मुस्ताङमा मतदाताको उत्साहजनक सहभागिता

समाधान संवाददाता २०७९ वैशाख ३० गते १४:५७


स्थानीय तह निर्वाचन अन्तर्गत हिमाली जिल्ला मुस्ताङमा दिउँसो २ बजेसम्म ७० प्रतिशत मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ । स्थानीय तहको दोश्रो कार्यकालका लागि आफुले रोजेको जनप्रतिनिधिलाई मतदान गर्न मतदाताहरुको उत्साहजनक सहभागी रहेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका निर्वाचन अधिकारी मदन अर्यालले जानकारी दिए ।
मुस्ताङको लोमान्थाङमा कुल मतदाता १९४८ मध्ये ७२ प्रतिशत,लोघेकर दामोदरकुण्डमा कुल मतदाता १४६२ मध्ये ६२ दशमलव ३ प्रतिशत,वारागुङ मुक्तिक्षेत्रमा कुल मतदाता २२४४ मध्ये ६५ प्रतिशत,घरपझोङमा २०८४ मतदाता मध्ये ७३ दशमलव ६० प्रतिशत र थासाङ गाउँपालिकामा कुल मतदाता २७४७ मध्ये ७१ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।कार्यालयले साँझ ५ बजेसम्म ८० प्रतिशत मत खस्ने अनुमान गरेको छ ।
स्थानीय तह निर्वाचनका लागि मत खसाल्न ५ वटै स्थानीय तहका ३८ मतदान केन्द्रमा मतदाताहरु बिहान ७ बजेदेखि लाईनमा बसेका थिए । भौगोलिक रुपमा विकट हिमाली जिल्ला मुस्ताङमा कम मतदाता भएकाले मतदाताहरुलाई आफ्नो मताधिकार प्रयोग गर्न कुनै कठिनाई परेन । जेष्ठ नागरिक,अपाङ्ता भएका व्यक्ति र अन्य मतदाताहरु समेत आफुले चाहेको जनप्रतिनिधि छान्न मतदान स्थलमा आईपुगेका थिए ।
मुस्ताङको ५ स्थानीय तहको १३५ जनप्रतिनिधि चयन मध्ये यसअघि लोघेकरको ३ वटा वडा र घरपझोङ गाउँपालिकाको ३ वटा वडामा गरी ३० जना जनप्रतिनिधि निर्विरोध भएका थिए ।यस्तै,लोमान्थाङ र लोघेकर दामोदरकुण्डमा गरी ९ वटा दलित पद उम्मेदवार नहुँदा रिक्त छ ।मुस्ताङको ५ स्थानीय तहमा ९५ जना जनप्रतिनिधिको लागि निर्वाचन भएको जिल्ला निर्वाचन कार्यालय अधिकारी अर्यालले बताए । लोमान्थाङमा २२ ,लोघेकरमा ७,वारागुङमा २७,घरपझोङमा १२ र थासाङमा २७ पदका लागि आज मतदान भईरहेको छ ।
स्थानीय तह निर्वाचनको सुरक्षाका लागि मुस्ताङमा झन्डै ४९० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । मुस्ताङमा २५६ जना म्यादी,११२ जनपथ प्रहरी छन् । सशस्त्र प्रहरीको मोवाईल टिमले सुरक्षा गस्ती र मतदान केन्द्रको सुरक्षामा तैनाथ छन् । ३ वटै सुरक्षा निकायलाई आपत्कालिन सुरक्षाका लागि रिजर्भ फोर्समा राखिएको थियो ।
फोटो सुन्दरकुमार थकाली
निर्वाचन कार्यक्रमको झलक ः

तपाईको प्रतिक्रिया