मानवीय चरित्र र युद्ध

डा सञ्जय कोइराला २०७८ फागुन १८ गते १८:३४

डा सञ्जय कोइराला

मानव जाति र मानवीय चरित्रका बारेमा विभिन्न प्रसिद्ध दार्शनिकहरु ले आ-आफ्नो देखाई र बुझाइ अनुरुप इतिहासमा ब्याख्या गरेको हामीले पाउछौ | थोमस हब्सले मानव जातिलाइ क्रुर, मतलबी, झगडालु, इर्स्यालु जस्ता उपमा दिदै मानव सधै युद्ध गर्न लालायित हुन्छ भनि विश्लेषण गरेका छन् भने जोन लकको विचार त्यसको ठिक बिपरित छ | उनले मानव जाति लाइ शान्ति प्रेमी, दयावान, तर्कशीलका रुपमा ब्याख्या गरेका छन् |

जिन ज्याक्स रुसो ले लक को जस्तै आँखाबाट मानव जातिलाई विश्लेषण गर्दै उसलाई शान्त आज्ञाकारी जनावर (Noble Savage) को रुपमा देखेका छन् | दार्शनिकहरुको काम नै यो जीवन र जगतलाइ हेर्ने दृष्टिकोण निर्माण गर्नु हो, जसका आधारमा समाजमा शान्ति र न्यायको स्थापना गर्न मानव जातिलाइ सधैं प्रेरणा मिलिरहोस् |

Advertisement

मानव चरित्र सजिलै अध्ययन गरेर बुझ्न सकिने र सोहि अनुरुप उसलाई व्यवहारमा समन्वय गर्न सकिने हुदो हो त यो जगतमा यति बिध्न थरी सिद्दान्तहरु प्रतिपादन हुने थिएनन् | सबैले आ-आफ्नै ढंगले यो जगतलाई हेर्ने छुट छ र सोहि अनुरुप नै विभिन्न कोणहरु बाट मानव चरित्रको विश्लेषण भएका छन् | को कति सत्यको नजिक छ भनि मापन गर्ने भनेको ऐतिहासिक र बर्तमान घटनाक्रमहरुको सुक्ष्म विश्लेषणबाट हो तर सो को विश्लेषण पनि सबैले आ-आफ्नो ढंगले गर्ने भएको हुदा सहि या गलत भनेर पक्षपात गर्नु दर्शनको नै अपमान गर्नु सावित हुन्छ भन्ने मेरो मान्यता रहेको छ | दर्शन बुझाई हो र यसलाई जुनसुकै ढंगबाट बुझ्न हामी सबैलाइ उत्तिकै छुट छ र यो बुझाई बाट आफ्नो जीवनमा कस्तो परिवर्तन ल्याउने भन्ने पनि सबैको आ-आफ्नै नियतिमा निर्भर रहन्छ |

सबैले आ-आफ्नै ढंगबाट ब्याख्या विश्लेषण गर्ने हो भने यत्तिका धेरै टाउको किन दुखाउनु पर्यो त ? जुन सुकै घटनाहरुको पनि आफ्नो आफ्नो इच्छा अनुसार ब्याख्या गर्दै अघि बढे भै गो त भन्ने प्रश्न उठ्न सक्छ र यो स्वाभाविक पनि हो | हो मानिसलाई आ आफ्नो ढंगले आफ्नो जीवन जिउने पूर्ण छुट छ तर आफ्नो अस्तित्व रक्षाको लागि जुन सामाजिक सम्झौता ( Social Contract ) मानव जातिले गरेका छन् त्यसका लागि केहि बन्धनहरु तोडिन हुदैनन् जसले गर्दा सम्पूर्ण मानव जातिको अस्तित्व नै संकटमा परोस् |

Advertisement

एकको कारण अर्कोको अस्तित्व संकटमा पर्ने सम्भावना भएमा मानव या अन्य जनावर, जो सुकै पनि जुन सुकै बन्धन पनि तोडेर अघि बढ्न सक्ने कुरा सास्वत सत्य हो | अतः सबै गतिविधिहरुका सिमा हुन्छन, नियम हुन्छन जसको परिधि भित्र रहेर सबैलाइ आ-आफ्नो स्वतन्त्रताको उपभोग गर्न छुट रहेको छ |

सन् १९१८ मा पहिलो विश्वयुद्ध सकिदै गर्दा जुन तरिकाले सबै घटनाहरुको जिम्मेवारी लिन लगाएर जर्मनीलाइ हिनताबोध गर्न बाध्य परियो, सो को प्रतिशोध स्वरूप सन् १९३९ मा दोस्रो विश्वयुद्धको थालनी भयो | राष्ट्रियताको हवाला दिएर जनताहरुलाई युद्धमा होमिन अग्रसर गराई विश्वविजेता बन्ने महत्वाकांक्षा लिएर युद्ध गरेका हिटलरले केहि समय विजयको स्वाद लिए पनि अन्तमा स्वयमलाइ यो संसारबाट बिलय गराउनु पर्ने अवस्थाको सिर्जना भयो | जति सुकै शक्तिवान, जति सुकै प्रतापि शासक भएपनि नियतिको अघि कसैको केहि चल्दैन भन्ने सत्य यी र यस्तै अनेकन घटनाहरुले बारम्बार दिई नै रहेका छन् |

तैपनि यस्तै घटनाहरु दोहोरिन छाडेका भने छैनन् र छाड्ने पनि छैनन्, कारण उही हो, आ-आफ्नो बुझाई | हिटलरले सहि गरेको हो भन्नेहरुको पनि कमि जो हुदैन यो संसारमा | घमण्ड र आवेग मानवको आधारभूत वृत्ति मध्यमा नै पर्छ जसको कारण उसले भविष्यको बारेमा क्षणभरलाइ सोच्न सक्दैन र कुनै अप्रिय निर्णय लिन पनि पछि पर्दैन जसका कारण उसले आफ्नै भविष्य पनि अन्धकार बनाउन सक्छ |

शीतयुद्ध उत्कर्षमा चलिरहदै गर्दा सन् १९९१ मा आन्तरिक कमजोरीका कारण रुसले आत्मसमर्पण गरेर शोभियत संघ टुक्रिए पश्चात विश्वको एकमात्र सर्वशक्तिमान राज्यको रुपमा आफुलाई उभ्याउदै संयुक्त राज्य अमेरिकाले सम्पूर्ण विश्वमा आफ्नो प्रभुत्व जमाउने कोशिसमा लागिरहेको सत्य कसैबाट लुकेको छैन | शीतयुद्धमा पुन: पूर्ण युद्ध हुने सम्भावनाले आक्रान्त भएको विश्वलाई शोभियत संघको बिगठनले कुनै बेला शान्ति छाउने आभास दिएको थियो | सोहि अनुरुप शीतयुद्धमा बनाइएका दुवै पक्षका सैन्य गठबन्धनहरु (Warsaw Pact, NATO) हरु पनि बिगठन हुनु आवश्यक थियो |

रुस केन्द्रित Warsaw Pact त बिगठन भयो तर NATO ले आफ्नो बिस्तार जारि नै राख्यो र अझै आक्रामक रुपमा यूरोपमा फैलाउदै लागेको जगजाहेर नै छ | गठबन्धन बनाउन नपाउने हैन, तर शान्तिको लागि बनाउने गठबन्धनले अरुलाई पनि नकारात्मक सन्देश दिने गरि कार्यहरु गर्नु किमार्थ उचित हैन | शक्ति भनेको आफु भन्दा कम्जोरलाइ डर देखाउने, उसको अस्तित्वनै मेटाउने कार्य गर्नु अवश्य पनि हैन | शक्ति आफैमा मात्र सिंचित गरि अरुलाई सधै होचाउन खोज्नु राम्रो हैन |

पालो सबैको आउछ, ढिलो चाडोको कुरा हो र यो सबैले बुझ्नु जरुरि छ | आज म शक्तिशाली छु भनि अरुलाई अपमान गर्दा भोलि उसको शक्ति पनि बढेर जान सक्छ र आफुले पनि त्यहि नियति भोग्न पर्ने अवस्था नआउला भन्न सकिन्न | यो सबै शक्ति राष्ट्र हरुले बुझ्नु पर्ने कुरा हो | शक्ति संचय गर्ने क्रममा भियतनाम, इराक, अफगानिस्तान लगाएत अन्य थुप्रै मुलुकहरुमा अमेरिकाले गरेका र भोगेको नियतिको बारेमा पनि सबै जानकार हुनु नै पर्छ |

अन्तरास्ट्रिय राजनीतिमा जुनसुकै राज्य पनि एक खेलाडी (actor) हो र उसले सर्वप्रथम आफ्नै हित हुने गरि पररास्ट्र सम्बन्ध स्थापित गर्न चाहन्छ | यस को उदाहरण बिश्व सामु कम्युनिस्ट मुलुकहरुको बिरुद्धमा अमेरिकाको रणनीति बाट प्रस्ट नै हुनु पर्छ | लडाई कुनै बादको बिरुद्ध होस् या शक्ति प्रदर्शन हेतु होस्, हरेक घटनाहरुमा कुनै न कुनै निहित स्वार्थ अवश्य नै लुकेको हुन्छ | दुवै पक्षको हितमा हुने गरि सम्झौता प्राय: न्यून पाइन्छ | यो एक प्रबृत्ति नै हो, मानवीय आधारभूत प्रवृति | यो प्रवृति मानव जातिको लागि ठुलो संकट बन्ने निश्चित छ |

डा सञ्जय कोइराला

नाक कान घाँटी रोग विशेषज्ञ डा कोइराला राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन् । 

तपाईको प्रतिक्रिया