४ महिनापछि खुल्योे मनकामना मन्दिर

समाधान संवाददाता २०७८ भदौ २४ गते १५:०८

गोरखा

(रासस)–नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिने गोरखाको मनकामना मन्दिर करिब ४ महिनापछि बुधबारदेखि खुलेको छ । कोभिड १९ को संक्रमणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि पूजाआजा गर्न रोक लगाइएको मन्दिर भक्तजनका लागि पूजा गर्न खुला गरिएको मन्दिरका मूलपुजारी इन्सानबहादुर थापामगरले जानकारी दिए ।

मनकामना क्षेत्र विकास समितिले मन्दिरमा सरकारले तोकेको स्वस्थ्य मापदण्डको पालना गर्ने गरी सर्वसाधारणका लागिसमेत पूजाआजा गर्न मन्दिर खोल्ने निर्णय गरेसँगै बुधबरदेखि मन्दिर सर्वसाधारणका लागि खुला गरिएको उनले बताए । ‘नियमितरूपमा गरिने नृत्यपूजा गरेर सर्वसाधारणलाई पनि पूजाआजाका लागि मन्दिरमा प्रवेश गराइएको छ,’ मूलपुजारी थापाले भने, ‘पुजारी र भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तत्कालका लागि मन्दिर बाहिरको झ्यालबाट पूजा सामग्री पुजारीलाई दिने गरी व्यवस्था मिलाइएको छ ।’

Advertisement

मन्दिरमा भाकल बुझाउन आउने भक्तजनका लागि बलि दिने स्थानमा समेत छुट्टै पुजारीको व्यवस्था मिलाइको छ । ४ महिनापछि मन्दिर खुल्ला भएको पहिलो दिनमै सयौँ भक्तजन पूजापाठका लागि आएको मूलपुजारी थापाले बताए । मन्दिरमा पुग्ने भक्तजनले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने लगायतका व्यवस्थासमेत गरिएको छ ।

यता, मन्दिर परिसरमा पुग्ने भक्तजनको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी मन्दिर परिसरमै हेल्थ डेस्कसमेत स्थापना गर्ने तयारी गरिएको सहिद लखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए । बन्द रहेको गोरखाको अर्को प्रसिद्ध धार्मिक गन्तव्यको रूपमा चिनिने गोरखा दरबारस्थित कालिका मन्दिर पनि बुधबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया