११२ युवा राष्ट्रिय युवा संघमा प्रवेश

समाधान संवाददाता २०७८ भदौ २० गते १३:१७

समाधान संवाददाता
पोखरा- पोखराका उद्यमी, व्यवसायी, खेलाडी गरी १सय१२ युवा शनिबार राष्ट्रिय युवा संघ नेपालमा प्रवेश गरेका छन् । युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पोखराका युवा उद्यमी अशोक खड्काको नेतृत्वमा सागर खनालसहित ५४ र शारीरिक सुगंठनका खेलाडी आर्यन सुनार, सिमरन गुरुङ, सुरज नेपालीसहित ५८ युवा विभिन्न पार्टी परित्याग गरी युवा संघमा संगठित भएका हुन् ।


नेपाल कम्युनिस्ट (पार्टी एमाले)का केन्द्रीय कमिटीका सचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, युवा संघ नेपालका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य राजीव पहारीले नवप्रवेशी युवालाई खादा र टीका लगाएर स्वागत गरे । युवा संघ नेपालका केन्द्रीय सचिव तथा गण्डकी अध्यक्ष महेन्द्र गुरुङले युवा संघ नेपालको सदस्यता प्रदान गरे ।


नेकपा एमाले नेता गुरुङले नेकपा (एमाले)को समृद्धिको अभियानमा धेरैभन्दा धेरै युवा समेटिएको बताए । उनले अधिकांश युवालाई संगठित गर्ने युवा संघको राष्ट्रव्यापी संगठन सुदृढीकरण अभियान प्रभावकारी भएको उल्लेख गरे । ‘युवाको सीप दक्षता तथा उद्यमशीलता विकासका लागि पार्टीले ध्यान दिनेछ,’नेता अधिकारीले भने, ‘देशभक्त युवा सिर्जनशील र गतिशील भएर देशलाई समृद्ध बनाउने अभियानमा लाग्नु पर्छ ।’ नेता गुरुङले सिर्जशील युवाले रोजगारी प्रवद्र्धन गरी समृद्ध मुलुक बनाउन सक्ने उल्लेख गरे ।

Advertisement


पार्टीका केन्द्रीय सचिव गुरुङले ५ दलीय गठबन्धनले संघमा ५० दिन पार गर्दासमेत मन्त्रीमण्डल पुनर्गठन गर्न नसकेको बताए । अवसरवादी पार्टी फुटाएर मन्त्री बन्न हानथाप गरेको आरोप लगाउँदै नेता गुरुङले गठबन्धन क्षणिक र पानी भरेको बलुन जस्तो भएकाले जति खेरपनि फुट्न सक्ने संकेत गरे । उनले आम नेपाली जनताको साथ र समर्थन नेकपा एमालेलाई भएको दाबी गर्दै नेता गुरुङले पार्टीले देशको माटोको रक्षा गर्ने बताए ।


उनले सबै राष्ट्रवादी शक्ति एकजुट भएर देश जोगाउन सकेको खण्डमा मात्रै समृद्धि हासिल गर्न सकिने तर्क गरे । नेता गुरुङले नेपाली व्यवसायीले बन्दरगाहमा ६ महिनासम्म पानी जहाज प्रयोग गर्न नपाएका कारण पार्टी अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले पानीजहाज किनेर चलाउने योजना सार्वजनिक गरेको उल्लेख गरे ।

Advertisement


युवा संघ नेपालका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटी सचिव गुरुङले पार्टीले सबै युवालाई गोलबन्द गरी उद्यमशीलता विकास गर्ने बताए । उनले पछल्लो समयमा पार्टीमा युवाको आकर्षण बढेको दाबी गरे । गण्डकी प्रदेशमा १५ हजार युवालाई संगठित गरेर युवा संघलाई सशक्त बनाउने घोषणा गर्दै उनले संघले प्रदेशमा ३० हजार युवालाई सदस्यता वितरण गर्ने योजनासहित संगठन सुदृढिकरण अभियान थालेकोजानकारी दिए ।


कार्यक्रममा युवा संघ नेपालका स्थायी कमिटी सदस्य तथा युथ फोर्स गण्डकी प्रमुख हरि लम्साल, स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश कमिटी सचिव विकास अधिकारी, युवा संघ नेपालका सचिवालय सदस्य तथा प्रदेश कमिटी कोषाध्यक्ष डिल्ली सुवेदी, सचिवालय सदस्य तथा गण्डकी प्रदेश कमिटीका कार्यालय सचिव सुवास सापकोटा लगायतलेयुवा संघमा संगठित युवालाई क्षमतामा आधारित व्यवसायमा प्रवेश गराउने बताए ।

तपाईको प्रतिक्रिया