पोखरामा खुल्यो टाइटनिक सेक्युरिटी

समाधान संवाददाता २०७८ फागुन २६ गते २२:४४

पोखरा ।
टाइटनिक सेक्युरिटी म्यानेज्मेण्ट कम्पनी प्रालिले पोखरा ९ पृथ्वीचोकबाट औपाचारिक सेवा सुरु गरेको छ । सुरक्षाका लागि दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित सुरु भएको कार्यालयको गण्डकी ट्राफिक प्रहरी कार्यालय गण्डकीका प्रमुख गोबिन्द अधिकारीले उद्घाटन गरेका हुन् ।


सात महिनाअघि सफ्ट ओपनिङ गरी सेवा सुरु गरेको कम्पनीले बिहीबार विधिवत कार्यालय उद्घाटन गरेको कम्पनीका अध्यक्ष शुक्रराज पोखरेलले जानकारी दिए । उक्त अवसरमा कम्पनीले ट्राफिक सचेतना कार्यक्रम पनि गरेको थियो । सेक्युरिटी तालिम लिइरहेका २५ जना प्रशिक्षार्थीलाई ट्राफिक प्रहरी नायव निरिक्षक शिवप्रकाश पाठकले ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिएका थिए । त्यसलगत्तै प्रशिक्षार्थीहरुले पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, चिप्लेढुंगा, महेन्द्रपुल लगायत क्षेत्रमा पुगी सवारीचालक तथा पैदलयात्रीलाई ट्राफिक नियमका बारेमा सचेत गराएका थिए ।


कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय गण्डकीका प्रमुख अधिकारीले विदेशमा सिकेको सीपलाई नेपालमा नै ब्यवहारमा लागू गरी विभिन्न कम्पनी तथा अफिसहरुको सुरक्षा प्रदान गर्ने उद्देश्य राखेर सेक्युरिटी कम्पनी सञ्चालनमा ल्याइएकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा दक्ष तालिम प्राप्त सेक्युरेटी गार्डहरु उत्पादन गरी अत्याधुनिक तवरले सुरक्षा दिने तर्फ सञ्चालकले ध्यान दिनुपर्नेमा समेत जोड दिए । कास्की ट्राफिक कार्यालय कास्कीका प्रमुख अमृतबहादुर बस्नेतले आधुनिक जमानासंगै सेक्युरिटी गार्ड कम्पनीहरुले समेत आधुनिक तवरले सुरक्षा दिनुपर्नेमा जोड दिए । कार्यक्रममा सुरक्षा व्यवसायी संघ गण्डकीका अध्यक्ष चन्द्रबहादुर, सचिव विष्णु तिवारी लगायतले युवाहरुलाई स्वरोजगार बनाउँन सेक्युरिटी कम्पनीहरुले ठूलो भुमिका खेलेको बताए ।
कम्पनीका अध्यक्ष पोखरेलले सेक्युरिटी गार्डले अफ्ठ्यारो परिस्थितीको सामना गर्नुपर्ने भएकाले यो पेशा अति संवेदनशील भएको वताए । उनले आफ्नै मुलुकमा केही गर्नुपर्छ भन्ने उद्देश्य राखेर पोखरामा संचालनमा ल्याएको कम्पनीको छिट्टै नै लुम्बिनी र बागमती प्रदेशमा शाखा कार्यालय खोल्ने योजना रहेको सुनाए । कम्पनीले आगामी दिनमा वेटर, हाउसकिपिङ, वारिष्टा र फेसिलीटी म्यानेजमेन्टको निशुल्क कक्षा सञ्चालन गर्ने योजना रहेको पनि उनले जानकारी दिए । विभिन्न संघ संस्थासँग मिलेर सामाजिक कार्य, प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण कार्यक्रम गर्ने योजना रहेको उनको भनाई थियो ।

Advertisement

तपाईको प्रतिक्रिया