पोखराका विभिन्न वडामा कांग्रेसको नयाँ कार्यसमिति निर्वाचित

समाधान संवाददाता २०७८ भदौ १८ गते १६:०६

समाधान संवाददाता, पोखरा

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सन्दर्भमा शुक्रबार पोखरा र कास्कीका पालिकाहरुमा वडा अधिवेशन सम्पन्न भएको छ । कतिपयमा अधिवेशन जारी छ । वडाको नयाँ नेतृत्वसहितको कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरु निर्वाचित गर्नेछ ।

Advertisement

पोखरा महानगरपालिकाको वडा नम्बर ९ मा शिवराज बास्तोला सभापति निर्वाचित भएका छन् । उनी नेतृत्वको कार्यसमिति सर्वसम्मत चयन भएको हो । पोखरा ७ मा नवीन बराल सभापति निर्वाचित भएका छन् ।

मादी गाउँपालिका वडा नम्बर १ मा टंकप्रसाद गुरुङ “जापान” सभापति निर्वाचित भएका छन् । मादी २ मा मन्त्रीजंग गुरुङ सभापति निर्वाचित भएका छन् ।

Advertisement

सबै क्रियाशील सदस्यले प्रत्यक्ष मतदान गरी वडा कार्यसमिति र प्रतिनिधि चयन गर्ने विधानमा व्यवस्था छ । तर थुप्रै वडाहरुमा सर्वसम्मत नै नयाँ कार्यसमिति चयन भइरहेको छ ।

पोखरा २० मा बाढीपहिरो आएको हुँदा त्यहाँको अधिवेशन भने २१ गतेलाई सारिएको जिल्ला निर्वाचन अधिकृत आरसी विमल पौडेलले जानकारी दिए ।

पोखरा २२ मा होमप्रसाद बराल सभापति निर्विरोध चयन भएका छन् । कार्यसमिति र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन भएका छन् ।

वडा अधिवेशनले वडा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि र नगर प्रतिनिधि चयन गर्नेछ । वडा समितिमा १ सभापति, २ उपसभापति, २ सचिव, २ सहसचिव र सदस्यहरु निर्वाचित हुनेछन् ।

कांग्रेसको विधान अनुसार १ सय ५० क्रियाशील सदस्य भएको वडा इकाइ समितिबाट १६ क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन हुनेछन् । १ सय ५० माथि थप प्रत्येक १ सय क्रियाशील सदस्यबाट १० जनाका दरले क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन हुने विधानमा व्यवस्था छ । २ सय ५० भन्दा धेरै क्रियाशील सदस्य भएको इकाइले २६ जना, ३ सय ५० भन्दा बढी सदस्य भएको इकाइले ३६ जना क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन गर्ने छन् ।

जति धेरै क्रियाशील सदस्य रहे पनि १ इकाइबाट ७६ जनाभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन गर्न पाइने छैन । यही वडा अधिवेशनबाट १ महिलासहित ३ जना नगर वा पालिका कार्यसमिति सदस्य निर्वाचित हुने छन् ।

वडा अधिवेशनपछि पालिकाको इकाइ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ । पालिका समितिका लागि वडा समितिका सभापति, पालिका भित्रका वडा इकाइबाट चयन भएका क्षेत्रीय प्रतिनिधि र वडाबाट निर्वाचित पालिका कार्यसमितिका सदस्यले मतदान गर्ने छन् ।

पालिका अधिवेशनबाट २ जना अपांग क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन हुनेछन् भने पालिका इकाई समितिका सभापति पदेन क्षेत्रीय अधिवेशन प्रतिनिधि हुनेछन् । यसपछि प्रदेश सभा क्षेत्रीय अधिवेशन हुनेछ ।

यो अधिवेशनले प्रदेश सभा क्षेत्रीय कार्यसमिति र प्रदेश अधिवेशन प्रतिनिधि चयन गर्नेछ । यो अधिवेशनमा वडा र पालिकाबाट चयन भएका क्षेत्रीय अधिवेशन प्रतिनिधिमात्र सहभागी हुन पाउनेछन् ।

प्रदेश सभा क्षेत्रबाट १६ जना प्रदेश अधिवेशन प्रतिनिधि छनोट हुनेछन् । प्रदेश अधिवेशनमा प्रत्येक प्रदेश सभाबाट प्रदेश सभापति र १६ जना प्रतिनिधि गरी १७ जना सहभागी हुनेछन् । त्यसपछि प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्ने कार्यक्रम छ । केन्द्रीय महाधिवेशन प्रतिनिधि यही प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट चयन हुने भएकाले यसले धेरै नेताको ध्यान तान्छ ।

क्षेत्रीय कार्यसमितिका साथै प्रत्येक निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि यही अधिवेशनबाट चयन हुने भएकाले केन्द्रीय राजनीतिमा जान खोज्ने कांग्रेस नेताका लागि यो दिन विशेष हुनेछ । यिनै २५ जना केन्द्रीय महाधिवेशनका सहभागी हुनेछन् ।

तपाईको प्रतिक्रिया