हुन्छ ? अझै कति सतीले सरापेको देश भन्दै न्यायको घाँटी निमोठिरहन्छन् ? अझै कति महामारी भन्दै घरभित्र बसाइन्छ, अनि महामारीले समातेपछि उपचार पाए उपचारमा लाग्ने खर्चले मारिन्छन् जनता ? अनि नसमाते भोकमरी र सोकमरीले ? कति खान नपाएर मर्दैछन्, कति उपचार नपाएर गल्दैछन् र कति न्यायका लागि लड्दै छन् ? तर फेरि उत्तर दिन्छ पनि त कसले ?


किनकी उत्तर दिने मान्छे त हिजोआज आफ्नै हिसाबमा व्यस्त छन्, अमुक भएर बसेका छन्, भ्याक्सिन ल्याउँदा पाइने कमिसनको हिसाब, चुनावमा लाग्ने खर्चको हिसाब, भोटको हिसाब र जितेपछि गर्ने भ्रष्टाचारको हिसाबमा ।
तर उसको प्रश्नको उत्तर भने मैले दिन सकिनँ । ऊसँग म हारेँ, तर मभन्दा बढी ऊ हारेको थियो आफ्नै देशप्रेमको भावसँग, आफ्नै देशसँग ।


ऊ ? ऊ त केबल एक पात्रमात्र थियो, नामविहीन पात्र तर ऊ हामी धेरैको दिमागमा बस्ने देशभक्त पनि थियो । देशप्रेमी थियो । हामीभित्रको देशप्रतिको दायित्व बुझाइदिने सोच थियो । जुन एउटा त्यस्तै प्रश्नसँग हराएर गयो । जुन बाहिरी देशको दशासँग डराएर गयो । र एकदिन त्यसैगरी तिमीलाई प्रश्नको उत्तर सोच्न लगाएर, प्रश्न सोध्न सक्ने बनाएर तिमीलाई पनि छोडेर जान्छ । ज्ञान सबै छोडेर, किनकी ज्ञानको भोकालाई के अर्थ ? गरिबलाई के थाहा ज्ञानले कसरी पेट भर्छ ? अस्पतालमा मृत्यु कुरेकालाई के थाहा ज्ञानले कसरी औषधीको काम गर्छ ?


न कुर्सीमा बस्नेलाई थाहा छ ज्ञान भए कुर्सी बढाउन मिल्छ, घटाउन मिल्छ अनि अडाउन पनि तर के अर्थ यो सबैको ? सकारात्मक सोच र विचारले मात्र ऊ र म बाँच्न सक्ने रहेनछांै र देशप्रेम मात्रले पनि हामीलाई जीवित बनाउन सक्दो रहेनछ । किनकि हरेकको भाग्य र बल सत्तामा पुग्ने हुँदैन, हरेकलाई ऊ जस्तै राजनीति र देशको ज्ञान बाँड्ने मन हुँदैन । धेरै हुन्छन् देशसँग हारेका, देशको प्रेम मात्रले खान नदिएर खाडी भासिएका । अझै धेरै हुन्छन् न्यायका लागि गुहार माग्दामाग्दै आपूm र आफ्ना गुमाएका । तर ती सबै तमाम मान्छेमा पनि ऊ हुन्छ । नेपालमा पढ्न मन नलागेर विदेश पस्ने युवामा पनि ऊ देख्छु, अनि बाटामा मागेर भोक टार्नेमा पनि । उनीहरुभित्र बसेको उसले देश चलाउन त सक्दैन । चल्थ्यो भने किन खाडी पस्थेँ म ? किन माइतीघर मण्डलमा हुने धर्नामा दिनरात बस्थेँ म ? किन एक छाक भात बाँड्न आउनेको बाटो कुर्थेँ म ? किन ऊ र म सबैबाट थाकेर देशैबाट टाढा भाग्थ्यौँ र भन्थ्यौँ, ‘धन्न म त्यो देशमा छैन !’


(ढकाल पोखराको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरबाट पत्रकारितामा स्नातक गर्दैछिन्)

तपाईको प्रतिक्रिया