बजेट संशोधन गर्ने तयारी

समाधान संवाददाता २०७८ साउन २७ गते १६:०१

समाधान संवाददाता
काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले मंगलबार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ गराउँदै अध्यादेशमार्फत आएको बजेटलाई प्रतिस्थापन गर्ने विधेयक चाँडै ल्याउने बताएका छन् । वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरु के कस्तो अवस्थामा रहेका छन भन्ने विषयमा तथ्यांकीय झलक प्रस्तुत गरिएको उनले बताए।


अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने बताउँदै कोभिड १९ महामारी नियन्त्रण नयाँ सरकारको प्राथमिक कर्तव्य भएको उल्लेख गरे । मन्त्री शर्माले २०७८ साउन २५ गतेसम्म ४५ लाख २५ हजार ४ सय ३५ जनाले पहिलो र २६ लाख ६ हजार ४६ जनाले पूर्ण मात्रा खोप लगाइसकेको जानकारी दिए । उनले हालसम्म करिब १ करोड डोज खोप नेपाल भित्रिएको तथ्यांक पनि प्रस्तुत गरेका छन् ।


उनले भूकम्पबाट प्रभावित अर्थतन्त्र विस्तारै सकारात्मक दिशातर्फ अघि बढिरहेको अवस्थामा कोभिड १९ महामारीले पुनः शिथिल बन्न पुगेको जानकारी गराए । आर्थिक वर्ष २०७७÷७८ मा पनि अर्थतन्त्रमा उल्लेख्य सुधार हुन नसकेको र बजेटमार्फत आर्थिक वृद्धिदर ७ प्रतिशत रहने अनुमान गरिएकोमा कोभिड १९ महामारीको दोस्रो लहरले अर्थतन्त्रमा गम्भीर प्रभाव पारेका कारण उक्त वृद्धिदर हासिल नहुने अवस्था देखिएको जनाए ।

Advertisement


उनले उत्पादनशील क्षेत्रमा आन्तरिक तथा बाह्य लगानीको अपर्याप्तता, उत्पादनमुखीभन्दा व्यापार केन्द्रित लगानी, उच्च उत्पादन लागत, सरकारको पुँजीगत खर्च गर्ने क्षमतामा कमी, आर्थिक वृद्धि र रोजगारी सिर्जनाबीचको कमजोर सम्बन्ध, आर्थिक वृद्धिको लाभका असमान वितरण, अर्थतन्त्रमा अनौपचारिक क्षेत्रको हिस्सा नघट्नु जस्ता समस्या अर्थतन्त्रमा लामो समयदेखि रहँदै आएको उल्लेख गरे ।


बजेट कार्यान्वयन क्षमतासँग मेल नखाने गरी प्रचारात्मक ढंगले बजेटको आकार वृद्धि हुँदै आएको उनले बताए । यस्तै, विगतको सरकारले कोषको अवस्थामा ध्यान नदिई बजेट निर्माण गर्ने गरेको कारण बजेट प्रतिको विश्वसनियतामा ह्रास आएको उनले बताए।

Advertisement

तपाईको प्रतिक्रिया