महामारीमा जमेका उद्यमी पुष्पा र मेनु

श्याम रानामगर २०७८ भदौ ३१ गते २०:००


श्याम रानामगर


पर्वतकी पुष्पा पुन मगर र म्याग्दीकी मेनु पुर्जामगरले धेरै पहिलादेखि देखेको सपना थियो उद्यमी बन्ने । पोखरा ३० ढुंगेपाटनमा बसाइँ सरेर आएदेखि साथी बनेका पुष्पा र मेनुको त्यो सपना पहिलो चरणको लकडाउन सुरु हुनुभन्दा १ महिनाअघिमात्रै पूरा भयो ।


निकै जोश, जाँगरका साथ यी दुईले सुरु गरे—दिदीबहिनी मःम उद्योग । आफू पनि उत्पादनमूलक काममा लाग्ने महिला दिदीबहिनीलाई पनि स्वरोजगार बनाउने उद्देश्य अनुसार कम्पनी सुरु गरे । कम्पनी सुरु भएको महिना दिनमै राम्रो बजार पाउँदै थियो दिदीबहिनी मःम उद्योगले ।
एक्कासि ०७४ चैत ११ देखि सरकारले देशव्यापी लकडाउनको घोषणा ग¥यो । ‘सुरु भएको १ महिना जति भएको थियो । लकडाउन भयो । अरु दिदीबहिनी बिदामा बस्नु भयो । हाम्रो काम रोकिएन, घरघरमै मःम पु¥यायौं,’ दिदीबहिनी मःम उद्योगकी सञ्चालक पुष्पाले भनिन् ।


विश्व नै कमजोर पार्ने महामारीले कैयौं व्यवसायी पलायन हुन पुगे । तर, महामारीबीच जन्मिएको ‘दिदीबहिनी मःम उद्योग’ भने अझैं फैलिँदै छ ।
‘पहिला त हामी एउटै समाज हौं । साथी भयौं । उहाँको घर म्याग्दी । मेरो पर्वत । यहाँ बसाइ सरेर आइसकेपछि हामी एउटै ढुंगेपाटन पुन मगर समाजमा कनेक्ट भयौं,’ पुष्पाले उद्योग र कम्पनीको सुरआतबारे सुनाइन्, ‘हामी एउटै संस्थाको सदस्य भइसकेपछि मित्रता बढ्दै गयो । सोचाइ मिल्दै गइसकेपछि सम्बन्ध घनिष्ठ भयो । त्यसपछि बसिराख्नु भन्दा केही गरौं भन्ने सोच आयो ।’


उनीहरु दुवैका श्रीमान लाहुरे हुन् । भारतीय सैनिकमा कार्यरत छन् दुवैका श्रीमान् । ‘श्रीमान् त दुवैको कमाइमा हुनुहुन्छ । उहाँको पनि इन्डियन आर्मी । मेरो पनि,’ पुष्पाको हो मा हो मिलाउँदै मेनुले भनिन्, ‘श्रीमान्को कमाइ खाएर मोबाइल मात्रै हेरेर बस्नुभन्दा अरु पनि केही काम गर्न पाए हुन्थ्यो भनेर दिमागमा छटपटी हुन्थ्यो सधैं । के के गर्ने के गर्ने भनेर सोच्दासोच्दै केही प्रोडक्टिभ काम गरौं न भन्ने सोच आयो । उत्पादनमूलक काम ग¥यो भने हामी मात्रै होइन । हामी जस्तै अरु महिलाहरु पनि हुनुहुन्छ । उहाँहरुलाई पनि समेट्न सकिन्छ भन्ने लाग्यो र सुरु ग¥यौं ।’
कुनै काम गर्न हुटहुटी चाहिन्छ । त्योभन्दा धेरै सीप । अरु काम गर्न अरु काम गर्न ज्ञान नभए पनि मःम बनाउन सामान्य तालिमले पुग्ने विचारेर मःम उद्योग थालनी गरेको पुनले सुनाइन् । ‘सामान्य तालिम पाए सबैले सक्नुहुन्छ । सबैलाई सजिलै समेट्न सकिन्छ भन्ने सोच आयो । यति पढ्नुपर्छ भनेर पढाइ गरेको सर्टिफिकेट पनि चाहिएन,’ उनले भनिन्, ‘अहिले फेरि रोजाइ पनि कस्तो भने कि मम कि चाउमिन हुन्छ । खाजा खाँदा कि म म कि चाउमिन हुनछ । त्यसैले हामीले मम रोज्यौं । अरु दिदीबहिनीलाई पनि समेट्न सकेका छौं ।’


यसअघि ब्युटीपार्लर तालिम पनि लिएकी थिइन् मेनुले । सानै उमेरमा बिहे भएपछि श्रीमान्को साथ लागेर लाहुर पनि गएकी थिइन् । उद्यमशीलतामा जम्ने योजना पहिलेदेखि नै बनाए पनि अन्तिममा आएर मःम उद्योग नै उचित लागेको उनले सुनाइन् ।


७ कक्षा पढ्दापढ्दै बिहे गरेकी पुष्पाले भने अझैंसम्म बिट मारेकी छैनन् । ‘०५८ सालमा बिहे भएको हो । बिहे भएपछि पढ्न हुँदैन भन्ने थियो । बिहे गरेर पढेको मान्छेलाई समाजले छुट्टै दृष्टिले हेथ्र्यो । यस्तो अटेरी गरेको भन्ने थियो । त्यसैले मैले पढाइ छोडेकी थिएँ,’ उनले सुनाइन् । बिहेपछि ८ कक्षा पास गरेपछि उनको पढाइ छुट्यो । श्रीमान्को पछि लागेर उनी पनि लाहुर पुगिन् । छाडेको ११ वर्षपछि पुन उनले पढाइ चालु गरिन् ।
‘सानै उमेरमा बिहे गरेर पढाइ छुट्यो । फुपूको छोरा मामाको छोरी हक लाग्छ भन्ने हुन्छ । सानै ७ क्लास पढ्दा बिहे भयो । ८ क्लास पास गरें । अनि पढेर के हुन्छ ? के पाउँछौं भन्ने कुरा आयो ?’ उनले सुनाइन्, ‘पछि समय बित्दै जाँदा पढाइको महत्व कति रहेछ ? थाहा भयो । छोराछोरी जन्मिए । श्रीमान्सँग इन्डिया पनि गएँ । ८ क्लास पास गरेर छोडेको ११ वर्षपछि फेरि एसएलसी दिएको हो ।’


८ कक्षा पास पास गरिसकेपछि ९ नपढी एसइई (एसएलसी) दिन पाउने व्यवस्था छ । उनले व्यवस्था मैले पनि उपभोग गरिन् । नियमित क्याम्पस जान नपाए पनि घरमै स्वअध्ययन गरेर पढाइलाई निरन्तरता दिएको उनले सुनाइन् । ‘मास्टर्स दुई वर्ष हो । ६ महिना सकिन लाग्यो । एक्जाम हुँदैछ । १८ महिना संघर्ष गर्दैछु । टियुमा ब्याचलर जोइन भएकी थिएँ । घरमै बसेर एक्जाम दिन गएँ । घर धन्दा हेर्ने हुँदैछ,’ उनले भनिन् ।
अहिले मःम उद्योगमा लागेपछि समय निकाल्नै धौधौ भएको छ मेनु र पुष्पालाई । ‘यसमै व्यस्त भएका छौं । आर्थिक सपोर्ट पनि भइरहेको छ । अरु दिदी बहिनीलाई पनि समेट्न सकेका छौं । यसबाट सन्तुष्ट छौं,’ उनीहरुले भने । उनीहरुको उत्पादन पोखरा र तनहुँको खैरेनीटारक्षेत्रसम्म पुग्छ ।


मःम तयार पार्नेदेखि घरघरमा पु¥याउने काममा उनीहरु दुवैजना जुट्छन् । पहिलाको तुलनामा बिक्री दर घटेको उनीहरुले सुनाए । अहिले लगभग २, ३ सय प्लेट मम बिक्री भइरहेको छ । नेपाल सरकार घरेलु उद्यमीबाट लेखनाथ उद्योग वाणिज्य संघसँग समन्वयमा १० दिने उद्यमशीलता तालिम लिएपछि व्यवसाय गर्ने आँट पलाएको उनीहरुले सुनाए । काम सुरु गर्न चुनौतीहरु भए पनि आँटेपछि पूरा गर्न सकिने उनीहरुको तर्क छ ।


अहिले दिदी बहिनी मममा ६ जना महिलाले रोजगारी पाइरहेका छन् । घरधन्दा सकेर बिहान १० बजेदेखि काममा जुट्को उनीहरु बेलुका ५ बजेसम्म मःम उद्योगमै व्यस्त हुन्छन् । कहिले त ८, ९ बजेसम्म पनि मःम घरघरमै पु¥याइरहेका हुन्छन् ।

श्याम रानामगर

मगर पोखरामा क्रियाशील पत्रकार हुन्

तपाईको प्रतिक्रिया