स्वास्थ्य

माईनस डिग्री तापक्रममा ‘बुस्टर’ खोप लगाउन सुरु

सुन्दरकुमार थकाली २०७८ माघ ८ गते १२:०७
थासाङको लेते प्राथमिक स्वास्थ्य केन्द्रमा बुस्टर खोप लगाईदै स्वास्थ्यकर्मी । तस्विर ःसिताराम कार्की

जोमसोम—

हिमाली जिल्ला मुस्ताङमा शनिबार देखि ‘बुस्टर खोप सुरु गरिएको छ । कोभिसिल्ड र भेरोसिल्डको दोश्रो मात्रा लगाएर ६ महिना पुरा गरेका नागरिकहरुका लागि कोरोना बिरुद्धको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउन अतिरिक्त खोपको रुपमा ‘बुस्टर’ खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।
६ महिना अघि कोरोना बिरुद्धको खोप लगाईसकेको र उक्त खोपको रोग प्रतिरोधात्मक क्षमता क्रमशः कम हँुदै जाने हुँदा सरकारले अतिरिक्त खोपको रुपमा ‘बुस्टर’ खोप अभियानलाई तिब्रता दिएको हो । यसका लागि कोभिसिल्ड २ हजार र भेरोसिल्ड ७ सय डोज स्वास्थ्य कार्यालयलाई उपलब्ध भएको स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।उनका अनुसार यसअघि १२ वर्षदेखि १८ वर्ष मुनिका बालवालिकालाई मोर्डना खोप लगाईएकोमा दोश्रो डोजका लागि ७ सय डोज मोर्डना खोप जिल्लामा आएको हो ।स्वास्थ्य प्रमुख भण्डारीले थासाङ ,घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा माघ १५ गतेसम्म कोरोना बिरुद्धको खोप लगाई सक्ने कार्यक्रम रहेको जानकारी दिए ।
मुस्ताङका अधिकांश नागरिकले कोभिसिल्ड,भेरोसिल्ड र जोन्सन एण्ड जोन्सन खोप लगाईसकेका छन् ।तर, विभिन्न कारणवश यसअघि कोरोना बिरुद्धको खोप लगाउन छुटेका सबै नागरिकलाई खोपको पहँुचमा जोडिने भएको छ ।मुस्ताङमा थासाङ गाउँपालिकाबाट बुस्टर खोप अभियान सुरु गरिएको हो ।

थासाङका स्वास्थ्य सयोजक सिताराम कार्कीले थासाङ—३ को लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट बुस्टर खोप लगाउन सुरु गरिएको बताए । थासाङको लेतेबाट सुरु गरिएको बुस्टर खोप अभियान क्रमशः अन्य वडाहरुमा पालैपालो लगाईने उनले बताए । मुस्ताङको माईनस १५ डिग्री तापक्रममा समेत स्थानीय नागरिक बुस्टर खोप लगाउन उत्साहजनक रुपमा सहभागी भएको उनले उल्लेख गरे । उनका अनुसार गत पुस ६ गते मोर्डना खोप लगाएका वालवालिकालाई बिहिबार र शुक्रबार मोर्डनाको दोश्रो डोज खोप लगाईएको जानकारी दिए । यसअघि खोप लगाउन छुटेकालाई पनि बुस्टर खोप अभियानसंगै खोपको पहँुचमा जोडिने जनाए ।
जिल्लाका तीन स्थानीय तहका १२ वर्षदेखि १८ वर्षमुनिका ७ सय ३७ जना बालवालिकाले मोर्डनाको पहिलो डोज खोप लगाएका थिए ।तर, उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बालवालिकाले भने मार्डना खोप लगाउने मौका पाएनन् ।

Advertisement

हिउँदयामको अत्यधिक चिसो र हिमपातका कारण स्थानीय नागरिकसंगै त्यहाँका बालवालिका बेसी झरेकाले त्यहाँ मोर्डना खोप अभियान प्रभावित बनेको हो । त्यहा गर्मीयाम सुरु भई स्थानीय नागरिक गाउँ फर्किपछि खोप लगाईने स्वास्थ्य कार्यालयले जनाएको छ ।यस्तै, मुस्ताङको तीन स्थानीय तहमा कोरोना बिरुद्धको अतिरिक्त खोप बुस्टर लगाईने कार्यक्रम रहेपनि उपल्लो मुस्ताङको दुई स्थानीय तहमा बुस्टर खोप लगाउने कार्यक्रम रहेको छैन ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया