पानीभित्र र बाहिरको २५ सय रोपनी पनि फेवाकै

समाधान संवाददाता २०७८ भदौ २५ गते ११:५४

समाधान संवाददाता


पोखरा- पुण्य पौडेल संयोजकत्वमा गठित फेवाताल सम्बन्धी समितिले दूषित दर्ता जग्गा खोजी गरेको छ । पौडेल समितिले प्रतिवेदन तयार पारी प्रधानमन्त्री शेरबहादुर देउवालाई भरेभोलि नै बुझाउँदै छ । पौडेल समितिले २५ सय रोपनी हाराहारीका जमिनको दर्ताबारे सरकारले निर्णय गर्नुपर्ने सुझाएको छ ।

फेवाताल ४ किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन नाम दिइएको पौडेल संयोजकत्वको समितिले फेवातालको पानीभित्र र बाहिर गरी २५ सय रोपनी जति जमिन व्यक्तिका नाममा रहेको पहिल्याएको हो ।

Advertisement


तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विश्वप्रकाश लामिछानेको नेतृत्वमा गठन गरेको फेवा ताल अतिक्रमण जग्गा छानबिन समितिले १ हजार ६ सय ९२ रोपनी व्यक्तिको नाममा गएको हुँदा बदर गरिनुपर्ने सुझाएको थियो । २०७७ सालमा प्रधानमन्त्री केपी ओली सरकारले गण्डकी प्रदेश सरकारको सिफारिसमा पौडेल संयोजकत्वको समिति बनाएको थियो । यो समितिलाई ४ किल्ला निर्धारण र दूषित जमिन खोजी गर्नेसमेत कार्यादेश थियो ।


२०१८ सालमा फेवातालमा बाँध बाँध्दा तत्कालीन सिँचाइ विभागले ७९४ दशमलव ४ मिटर उचाइसम्म ताल क्षेत्र निर्धारण गरेको तथ्य पौडेल समितिको प्रतिवेदनले समेटेको छ । ‘तर पछि स्थानीय बासिन्दाले राजालाई निवेदन गरेपछि ७९३ दशमलव ४ मिटरसम्ममात्रै ताल कायम गरिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘२०३१ सालमा बाँध फुटेपछि २०३२ सालपछि व्यक्तिका नाममा जग्गा दर्ता भएका छन् ।’

Advertisement


२०३२ सालमा नापी आउँदा व्यक्तिमा नाममा जग्गा दर्ता भएको र ती जमिन मालपोत ऐन २०१९ र २०३४ अनुसारै दर्ता भएको देखिने पनि प्रतिवेदनले औंल्याएको छ । तर त्यसरी दर्ता भएका जमिन पञ्चायतकालकै ३ जना मन्त्रीले दर्ता खारेजको निर्णय गरेको पौडेल समितिले भेटेको छ ।

तत्कालीन जलस्रोत मन्त्री पशुपति शमशेर राणा, पूर्णप्रसाद अधिकारी र यादवप्रसाद पन्तले गरी ३ पटक ती जमिनको दर्ता खारेज गर्न मालपोत कार्यालय कास्कीलाई सिफारिससहित निर्णय गरेको पौडेल प्रतिवेदनमा उल्लेख छ । पौडेल प्रतिवेदनले ऐन अनुसार दर्ता भएको पनि देखिएको र मन्त्रिस्तरीय निर्णयबाट खारेज गर्न पनि भनिएको हुँदा ती निर्णय गर्दा जनताले न्याय पाउने अधिकारसमेत कुण्ठित नहुने गरी प्राकृतिक न्यायको सिद्धान्तअनुसार नेपाल सरकारले निर्णय लिनुपर्ने सुझाव दिएको छ ।
पौडेल समितिको विस्तृत प्रतिवेदनले पौडेलको संयोजकतत्वमा गठित समितिले फेवाको क्षेत्रफल ५.७२६ वर्गकिमी निक्र्याेल गरेको छ । त्यसमध्ये अधिकांश क्षेत्रफल अहिले पनि पानीले ढाकिएको छ । केही पानी बाहिरै परेको छ । प्रतिवेदन प्रधानमन्त्री देउवालाई बुझाएपछि सार्वजनिक गरिने भएको छ ।


सर्वाेच्च अदालतले २०७६ वैशाख १६ गते गरेको फैसला कार्यान्वयन गर्न पौडेल संयोजकत्वको समिति बनाइएको थियो । सर्वाेच्चले ताल सीमांकनको जिम्मेवारी संघ सरकारलाई तोकेको थियो । प्रधानमन्त्री कार्यालयलाई सर्वाेच्चले उक्त कार्यका लागि गरेको आदेश अनुसार प्रम कार्यालयले अख्तियारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई दिएको थियो । सोही अनुसार गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद र उक्त मन्त्रालयले पौडेल संयोजकत्वमा ताल सीमांकन समिति गठन गरेका हुन् । समितिमा पोखराका मेयर, नापी, मालपोत र वन कार्यालय लगायतका प्रतिनिधि सदस्य छन् ।


समितिले विस्तृत प्रतिवेदन तयार पारी गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समेत बुझाएको छ । यसअघि समितिले तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई १७ फागुन २०७७ मा एउटा प्रतिवेदन बुझाएको थियो । जसमा फेवातालको क्षेत्रफल यकीन गरिएको थियो र ४ किल्ला निर्धारण गरिएको थियो । सोही प्रतिवेदन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बुझाइएको थियो ।


अभिलेख, तथ्य, प्रमाण र सरोकारवालाको सुझाव, स्थलगत अवस्थितिका आधारमा ४ किल्ला तोक्ने, यसको ४ किल्ला र नक्सा तयार गर्ने तथा क्षेत्रफल यकीन गर्न नापी कार्यालयलाई निर्देशन दिने, त्यो नक्सा निर्णयका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालयमा पठाउने, दूषित जग्गाको लगत तयार गर्ने र खारेजीका लागि मालपोत कार्यालयमा पठाउने, फेवातालको दीर्घकालीन योजना बनाउन आवश्यक भए सुझाव दिने लगायत कार्यादेश समितिलाई छ ।


‘फेवातालको कुल कित्ता यकीन भएको छ, दूषित र अतिक्रमण भएका कित्ता पनि पहिचान भएको छ,’ समितिका एक सदस्यले भने । समितिले ताल प्राधिकरण नभई फेवाताल प्राधिकरण नै गठन गर्नुपर्ने सुझाव दिएको छ ।

फेवाताल ४ किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिको अन्तिम प्रतिवेदन बुझ्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल । तस्बिर ः

तपाईको प्रतिक्रिया