सम्पादकीय: श्रमको सम्मान गर

समाधान संवाददाता २०७९ वैशाख १९ गते ११:५८

नेपालको संविधानले मौलिक हक र कर्तव्यमा आम श्रमिकका अधिकार सनिश्चित गरेको छ । नयाँ श्रम ऐन मार्फत श्रमजीवी वर्गको सामाजिक सुरक्षाको व्यवस्था भएको छ । नेपालमा श्रमिकको बैंक मार्फत भुक्तानी गर्ने र काम गर्दाको समयमा वा सेवा निवृत्त भएपछिको जीवनलाई सुरक्षित बनाउन योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सुरुवात भयो । तर नेपालमा श्रम सम्बन्धी कानुन सफल रुपमा कार्यान्वयनमा आउन सकेको छैन ।

सामाजिक सुरक्षा कोषमा जम्मा भएको आम श्रमिकको रकमको सही रुपमा परिचालन हुन सकेको छैन । योगदानमा आधारित सामाजिक सुरक्षा योजना बेवारिसे जस्तो भएको छ । १ सय ३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाई रहँदा नेपाली श्रमिकले श्रम ऐनमा व्यवस्था भए अनुसारको नियुक्ति सेवा सुविधा पाउन सकेका छैनन् । त्यस्तै श्रमको सम्मान गरी श्रमिकले सम्मानित, सुरक्षित र समृद्ध जीवन यापन गर्न पाएका छैनन् ।

ऐतिहाँसिक पृष्ठभूमि हेर्दा श्रमिकको अवस्था नागरिक सरहको थिएन । श्रमिकलाई बस्तुको दर्जामा राखेर हेरिन्थ्यो । सामन्ती राज्य व्यवस्था र रोगजारदाताको विपक्षमा बोल्नु दुस्सायस हुन्थ्यो । काम गर्नेमाथि काम लगाउनेको ज्यादतिका बिरुद्ध सन १८८६मा अमेरिकाको सिकागोमा पहिलो संगठित मजदुर आन्दोलन भएको थियो । त्यस आन्दोलन माथि भएको चरम दमनका स्मरण गर्दै आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आरामको माग सहित सन १८९०मा आन्दोलन सफल भएपछि विश्वभरी श्रमिक दिवस मनाउन थालिएको छ । नेपालमा विक्रम सम्बत २००३मा विराटनगर जुट मिलमा पहिलो पल्ट संगठित मजदुर आन्दोलन सुरु भयो । क्रमशः नेपालमा २००७ सालदेखि निरन्तर रुपमा श्रमिक दिवस मनाइने गरेको छ ।

Advertisement

नेपालको हरेक राजनीति परिवर्तननमा आम मजदुरको योगदान छ । मजदुरको संघर्षको कारणमा नेपालमा राजतन्त्रको समुल अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । राजनीतिक परिवर्तन तथा शासन व्यवस्थालाई फेर्न योगदान पु¥याएका आम नेपाली श्रमिकले नेपालका राजनीतिक दल तथा राज्यबाट उचित हिस्सा पाउन सकेका छैनन् । श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नु आजको आवश्यक हो । तर शासन व्यवस्था संस्थागत हुने क्रममा नेपाली श्रम क्षेत्रको सम्बोधन हुन सकेको छैन । सम्मानित सुरक्षित श्रम जीवन, स्वास्थ्य नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यन्वयन गर्नु आवश्यक छ ।

खासगरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मजदुरलाई बस्तुबाट मानवमा रुपान्तरण गर्ने अभियानसँग जोडिएको छ । मजदुर दिवस मजदुरको सम्मान भएको दिन हो । आम मजदुरले उत्सव एवं पर्वको रुपमा लिन गौरवशाली दिवस समेत मानिन्छ । रातदिन श्रम गरेर जिविकोपार्जन गर्ने श्रमजीवहरुको हक, अधिकार र स्वतन्त्रतालाई स्थापित गर्दै सबै वर्गका मजदुरहरुलाई एकताको सूत्रमा बाँध्न तथा सम्मानित र मर्यादित जीवन यापन गर्न मजदुर दिवस सार्थक बन्न सकोस ।

Advertisement

तपाईको प्रतिक्रिया