पर्यटन र कृषिबाट समृद्धि मुख्यमन्त्री

समाधान संवाददाता २०७८ साउन २५ गते १२:१७

समाधान संवाददाता
नवलपुर
– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले झ्यालवास डेढगाउँ सडकलाई प्राथमिकतामा राखेको बताएका छन् । दक्षिणको नाका त्रिवेणी र उत्तरको नाका कोरला जोड्ने यो सडक प्रदेशकै लाइफलाइन भएकाले प्राथमिकतामा राखेको उनको भनाइ छ ।


गृहजिल्ला नवलपुर भ्रमणमा रहेका उनले शनिबार भएका कार्यक्रममा पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार रहेको बताए । अहिले नवलपुरको पहाडी क्षेत्र बाढीपहिरो र तराई भेग भेलबाढी र नारायणीको कटानको चपेटामा परेको भन्दै मुख्यमन्त्रीले तत्काल रोकथाम र राहतका कार्यक्रम सञ्चालन भइरहेको बताए । उनले दीर्घकालीन रोकथामका लागिसमेत अध्ययन भइरहेको जानकारी दिए ।


शनिबार बिहान उनले गैंडाकोट १ धारापानी स्थित नवदुर्गा आधारभूत विद्यालय भवन उदघाटन गरे । गत वर्ष पूर्वाधार विकास कार्यक्रमको २५ लाख रुपैयाँ लागतमा यो भवन बनेको हो । भवन निर्माण समिति अध्यक्ष पूर्णप्रसाद गौंडेलले प्रमुख प्रतिपक्षी दलको नेता भएका बेलामा नै पोखरेलले विकास निर्माणका लागि चासो दिएर योजना पारेको बताए ।

Advertisement


मुख्यमन्त्रीले गैंडाकोट नगरपालिका ११, मुकुन्दपुरस्थित कभर्डहल अवलोकन गरे । युवालाई खेलकुदमा आकर्षित गर्दै अनुशासित समाज निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।


गैंडाकोट १३ मा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा कांग्रेसका महामन्त्री शशांक कोइरालासँगै मुख्यमन्त्रीसहभागी भए । महामन्त्री कोइरालाले नारायणी नदी कटान रोक्दै किनारै किनार वैकल्पिक राजमार्ग सञ्चालन गर्न सकिने भनाइ राखे । मुलकमा खेतीयोग्य जमिन पर्याप्त भएकाले कृषिमा आधुनिकीकरण गर्दै युवालाई आकर्षित गर्न सके समृद्धि प्राप्त हुने भनाइ उनले राखे ।

Advertisement


मुख्यमन्त्री पोखरेलले गैंडाकोटमा बिपी अन्तर्राष्ट्रिय खेलमैदान, राजमार्ग क्षेत्रमा ट्रमा सेन्टर लगायत दूरगामी महत्व राख्ने कार्यक्रमलाई प्रदेशले अघि सारेको बताए । महामन्त्री कोइराला र मुख्यमन्त्री पोखरेलले नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश उपाध्यक्ष रामप्रकाश सिग्देलको श्रद्धाञ्जली सभामा सहभागी भए ।


मुख्यमन्त्री पोखरेल शनिबार नै देवचुली उद्योग वाणिज्य संघले गरेको कार्यक्रममा सहभागी भए । कार्यक्रममा उनले सरकारले कोरोनाविरुद्धको खोपलाई प्राथमिकतामा राखेको भन्दै उद्योगी, व्यवसायीलाई पनि खोपको उपलब्धता अनुसार उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाए ।


संघका अध्यक्ष रेशमलाल सापकोटाले उद्योगी, व्यवसायीले १ प्यान १ खोपको माग गर्दै आएको बताए । उनले दललले धोवादी हुँदै खैरेनी जोड्ने सडकलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे ।


नेपाली कांग्रेसको जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा क्रियाशील ७ दलले तयार जिल्लाको विकासका लागि तयार पारेको साझा अवधारणा मुख्यमन्त्री पोखरेललाई हस्तान्तरण गरेका छन् ।

कांग्रेस जिल्ला सचिव बालकृष्ण घिमिरे, माओवादी केन्द्र जिल्ला सचिव मित्रशरण शर्मा(बिहानी), नेकपा एमाले माधव समूहका जिल्ला अध्यक्ष शालिग्राम भट्टराई, जसपा अध्यक्ष डिबी गुरुङ, विवेकशील साझाका रामप्रसाद चापागाईं, देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष पिताम्बर तिवारीले उक्त अवधारणामा हस्ताक्षर गरेका छन् ।


पार्टी कार्यालयमै नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) ले गरेको कार्यक्रममा १५ प्राविधिक नेल्टामा प्रवेश गरेका छन् । कोइलापानीको केरुङ खोलामा निर्मित बर्खे सिँचाइ प्रणालीको कुलोमा बाढीले पु¥याएको क्षति मुख्यमन्त्री पोखरेलले अवलोकन गरे । कुलोमा पुगेको क्षतिका कारण सयौं बिगाह खेतमा सिँचाइ रोकिएको भन्दै तत्काल सञ्चालनका लागि पहल गर्न स्थानीयले माग गरे ।


मुख्यमन्त्री पोखरेलले तत्कालका लागि तारजाली उपलब्ध गराउने र प्राविधिक टोलीले अध्ययन गरेपछि संघ सरकारसँग समन्वय गरी निर्माणको काम थालिने प्रतिबद्धता जनाए । उनले लौकाहाखोलामा प्रस्ताव गरिएको औद्योगिक क्षेत्र निर्माणस्थलसमेत अवलोकन गरे । जग्गा नापनाँचको काम सुरु भइसकेको भन्दै उनले संघ सरकारसँग समन्वय गरेर थप प्रक्रियाअगाडि बढाइने भनाइ राखे ।


देवचुली नगरपालिका ५ स्थित झाँक्रेखोलाको सुकुम्वासी बस्तीमा पुगेर उनले स्थानीयका पीरमर्का बुझेका छन् । वन क्षेत्रमा ७ सयभन्दा बढी परिवार लामो समयदेखि बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया