पोखरामा नेकपा एसको भेला

एक हप्तामा सरकारमा जान्छौंः माधव नेपाल

‘एमालेको नाम लिने बित्तिकै जनताले नाक खुम्च्याउँछन्’

राकेश शर्मा २०७८ असोज ३ गते १७:४७

पोखरा, ३ असोज


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु एक हप्ताभित्र सरकारमा सहभागी हुने बताएका छन् । आइतबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केन्द्रसँगै लुम्बिनी प्रदेश सरकारमा पनि सहभागी हुने तयारी भइरहेको बताएका हुन् ।


नेपालले भने, ‘पहिले आसेपासेलाई लगेर नियुक्ति गरियो । क्षमता नभएका, अनुचित काम गर्नेलाई पनि पठाइएको थियो । आफूसँग असहमत भएकाहरुको मानमर्दन गर्न पठाइएको थियो । ती सबैबाट मुक्त भएर हामी समुचित ढंगले व्यवस्थापन गर्दैछौं ।’

Advertisement


प्रदेश १ र बागमतीमा सरकार परिवर्तनको तयारी गरिरहेको नेपालले सुनाए । उनले भने, ‘१ र ३ नम्बर प्रदेशमा पनि केपी ओलीका प्युसोहरुको सरकार छ । अब त्यहाँ एक हप्ताभित्र सरकार हटाएर हामी सरकारमा जान्छौं ।’ गण्डकी प्रदेशमा भने ‘हिजैबाट’ आफूहरुलाई भेदभाव गरिएको उनले बताए । उनले भने, ‘गण्डकी प्रदेशमा हिजो हाम्रा पक्षका साथीहरुलाई जुन भेदभाव गरियो, अन्याय गरियो, टिकटबाट वञ्चित गरियो । हामीलाई उठ्नै दिइएन, पीडित बनाइयो । यहाँ पीडितहरुको एकता भएको छ ।’


नेकपा एमालेका हवीगत किन यस्तो भयो ? देशको हवीगत किन यस्तो भयो सबैले पहिल्याउने बेला आएको उनले कार्यकतामाझ बताए । संविधानमाथि धावा बोलेको भन्दै नेपालले नेकपा एमालेको नाम लिने बित्तिकै जनताले नाक, मुख खुम्च्याउने गरेको बताए । सारा जनताको नजरमा एमाले तल खसेको गिरेको उनले सुनाए ।

Advertisement


प्रतिनिधिसभाको विघटन प्रधामन्त्रीको पद खोसिन्छ कि ? बहुमत गुम्छ कि, मलाई हटाउँछन् कि भन्ने ठानेर गरिएको नेपालले बताए । कुनै एउटा व्यक्तिले मनपरी ढंगले प्रतिनिधिसभा विघटन गर्न नपाउने उनले बताए ।


आफ्नो आदेश नमान्दा कत्लेआम गर्न नपाइने उनले सुनाए । नेपालले प्रतिनिधिसभा विघटन हुनु भनेको सबै संसदको कत्लेआम हत्या जस्तै भएको बताए । जनताको अभिमतको हत्या भएको पनि उनले बताए । सर्वोच्च अदालतको पूर्णपाठले शासन सत्तमा बस्नेले संविधानको उल्लंघन गरेर शासन गर्ने छुट कोही कसैलाई नभएको प्रष्ट लेखिएको उने बताए ।

राकेश शर्मा

शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया