२१ दिनमा ५ हजारले लेखाए मतदातामा नाम

मतदाता भन्छन् बालेन र हर्क जस्तो उम्मेद्वारको खाँचो
पोखरा ।
निर्वाचन कार्यालय कास्कीमा मंगलबार मतदाता नामावली दर्ता गराउने सर्वसाधारणको बाक्लो उपस्थिति थियो । नामावली दर्ताका लागि फारम गाउँले ईन्द्र गुरुङले भरिदिएपछि आफ्नो पालो कुर्दै थिए ५४ वर्षीय अवकास प्राप्त भारतीय सैनिक टेकबहादुर गुरुङ ।
दाहिने हात र खुट्टा राम्रोसँग नचल्ने उनी बिरामी भएकाले कर्मचारीले उनलाई सजिलो बनाइदिए । पालो दिइहाले । गुरुङले कास्कीबाट नामावली दर्ता गराएता पनि उनले स्याङ्जा पुतलीबजार वडा नम्बर ७ बाट मतदान गर्नुपर्नेछ । फोटो खिचाइसकेपछि टेकबहादुर भने, ‘मलाई त मतदानमा सहभागी हुनु मनै छैन । दाजु स्याङ्जामा हेडमास्टर छन् । उनले कास्कीबाट नि नामावली दर्ता गराउन मिल्ने सुनाए । उनकै हप्कीले परिचयपत्र बनाउन आएको हुँ ।’ टेकबहादुर पोखरा महानगर गरिमा टोलका अस्थायी बासिन्दा हुन् । गुरुङ बालेन र हर्क साम्पाङ जस्तो उम्मेद्वार भए पो मतदानको औचित्य रहने बताउँछन् ।
पोखरा फूलबारी निवासी ७१ वर्षीया नारायण बराल आफ्नी ४० वर्षीया छोरीका साथ निर्वाचन कार्यालय पुगेका थिए । आफू ०२६ सालमा नै मतदानको योग्य रहे पनि लोकतन्त्रपछि मात्रै आफूले भोट हाल्न पाएको सुनाए । उनले भने, ‘पञ्चायत कालमा मतदानको कदरै थिएन र पञ्चायतपछि निर्वाचन भएता पनि प्रजातन्त्रको मूल्यांकन नै भएन ।’ बरालले ठट्टा गर्दै भने, ‘मैले पहिला पञ्चायतले गर्दा भोट हाल्न पाइन अहिले छोरीले कार्य व्यस्तताले बल्ल ४० वर्षको उमेरमा नामावली दर्ता गराउन आ’की छ ।’
स्याङ्जा पुतलीबजार नगरपलिकाका १२ का २४ वर्षीय अर्जुन तिवारी मंगलबार मात्रै मतदाता परिचयपत्र बनाउन निर्वाचन कार्यालय कास्की आइपुगेका थिए ।
गाउँ गाउँमा बड्दो अराजनीतिक कार्यले गर्दा पनि युवामा राजनीतिबाट वितृष्णा जागेको तिवारी बताउँछन् । तिवारी भन्छन्, ‘गाउँमा एउटा बाटो बनाउने योजना पर्यो भने पनि विभिन्न राजनीतिक दलले स्वर्थ खोज्न थाल्छन् । यस्तो समाज देखेकाले नै युवाको रोजाइ नै विदेश हुन्छ ।’ तिवारीले आफू पनि विदेशिने सुरमा रहेको सुनाए । बालेन जस्ता पारदर्शी विकासको खाका हुनेलाई मात्र जनताले चुन्नुपर्ने तिवारी बताउँछन् । ब्याचलर फस्ट एयर पढेदै गरेकी छोरेपाटनकी १८ वर्षीया अमृता गुरुङ पनि नामावली दार्ताका लागि फारम भरी फोटो खिचाउने प्रतीक्षामा थिइन् । गत स्थानीय निर्वाचनमा उमेरले मतदान छेकेको उनलाई यसपालि भने आफूले पनि जनप्रतिनिधि छन्न पाउनेमा दंग देखिन्छिन् ।
अमृता भन्छिन्, ‘लोकतन्त्रमा मताधिकार नै सबैभन्दा ठूलो मानवअधिकार हो । नेताले देश बिगारे भन्नेमा सबैको एक मत रहन्छ तर हामीले चुनेको व्यक्तिले देश बिगारेको हो कि भन्ने हामी सोच्दैनौं । पोखरा जस्तो प्रकृतिले वरदान गरेको ठाउँमा यसलाई स्वर्ग बनाइराख्न हामीले हाम्रोलाई होइन, राम्रोलाई मतदान गर्नुपर्छ ।’ निर्वाचन कार्यालय कास्कीका सूचना अधिाकारी रुद्र न्यौपानेले असार १ गतेदेखि सुरु भएको नामावली दर्ता प्रक्रियामा २१ गतेसम्ममा ५ हजार व्यक्तिले नामावली दर्ता गराइसकेको बताए । न्यौपाने भन्छन्, ‘हाल जिल्ला प्रशासन कार्यालय र जिल्ला इलाका प्रशासन कार्यालयबाट पनि नामावली दर्ता भइरहेको छ ।
नामावली दर्ता प्रक्रिया मन्त्रिपरिषदले चुनाव मिति घोषणा गरेको दिनसम्म चल्नेछ ।’ मतदाताले देशभरका निर्वाचन कार्यालयबाट नामावली दर्ता गराउन मिल्ने भए पनि आफ्नै स्थायी ठेगानाबाट मात्रै मतदान गर्न मिल्ने जानकारी अधिकांशलाई थाहा नभएकाले पनि केही सेवाग्राही सूचना अधिकारी न्यौपानेले सुनाए ।
तपाईको प्रतिक्रिया