मुस्ताङमा विपद् प्रतिकार्य योजना सम्वन्धि बैठक सम्पन्न

सुन्दरकुमार थकाली २०७९ असार १२ गते १९:१४

जोमसोम–

मनसुन सुरु भएसंगै हिमाली जिल्ला मुस्ताङमा विपद् व्यवस्थापन प्रतिकार्य योजना बैठक सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङ अन्तर्गत जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा आईतबार भएको मनसुन तथा विपद् प्रतिकार्य योजना सम्वन्धि छलफल तथा अन्तरक्रियामा जिसस मुस्ताङसहित जिल्लाका ५ वटै स्थानीय तह र जिल्ला स्थित सरोकारवाला कार्यालयहरुले सहभागी जनाएका छन् ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको अध्यक्षतामा भएको जिल्ला स्तरीय मनसुन तथा विपद् प्रतिकार्य योजना बैठकले विभिन्न ३ बुँदे निर्णय गरेको छ । निर्णयमा विपद् प्रतिकार्यका लागि स्थानीय तह ,सरोकावाला जिल्ला स्थित सरकारी कार्यालय र सुरक्षा निकायहरुले कार्य विभाजन सहित जिम्मेवारी तोकिएको छ ।

स्थानीय तहहरुले विपद् व्यवस्थापनको पूर्व तयारी अपनाउन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने,सूचना तथा तथ्यहरु संकलन र संम्प्रेषण गर्ने,उद्दार र राहतका सामाग्रीको बन्दोवस्त गर्ने,स्वंयसेवी समूह गठन र परिचालन गर्ने, एम्बुलेन्स र बैकल्पिक सामाग्री तयारी अवस्थामा राख्ने र विपद् सम्पर्क व्यक्ति तोकी सम्वन्धित निकायलाई जानकारी गराउने निर्णय गरिएको छ ।

Advertisement

नेपाली सेना ,सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई तालिम प्राप्त जनशक्तिलाई तयारी अवस्थामा राख्ने,यन्त्र उपकरण र आवश्यक उद्दार तथा राहत सामाग्रीको बन्दोबस्त गर्ने,मातहतका ईकाईलाई चुस्त राख्ने,विपद्को समयमा उद्दार कार्यका लागि अंग्रपंक्तिमा खटिने र कम्तिमा २५ जनाको जनशक्ति तत्काल खटाउन सक्ने गरी तयारी अवस्थामा राख्ने र सुरक्षा निकायहरुबीच आपसी समन्वयमा परिचालित हुने ।
यस्तै ,जिल्ला प्रशासन कार्यालय , स्वास्थ्य कार्य,जिल्ला अस्पताल तथा स्वास्थ्य सस्थाहरु,खानेपानी जलश्रोत तथा सिचाई सवडिभिजन कार्यालय,बिद्युत तथा सञ्चार सेवा प्रदान गर्ने निकाय,पूर्वाधार विकास ,बेनी जोमसोम कोरला सडक,नेरोसो,गैसस,सञ्चार क्षेत्र र आम नागरिकहरुले विपद् प्रतिकार्यका लागि खेल्नु पर्ने भूमिका बारेमा जिम्मेवारी दिईएको हो ।

मनसुन सुरु भएसंगै सम्भावित हुनसक्ने विपद्का घटना र त्यसको निराकरणका लागि पूर्व तयारी सम्वन्धि जिल्ला स्तरीय बैठकमा मुस्ताङका ५ वटै स्थानीय तहहरुले विपद् प्रतिकार्य तथा व्यवस्थापन र पीडितका लागि दिईने राहत समाग्री व्यवस्थापन गर्ने आवश्यक बजेट विनियोजन भएको जानकारी गराएका छन् । बैठकमा मुस्ताङमा बाढी,पहिरो, नदी कटान र हिमपातको जोखिम रहेको बैठकमा सहभागीहरुले उल्लेख गरे ।

Advertisement

कालिगण्डकी नदीको ढुङ्गा गिट्टी बालुवा आवश्यक कानुन र नीति निर्माण नहुँदा उत्खनन् हुन नसक्दा कालिगण्डकीको सतह वृद्धि हुँदै गईरहेको सहभागीहरुले बताए । कालिगण्डकी नदीको सतह बर्सेनि बढ्दै जाँदा कालिगण्डकी तटीय क्षेत्रको बस्ती उच्च जोखिम परेकाले यसतर्फ ध्यान जान आवश्यक रहेको औल्याए ।

बैठकमा राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माणधिन पुलहरु निर्माण कम्पनीले ढिलासुस्ती गरेकोमा त्यस्ता निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याएर काम गर्ने वातावरण तय गर्नु पर्ने उल्लेख गरे ।
बैठकमा सम्भावित विपद्ग्रष्त क्षेत्रको पहिचान गरी आवश्यक कार्ययोजना बनाएर अघि बढाउन सके मात्र मनसुन तथा विपद् प्रतिकार्य प्रभावकारी हुने बैठकमा उल्लेख गरिएको छ । जिल्ला स्तरीय विपद् बैठकमा स्थानीय तहका जनप्रतिनिधि ,कर्मचारी ,सुरक्षा निकाय र जिल्ला स्थित सरकारी कार्यालयहरुले विपद् प्रतिकार्य सामना गर्न आफ्नो तयारी सुनाए ।

बैठकमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले हिमाली जिल्लाको भौगोलिक अवस्था र यहाँ हुने सम्भावित विपद्का घटनाहरुको प्रतिकार्य स्वरुप जिल्ला स्तरीय छलफल भएको जानकारी दिए ।

‘विपद् न्यूनिकरण तथा रोकथाम गर्न हामी सम्वेदनशील छौ, विपद् प्रतिकार्यका लागि सबै अंगलाई क्रियाशील राख्ने र केही परे तत्काल उद्दार तथा राहतलाई प्रभावकारी बनाउन लागेका छौं ।’उनले विपद् प्रतिकार्य योजनाका लागि जिल्ला स्थित सुरक्षा निकाय र प्रशासन तैयारी अवस्थामा राखेको बताए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया