मुस्ताङमा भारतीय पर्यटकको मृत्यु

समाधान संवाददाता २०७९ वैशाख ४ गते १२:३०

मुस्ताङ

हिमाली जिल्ला मुस्ताङमा लेंक लागेर एक भारतीय पर्यटकको मृत्यु भएको छ ।भारतको देश तिलङ्गाना राष्ट्र मराहपुराम रापर्थी नगर घर भई मुक्तिनाथ दर्शन गर्न आएका ६० वर्षीय मुठैया यामसानीको शनिबार मृत्यु भएको हो ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—१ को मुक्तिनाथ मन्दिरको उकालो चढ्ने क्रममा बेहोस भई ढलेपछि अस्पताल लैजादै गर्दा शनिबार दिउँसो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ दर्शन गर्नका लागि शनिबार पोखरा—जोमसोम हवाई मार्ग हुँदै ६० जनाको भारतीय पर्यटकको टोली जोमसोम आईपुगेको थियो । उनीहरु समिट एयरको जहाज चढेर मुक्तिनाथ दर्शनका लागि बिहान जोमसोम आईपुगेका थिए ।सो समूहमा लेंक लागेर मृत्यु भएका मुठैया यामसानीको श्रीमान श्रीमती पनि थिए ।
हवाई मार्गबाट जोमसोम आएका भारतीय पर्यटकको सो टोली सोही दिन जोमसोमबाट बस चढेर मुक्तिनाथ पुगेका थिए । दिउँसो १२ बजेर ३० मिनेट जाँदा पुराङ रानीपौवा बजारको पहिलो गेटबाट माथि उकालो उक्लिदै गर्दा भारतीय पर्यटक यामसानी अचानक बेहोस भई ढलेका थिए ।
त्यसपछि उनलाई जोमसोम अस्पताल पू¥याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी राजकुमार तामाङले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले घटना बारे आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।
मुस्ताङमा बर्सेनि ६० हजार विदेशी पर्यटक आउने गरेको र तिनमा अधिकाँश भारतीय पर्यटक मुक्तिनाथ दर्शनका लागि जाने गर्छन् । गर्मी स्थानबाट हिमाली जिल्लाको उच्च भूगोलमा आईपुग्दा भारतीय पर्यटकलाई अल्टिच्युड हुने सम्भावना हुन्छ । विगत वर्षहरुमा पनि हाईअल्टिच्युडका कारण भारतीय पर्यटकहरुको मृत्यु हुने गरेको पाईएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया