सम्पादकीय: देशका मेरुदण्डको उपेक्षा

समाधान संवाददाता २०७९ वैशाख २० गते ११:५३

नेपालबाट विभिन्न राष्ट्रमा रोजगारीका लागि जानेहरु संख्या दैनिक बढिरहेको छ । सँगसँगै उनीहरुले भोग्नेगरेका समस्या पनि थपिँदै गएका छन् । नेपालीको परिवार चलाउने र देशको अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सको छ । यसरी विदेशमा गएर कमाउने र परिवार, देश चलाउने आप्रवासी कामदारहरु भने सधै उपेक्षामा छन् । त्यस क्षेत्रमा भएका समस्याको समाधान गर्न सरकार उदासीन देखिन्छ । जति पटक सरकार गठन भए पनि वा मन्त्री फेरिए पनि वैदेशिक रोजगारीका समस्या समाधानका लागि ठोस पहल हुन सकेको छैन । युवा थोरै लगानी गरी धेरै पैसा कमाउन जाने प्रलोभनमा ठगिने गरेका छन् भने श्रमका नाममा नेपाली महिला तथा पुरुष बेचविखनमा समेत पर्ने गरेका छन् ।

साहूसँग चर्काे ऋण लिएर विदेशिनुपर्ने वाध्यता हटेको छैन । वैदेशिक रोजगारीका लागि कागजपत्र बनाउनेदेखि पासपोर्ट, भिसा प्रक्रिया सबैतिर ठागीमा पर्ने जोखिम छ । अहिले देश निर्वाचन मय छ । कमसेकम ४० लाख नेपाली विदेशमा भएको अनुमान गरिन्छ । तीमध्ये अधिकांश युवायुवती छन् । उनीहरु मतदान गर्न वञ्चित भएका छन् । यत्रो ठूलो युवा जनशक्ति मतदानबात बञ्चित हुनु लोकतन्त्रका लागि राम्रो विषय होइन । गरिबी, रोजगारीको न्यून अवसर, परम्परागत जीवन निर्वाहमा घट्दो रुचि, ऋणको भार, सामाजिक दबाब, प्रभाव र पारिवारिक बेमेल र देशको अस्थिर अवस्थाका कारण वैदेशिक रोजगारीमा जानेको ग्राफ उकालिँदै छ । प्रतिवर्ष करिब ४ लाख ५० हजार श्रमशक्ति आन्तरिक श्रम बजारमा प्रवेश गर्छ । कोभिड १९ को महामारीअघि दैनिक सरदर १ हजार देखि १२ सय नेपाली वैदेशिक रोजगारीका लागि जाने गरेका थिए । मलेसिया तथा खाडी मुलुकहरु युएई, कतार, बहराइन, साउदी अरव र ओमानमा जाने नेपालीको संख्या धेरै छ । ७५ प्रतिशत अदक्ष, २४ प्रतिशत अर्धदक्ष र १ प्रतिशत मात्रै दक्ष जनशक्ति वैदेशिक रोजगारीका लागि जाने गरेका छन् ।

अदक्ष कामदार विदेश पुगेकै कारण हरेक दिन नेपालीको निधन हुने गरेको छ । ठगीका घटना सामान्य भएका छन् । वैदेशिक रोजगारीका कारण उनीहरुको परिवारमा सामाजिक संकट देखिन थालेका छन् । पारिवारिक विघटन पनि देखिन थालेको छ । विश्वभर मजदुर दिवस मनाइएको छ । तर मजदुरको अवस्था उत्थानका लागि ठोस कार्ययोजना देखिएको छैन । स्वदेशमा अवसर भए ठूलो जनशक्ति यही काम गर्छ । केही अवसरका लागि जाने कुरा सामान्य हो । देशको उर्वर भूमि बाँझो राखेर विदेशमा कठिन श्रम गर्न लागे युवाको लर्काे नियन्त्रय गर्न सरकारको उचित पहलकदमी जरुरी छ ।

Advertisement

तपाईको प्रतिक्रिया