पोखरामा म्याद गुज्रेका १२ हजारको खाद्य सामग्री नष्ट

समाधान संवाददाता २०७८ भदौ २९ गते १८:३२


युवराज गुरुङ ‘युनिश’


पोखराका विभिन्न पसलले म्याद गुज्रेको र लेबलिङबिनै दैनिक उपभोग्य सामाग्री बिक्रीमा राखेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले गरेको नियमित अनुगमनका क्रममा सबैभन्दा बढी मसलाजन्य पदार्थमा म्याद गुज्रेर पनि बिक्रीमा राखेको पाइएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक सिडिओ कृष्णचन्द्र पौडेलको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, गुणस्तर तथा नापतौल विभाग, उपभोक्ता मञ्च लगायत संस्थाले मंगलबार संयुक्त बजार अनुगमन गरेका थिए ।

Advertisement

अनुगमनका क्रममा पोखराको चल्तीको बगरस्थित पानीपँधेरो डिपार्टमेन्टल स्टोर र केआइसिंह पुलस्थित बास्तोला ट्रेडर्सबाट ठूलो मात्रामा म्याद गुज्रेको सामान फेला परेको हो । उपभोक्ता मञ्च कास्की अध्यक्ष कपिलनाथ कोइरालाका अनुसार ती पसलबाट करिब १२ हजार रुपैयाँ बराबरको मसलामात्रै नष्ट गरिएको छ ।

अनगुमन टोलीले पोखरा १, बगरमा रहेको पानी पँधेरो डिपार्टमेन्टल स्टोर्समा ५ हजार रुपैयाँ बराबरको म्याद गुज्रेको मसला बिक्रीमा राखेको फेला पारेको थियो । ती मसाला नष्ट गर्दै पानी पँधेरोलाई ५० हजार रुपैयाँ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

Advertisement

‘धेरै सामानमा लेबलिङ पनि गरिएको पाइएन्, प्याकिङ, रिप्याङका केही पनि देखिएन,’ सहायक सिडिओ कृष्णचन्द्र पौडेलले भने, ‘म्याद सकिएको ३÷४ महिना हुँदा पनि सामान बेच्न राखिएको पाइयो ।’ डिपार्टमेन्टल स्टोरमा म्याद गुज्रेका र कायम रहेका सामग्री एकै ठाउँमा राखी उपभोक्तालाई झुक्याइएको अनुगमन टोलीले जनाएको छ ।

अनगुमन टोलीले बास्तोला ट्रेडर्सबाट पीपलडाली ब्रान्डको २ सय ५ प्याकेट म्याद गुज्रेको मसला फेला पारेको थियो । ५ हजार ६ सय मूल्य बराबरको ती मसला सोही स्थानमै नष्ट गरिएको थियो ।
अनुगमन टोलीले गोदामको मापदण्डसमेत पालना नगरेको र अव्यवस्थित रहेको जनाएको छ । बास्तोला ट्रेडर्सलाई अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐन अन्तर्गत ५० हजार रुपैयाँ जारिवाना तोकेको छ । ‘पसलमा मूल्यसूची पनि राम्रोसँग राखिएको देखिएन । एकहप्ताभित्र जिल्ला प्रशासनमा हाजीर हुने गरी कारबाही गरेका छौं,’ कोइरालाले भने ।


पोखरा बगरस्थित पानीपँधेरो ट्रेड प्रालिमा मिति सकिएको खाद्य सामग्री अनुगमन गर्दै मंगलबार कास्कीका सहायक प्रमुख जिल्ला कृष्णचन्द्र पौडेल । तस्बिरः युनिश गुरुङ/समाधान

तपाईको प्रतिक्रिया