गठबन्धनमा भागबन्डा: पोखरा महानगर समाजवादीलाई

समाधान संवाददाता २०७९ वैशाख ७ गते १०:२६

पोखरा l
सत्ता गठबन्धनबाट पोखरा महानगर प्रमुखको टिकट नेकपा एकीकृत समाजवादी (एस)ले पाउने पक्कापक्की भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले एकीकृत समाजवादीलाई मेयर दिने निर्णय गरेको हो ।
गठबन्धनको तर्फबाट औपचारिक निर्णय सार्वजनिक हुन बाँकी छ । आसन्न स्थानीय चुनावमा पोखराको मेयरमा कांग्रेस र एकीकृत समाजवादी दुवैले दाबी गर्दा सहमति बन्न सकेको थिएन । मंगलबार भने गठबन्धनका केन्द्रीय नेताहरुले यस्तो सहमति जुटाएका हुन् ।


देशका ६ महानगरमध्ये नेपाली कांग्रेसले ३ महानगर पाउने गरी भागबण्डा भएको छ । काठमाडौं, ललितपुर र विराटनगरको मेयर कांग्रेसको भागमा पुगेको छ । माओवादी केन्द्रले भरतपुर र जसपाले वीरगञ्ज महानगरको नेतृत्व पाउने सहमति बनेको हो ।

कांग्रेसका लागि मृत्युपत्रमा हस्ताक्षर गरेजस्तो हो । ठूलो मत सानो पार्टीमा लैजाँदा पोखिन सक्छ ।
शुक्रराज शर्मा
सभापति, कांग्रेस गण्डकी

Advertisement


पोखराको उपमेयर भने कांग्रेसले पाउने पक्का भएको सत्ता गठबन्धनका एक नेताले बताए । कांग्रेसले उपमेयरको उम्मेदवार तय गरिसकेको छैन । कांग्रेसबाट उपमेयरका लागि माया बराल कार्की क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री, रंगिला आचार्य, आनन्दी राणा कार्की, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, शिव केसी, गोविन्द नेपाली लगायत आकांक्षी छन् ।
यी आकांक्षीले महानगर कमिटीमा उपमेयरका लागि नाम टिपाएका छन् । मेयर नेकपा एसले पाउने भएपछि उपमेयर कांग्रेसले पाउने करिब पक्का भएको छ । यसो हुँदा आकांक्षी पनि फरक हुन सक्ने स्रोत बताउँछ ।


सत्ता गठबन्धनका सबैजसो दलले मुल नेतृत्व दाबी गर्दा पोखरा महानगरमा भागबण्डा टुंगिएको थिएन । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार कांग्रेसको गण्डकी प्रदेश र कास्कीका नेताहरु शुक्रराज शर्मा, किशोरदत्त बराल र यज्ञबहादुर थापालाई काठमाडौं बोलाएर गठबन्धन गर्नु रहर नभएर बाध्यता भएको सुनाएका थिए । देउवाले नेताहरुलाई गठबन्धनको निर्णय मान्न र गठबन्धनका उम्मेदवारहरलाई जिताएर पठाउन निर्देशन दिएका थिए ।

Advertisement


कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माले भने कांग्रेसको जनधार विपरीत पार्टीले निर्णय गरेको टिप्पणी गरे । ‘पार्टी सभापतिलाई मंगलबार भेटेर हामीले कास्कीको जनधारका बारेमा स्पष्ट बताएका थियौं । हाम्रो कुरा सुने जस्तो पनि गर्नुभएको थियो । तर, फर्किदै गर्दा समाजवादीले पाएको समाचार माध्यममा सुन्न पाइयो । यो जनमत विपरीत छ,’ सभापति शर्माले भने ।
एकीकृत समाजवादी कास्की अध्यक्ष धनराज आचार्यले समाजवादीले पोखरामा आफ्नो भाग पाएको बताए । ‘पोखरा महानगर हाम्रो भागमा परेको खबर सुन्न पाएँ । यसले खुसी मिलेको छ । यसलाई हामीले गठबन्धनमा हाम्रो सम्मान भएको रुपमा लिएका छौं,’ उनले भने ।


केन्द्रले पोखरा महानगरको नेतृत्व एकीकृत समाजवादीलाई दिएपछि कांग्रेसका नेताहरु भने रुष्ट देखिन्छन् । सोमबारमात्र कास्की कांग्रेस सचिवद्वय भानुभक्त ढकाल र देवेन्द्र रानाभाटले एकीकृत समाजवादीसँग चुनावी गठबन्धन नगर्ने बरु छुट्टाछुट्टै मित्रवत् प्रतिस्पर्धा गर्ने भन्दै विज्ञप्ति निकालेका थिए । सचिवद्वयले एकीकृत समाजवादीको अस्वभाविक दावीका कारणले निष्कर्ष निस्कन नसकेको जिकिर गरेका थिए ।


कांग्रेस गण्डकी सभापति शर्मा पोखरामा गठबन्धनबाट कांग्रेस बाहेकका दलले टिकट पाउनु मृत्यु पत्रमा हस्ताक्षर गरे जस्तो भएको टिप्पणी गरे । ‘कांग्रेसका लागि मृत्युपत्रमा हस्ताक्षर गरेजस्तो हो । यसले गठबन्धनको हार हुन्छ । ठूलो मत सानो पार्टीमा लैजाँदा पोखिन सक्छ,’ शर्माले भने । अब गठबन्धन कसरी अगाडि बढ्छ भन्ने प्रश्नमा शर्माले बोल्न चाहेनन् ।
गठबन्धनका उम्मेदवारको एमाले उम्मेदवारसँग मुख्य प्रतिश्पर्धा हुनेछ । नेकपा एमाले पोखरा नगर कमिटीले शुक्रबार मेयरमा १२ र उपमेयरमा ११ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ । मेयरका उम्मेदवारको अन्तिम टुंगो भने एमाले केन्द्रीय कमिटीले लगाउनेछ । नगर कमिटीले जिल्ला र प्रदेश कमिटीमा सिफारिस गरेका नामबाट पार्टी केन्द्रले उम्मेदवार टुंगो लगाउने हो ।


एमालेबाट मेयरका लागि केन्द्रीय सदस्यहरु भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरु पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारीको नामा सिफारिस भएको छ । उपमेयरमा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी, जीवनप्रसाद आचार्य, बिनुकुमारी गुरुङ, बलराम गायक र सुष्मा पौडेलको नाम सिफारिस भएको छ ।

सत्ता गठबन्धनबाट मेयर को ?
एमालेले जितेका महानगरमा बागबन्डा गर्ने केन्द्रीय नीति अनुरुप नेकपा एसले पोखरा महानगरको मेयरको उम्मेदवार पाएको छ । पाँच दलीय गठबन्धनका साझा उम्मेदवारका रुपमा समाजवादीले अघि सार्ने पात्रबारे छलफल जारी छ ।
पोखराको मेयरमा नेकपा एकीकृत समाजवादीबाट श्रीनाथ बराल, धनराज आचार्य, विजयबाबु बनवासी, मदनकाजी श्रेष्ठ, दामोदर शर्मा, प्रेमबहादुर थापा, दिलु पन्त लगायत आकांक्षी छन् । नेकपा एसकास्की अध्यक्ष धनराज आचार्यले भने महानगर कमिटीले आकांक्षीको नामावली पठाए पनि प्रदेश र जिल्ला कमिटीले नाम लिस्ट पठाउन बाँकी रहेको सुनाए । ‘शनिबारको नाम लिस्ट महानगर कमिटीले पठाएको हो । प्रदेश र जिल्लाबाट बुधाबार पठाउने तयारी छ,’ उनले भने । एकीकृत समाजवादीका एक नेताका अनुसार नाम जति जनाको पठाए पनि मेयरका लागि श्रीनाथ र धनराजको सम्भावना बढी भएको बताए ।

तपाईको प्रतिक्रिया