दलबाटै देशलाई खतरा !

राजनीतिक दलका नेताले राजनीतिलाई पेशा बनाएर व्यक्तिगत सम्पत्ति आर्जन गर्ने व्यावसाय बनाउँदै गरेको देखिन्छ

समाधान संवाददाता २०७९ वैशाख १३ गते १२:२५

कोमलनाथ बराल
यही वैशाख ३० गते पालिका स्तरीय निर्वाचन हुँदै छ । निर्वाचन आयोगले निर्वाचनको तयारीसम्बन्धी सम्पूर्ण कामकार्वाही लगभग पूरा हुँदै गरेको जानकारी गराइरहेको छ । राजनीतिक दलहरु पनि आ–आफ्नो तयारीमा जुटिरहेका छन् । प्राणी जगतको उत्पत्ति र विकासको निमित्त हावापानी, माटो, ऊर्जा र प्रकाश आदि पञ्च भौतिक तत्वको अनिवार्य आवश्यकता परे जस्तै निर्वाचनका निमित्त पनि पञ्च तत्वको जरुरत पर्दछ । ती हुन–जनता, राजनीतिक दल, सरकार, निर्वाचन आयोग र सुरक्षा निकाय ।

यी सबै तत्वको समुचित समायोजन भएमात्र निर्वाचन स्वच्छ, स्वतन्त्र, निस्पक्ष एवं धाँधलीरहित हुन्छ भन्ने विषयमा सायदै दुई मत होला । सिद्धान्ततः निर्वाचन निष्पक्ष एवं धाँधलीरहित होस् र हुनुपर्छ भन्ने अभिव्यक्ति सबैले व्यक्त गरिरहेकै हुन्छन् । उम्मेदवार तथा राजनीतिक दल कसैले पनि धाँधली गरेर चुनाव जित्ने हो भनेर घोषणा गर्दैनन् । तर उनीहरुको व्यवहार कस्तो प्रकारले गइरहेको छ, बुझ्ने विषय त्यहाँ निर हो । हाम्रो समाजमा भन्ने एक थोक र गर्ने अर्को थोकको प्रवृति हावी छ । उसो त निर्वाचन आयोगले आचार संहिताको लामो फेहरिस्त प्रकाशित गरेको पनि छ तर त्यसलाई सम्मान गर्ने तौरतरिका कमै मात्रामा देखिँदै आएको छ । मुलतः आचारसंहिता पालना गर्नुपर्ने प्रमुख तत्व राजनीतिक दलहरु नै हुन अपितु उनीहरुबाटै बलमिच्याईका बार्दातहरु घट्ने घटाइने गरेको विगतका अनुभवले देखाएकै छन् ।

भनिरहन परेन कि निर्वाचन लोकतन्त्रको अनिवार्य शर्त हो । संविधानमै व्यवस्थित गरिए बमोजिम आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष मानिएको छ । जनता सार्वभौम शक्ति सम्पन्न हुन्छन् भन्ने प्रावधान संविधानमा किटान गरिएको छ । अतः उनीहरुले आपले रोजेको दल र रुचाएको उम्मेदवारलाई निर्धक्क एवम् व्यवधानरहित ढंगले चयन गर्न पाउनुपर्छ । यो व्यवस्था संविधानमा सुनिश्चित गरिएको छ । यसमा समस्या छैन । तर कुनै उम्मेदवारलाई पनि मतदान गर्न चाहन्न अर्थात् भन्ने अधिकारबाट भने नेपाली जनता वञ्चित छन् । यस्तो व्यवस्था नहुनु त्रुटिपूर्ण छ । सार्वभौम जनताले यस्तो अधिकार पाउनुपर्ने हो, यो बहसको विषय छँदै छ ।

Advertisement

मान्नै पर्छ कि हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र कलिलै छ । यो बल्ल दोस्रो आम निर्वाचनमा प्रवेश गरेको छ । यो वर्षभित्र सबै तहका निर्वाचन सम्पन्न गरिसक्ने सरकारको लक्ष्य देखिन्छ । त्यसमा शंका गरिरहन नपर्ला । तर आशंकाको विषय के हो भने धमिलो पानीमा माछा मार्ने भने जस्तै कलिलो लोकतान्त्रिक गणतन्त्रमाथि हमला गर्ने प्रवृत्ति पनि जल्दोबल्दो ढंगले हाबी हुँदै गएको महसुस हुन थालेको छ । यसलाई कसरी विश्लेषण गरौं भने राजनैतिक दलहरु जसरी पनि चुनाव जित्नैपर्ने र जो जे जस्तो भए पनि चुनाव जित्नेलाई उम्मेदवार बनाउने मनोदशा तिर दौडिंदै गरेको अनुभूति भइरहेको छ । त्यसैगरी दलहरु मनी, मसल, माफिया र मिडिया आदि चार एमतिर ढल्कदै र तिनको दुरुपयोग गर्नेतिर लम्कदै आफ्नो वैचारिक धरातलबाट स्खलित हुँदै गएको प्रतीत हुन थालेको छ ।

परिणाम स्वरुप जलमाफिया, जग्गामाफिया, शैक्षिक माफिया तथा नवधनाढ्य वर्ग एवं दलाल पुँजीपति वर्ग राजनैतिक दलको प्रतिनिधित्व गर्ने नाममा सत्तामा पुग्दा लोकतन्त्र कसरी सुरक्षित हुन सक्ला ग्यारेन्टी छ ? उनीहरुको स्वार्थ अनुरुप लोकतान्त्रिक गणतन्त्रलाई नष्ट भ्रष्ट नगर्लान् भन्ने के स्वार्थ नै सर्वोपरि वर्गीय स्वार्थ हो । दलाल पुँजीपति वर्ग नीति निर्माण तहमा पुगेपछि श्रमजीवी वर्गको हितमा किन नीति निर्माण गर्छ र ? यसरी इमान्दार तथा आस्थाप्रति निष्ठावान कर्मकर्ता एवं जनताले रगत पसिना बगाएर ल्याएको लोकतान्त्रिक गणतन्त्र आजीवन लुट्दै खाँदै आएको वर्गका हातमा सुम्पने हो भने लोकतन्त्रको के हालत हुने हो ? चिन्ताको विषय यहिँनेर छ । संकटका बेला लुकीलुकी कमाउ धन्दामा लाग्ने र कुम्ल्याउने मौका पाए सत्ता हत्याउन टाउको ठड्याउने प्रवृत्तिले नै लोकतन्त्रमा विकृति छिर्ने हो । यसप्रति क्रान्तिकारी जनता सचेत हुन जरुरी छ ।

Advertisement

सोच्नुपर्ने विषय यो पनि छ कि लोकतान्त्रिक गणतन्त्रका निमित्त जीवन उत्सर्ग गर्ने सहिद र वेपत्ता योद्धा उपेक्षित हुँदै जाने, जेलनेल, यातना खेप्नेहरु किनारा लाग्दै जाने अनि मौका छोपुवाहरु सत्तामा हाबी हुँदै जाने हो भने लोकतन्त्रको अवसान निश्चित छ । यसप्रति राजनीतिक दलहरु विशेष जिम्मेबार हुन जरुरी छ । अहिलेको चुनावलाई प्रतिगमन र अग्रगमन पन्थी बीचको लडाईका रुपमा पनि हेरिएको छ । राजनीतिक दलहरु पाँच दलीय र सात दलीय गठबन्धनमा उभिएका छन् । निश्चय नै आजको आवश्यकता लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै यथास्थितिवादी समाजलाई अग्रगामी समाजमा रुपान्तरण गर्नु हो । सामाजिक न्यायसहितको समाजवादमा पुर्‍याउनु हो । हुन त प्रतिगमनका विरुद्ध यथास्थितिवादका विरुद्ध तथा प्रतिक्रियावादका विरुद्ध लडाई त निरन्तर चलिरहन्छ र चालिरहनुपर्छ । निरन्तर क्रान्तिको सिद्धान्तले यही कुरा सिकाउँछ ।

माक्र्सवादी हुनुका नाताले माक्र्सवादको सारतत्व द्वन्द्वात्मक भौतिकवादले अन्धभक्त होइन, हरेक वस्तुलाई द्वन्द्ववादी भएर बुझ्नुपर्छ भन्ने मान्यता राख्नु पर्छ । यति बेला राजनीतिमा गालीगलौजको संस्कृति मौलाएको छ । निर्वाचन अवधिमा त्यस्तो संस्कृतिलाई अझ बढोत्तरी दिइएको छ । यो कुनै राजनैतिक संस्कार होइन । राजनीतिक दलहरुले आफ्ना विचार, राजनीति तथा कार्य योजना प्रस्तुत गरेर जनताको मन जित्न सक्नुपर्छ । जनताका भावना, चाहना, आवश्यकता र जनजीविका समस्यालाई उठाएर तिनलाई सम्बोधन गर्ने ठोस कार्यक्रमिक योजना दिन सक्नुपर्‍यो । जनताका समस्याप्रति हवाई व्याख्या गर्ने र अन्य राजनैतिक दललाई अश्लीलताको पराकाष्ठामा पुगेर सत्तोसराप गर्ने प्रवृत्ति लोकतान्त्रिक चरित्रभित्र अवश्य पर्दैन । अर्को पक्ष भनेको लोकतान्त्रमा पराजय पनि स्वीकार्य हुनुपर्छ । निर्वाचन निश्पक्ष र धाँधलीरहित बनाउन सबै सम्बन्ध पक्ष इमान्दारीपूर्वक लाग्नु पर्छ । त्यसमा धोकाधडी, जालझोल एवं षड्यन्त्र कुनै हालत मान्य हुन सक्दैन । तर स्वास्थ प्रतिस्पर्धा तथा स्वतन्त्र निर्वाचनबाट पराजय भएमा त्यसलाई स्वीकार गर्न तयार हुनैपर्छ । यसलाई लोकतन्त्रको सुन्दर पक्ष मानिन्छ । निर्वाचनमा केवल तानाशाहमात्र कहिल्यै हार्दैनन् किनकि उसले जालझेल, षड्यन्त्र, सत्तादुरुपयोग सबै हतियार प्रयोग गर्छ । तर लोकतान्त्रिक दलहरुका निमित्त जय पराजय दुवै परिणाम सम्मान योग्य हुनुपर्छ ।

अर्को पाटो के पनि छ भने राजनीति सेवा कि पेशा ? यसमा स्पष्ट हुन जरुरी छ । राजनीति मुलत राज्यको मुल नीति हो । यसले देश र जनताका यावत समस्याका समाधान दिनु सक्नुपर्छ । राजनीतिकर्मी निरन्तर जनताका सेवामा जोडिन सक्नुपर्छ । गरिबी उन्मुलन गर्न, रोजगारी सृजना गर्न तथा जनताको स्वास्थ्य, शिक्षा सुरक्षा जस्ता महत्वपूर्ण विषयमा राजनीतिक दलहरुको ध्यान केन्द्रीत हुन नितान्त जरुरी छ । व्यक्तिगत स्वार्थ, लोभ लालचा तथा भोगविलासमा लिप्त व्यक्ति राजनीतिक नेता बन्न सक्दैन । जनता रोग, भोक र गरिबीले आक्रान्त हुँदा महलमा रम्ने र करोडौँका कारमा सयर गर्ने व्यक्तिले जनताको वास्तविक मर्म बोध गर्न सक्दैन ।

विदेशी शक्तिले राष्ट्रमाथि थिचोमिचो गर्दा, हैकम लादेर हस्तक्षेप गर्दा र बलमिच्याइँ गरेर भूगोलको अतिक्रमण गर्दा समेत अनदेखा गर्ने र जिहजुर गरिरहने व्यक्तिले राष्ट्रको नेतृत्व गर्नु हुँदैन र पाउँदैन । वास्तवमा राजनीति सेवा हो, पेसा होइन । आज राजनीतिक दलका नेताहरुले राजनीतिलाई पेशा बनाएर व्यक्तिगत सम्पत्ति आर्जन गर्ने व्यावसाय बनाउँदै गरेको देखिन्छ । नेताहरुका धन्दा, व्यवसाय छैनन्, तर महलहरु ठडिँदै गएका छन् । सुख, सयल थपिदै गएका छन् । यसरी राजनीति पेशा बनाएर राष्ट्रलाई दोहन गर्ने र जनतालाई शोषण गर्ने प्रवृत्तिले लोकतान्त्रिक गणतन्त्र खोक्रो गणतन्त्र साबित हुनेछ । यस्तो गम्भीर एवं खतरनाक चिन्तन, शैली र प्रवृत्तिप्रति जनता सचेत हुँदा मात्र जनताका हक, अधिकार सुरक्षित हुनेछन् ।

तपाईको प्रतिक्रिया