गण्डकी प्रज्ञा प्रतिष्ठानको कार्यालय स्थापना

समाधान संवाददाता २०७८ भदौ २४ गते १५:०४

समाधान संवाददाता
पोखरा- गण्डकी प्रज्ञा प्रतिष्ठानले पोखराको बगरमा कार्यालय स्थापना गरेको छ ।
प्रतिष्ठानले कार्यालय सञ्चालनका लागि पृथ्वीनारायण क्याम्पसको स्वर्ण जयन्तीको अवसरमा निर्माण भएको स्वर्ण स्मृति भवन१५ वर्षका लागि भाडामा लिएको प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले जानकारी दिए । यसअघि, प्रतिष्ठानले बगरस्थित शिक्षा कार्यालयको भवनमा कार्यालय सञ्चालन गर्दै आएको थियो ।


गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले कार्यालय उद्घाटन गरे । प्रतिष्ठानको कार्यालय उद्घाटनसँगै युवा कवि मोतीराम भट्टको १ सय ५६ औं जन्मजयन्ती समारोह अन्तर्गत गजलवाचन गरिएको छ । नेपाली गजलका समेत प्रणेता रहेका युवा कवि भट्टको स्मरणमा प्रकट पंगेनी ‘शिव’, मन क्षेत्री, कपिल ‘सञ्जोग’, सरला लामिछाने ‘सरु’ र उदीपराज ढुंगानाले गजलवाचन गरे ।


मन्त्री श्रेष्ठले गण्डकी प्रदेश प्रकृति र संस्कृतिको अनुपम संगमस्थल रहेको बताए । उनले प्रदेश राजधानी पोखरा देशकै पर्यटकीय र सांस्कृतिक राजधानी भएको उल्लेख गरे । ‘प्रतिष्ठान गठनको पृष्ठभूमि जस्तो भएपनि आफ्नो उद्देश्य पूरा गर्न काम गर्नुस्,’मन्त्री श्रेष्ठले भने, ‘कुनै पनि बहाना र किन्तु, परन्तु भन्ने ठाउँ छैन । प्रतिष्ठानका पदाधिकारीले कसैको डर नमान्नुस् । त्रासमा नपर्नुस् ।

Advertisement

ढुक्क भएर काम गर्नुस् ।’ मन्त्री श्रेष्ठले कला साहित्य क्षेत्रका सबै संघ संस्थालाई समेटेर काम गर्न सुझाव दिए । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका संस्थापक सदस्य–सचिव तीर्थ श्रेष्ठले कुशे औंसीमा संयोगले नेपाली साहित्यका बाबु समान युवा कवि मोतीरामलाई सम्झने दिनसमेत भएको बताए । कवि श्रेष्ठले प्रज्ञा–प्रतिष्ठान गठन प्रक्रियामा सुरुमा आफ्ना केही असहमति रहेपनि गठनपश्चात् प्रतिष्ठानलाई बलियो बनाउनुपर्ने मान्यता अगाडि सारेको उल्लेख गरे ।


गण्डकी प्रदेश सांस्कृतिक र प्राकृतिक रुपमा धनी प्रदेश भएको चर्चा गर्दै उनले प्रदेशको प्राज्ञिक र वाङ्मयिक विकासमा प्रतिष्ठानले महŒवपूर्ण भूमिका खेल्न सक्ने बताए । कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’,उपकुलपति गोरे गुरुङ र सदस्य–सचिव मनकुमार श्रेष्ठले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया