राजनीतिमा निष्ठा नछोडेकी अम्बिकादेवी : छैन प्राप्ति त्यागैमात्र

समाधान संवाददाता २०७९ असोज ५ गते १८:२४

युवराज पौडेल
वि.सं २००८ साल मंसिर २६ गते स्याङजाको आँधीखोला गाउँपालिका वडा नं ६ छाप गाउँमा जन्मेकी अम्बिकादेवी पौडेल अहिले उमेरले ७१ वर्षकी भइन् । वि.सं २०२५ सालमा नेपाल विद्यार्थी सङ्घको सक्रिय सदस्य भएर उनले राजनीतिक जीवनको आरम्भ गरिन् । विद्यार्थीकालबाट नै राजनीति सुरु गरेकी अम्बिकादेवीका बाबु लक्ष्मीपति ढकाल तत्कालीन समयमा राजनीति र समाजसेवामा सक्रिय थिए । सामाजिक तथा शैक्षिक क्षेत्रमा बाबुको क्रियाशीलता देखेर प्रभावित भएकी अम्बिकाको बाल मष्तिस्कमा बाबुको राजनैतिक व्यक्तित्वको सकारात्मक प्रभाव परेको थियो ।

उनले २०३६ सालबाटै नेपाली काङ्ग्रेसबाट सक्रिय राजनीति सुरु गरिन् । जतिबेला उनले सक्रिय राजनीति सुरु गरिन्, त्यतिबेला महिलाका लागि राजनीति भन्ने कुरा सहज थिएन । उनले आफ्नो अतित स्मरण गरिन् । ती दिन महिलाका लागि निकै चुनौतीपूर्ण थिए । तीसको दशकको नेपाली समाज आज जस्तो थिएन । महिलाप्रति हेर्ने सामाजिक दृष्टिकोण पनि अहिले जस्तो फराकिलो थिएन । महिला घरबाट बाहिर निस्कनु नै असहज मानिन्थ्यो । त्यहीँमाथि राजनीतिमा लाग्नु त झनै सकसपूर्ण हुन्थ्यो । बुहारी मान्छे, दैनिक घरको कामकाज गर्नैपथ्र्याे । आफ्नो विगत सम्झँदै उनले भनिन्, ‘राति ४ बजे गोठधन्धा सकेर खाना पकाएर समयमै राजनैतिक कार्यक्रममा उपस्थित हुनुपथ्र्याे । दिनभरि कार्यक्रममा गएपछि घरका काम र खेतबारीका काम लथालिङ्ग हुन्थे । बेलुका घर गएपछि पनि राति १२ बजेसम्म बसेर भए पनि घरधन्धा, जुठोभाँडो र मेलापातका काम सक्नैपथ्र्याे ।’

‘दिनभरि राजनीतिमा हिँड्ने कमाइधमाइ छैन’ भन्दै सासु कराउनुहुन्थ्यो । राजनीतिमा हिँडेकाले श्रीमान्को नजर पनि सकारात्मक हुने कुरै थिएन । ‘राजनीतिमा हिँडेर यसले के पाउँछे’ भनेर गाउँमा महिला दिदीबहिनीहरुले नै कुरा काट्थे । ‘कहीँ नभएकी नेती भइछे’ भनेर खिसीट्युरी गर्थे । अम्बिकादेवी आफ्नो विगत स्मरण गर्छिन् ।

Advertisement

२०४६ सालको परिवर्तनमा उनको पनि योगदान छ । उनी त्यो आन्दोलनमा सक्रिय रुपमा सहभागी भइन् । आन्दोलनका क्रममा उनी पटक पटक पुलिस हिरासतमा बसिन् । २०४६ सालको आन्दोलनमा उनी घाइते भइन् । पुलिसले उनलाई यातना समेत दियो । तर उनको लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई पञ्चायतका शासकले पनि हच्काउन सकेनन् । उनलाई पञ्चहरुले अनेक पदका लोभ पनि नदेखाएका होइनन् तर उनी लोभमा कहिल्यै फँसिनन् । २०४६ सालपछि उनी काङ्ग्रेसको राजनीतिमा अझै सक्रिय भइन् । उनले थाहा पाएसम्म पार्टीका जिल्लादेखि केन्द्रसम्मका कुनै कार्यक्रम छुटाउँदैनथिन् ।

२०४७ सालमा उनी नेपाल महिला सङ्घ स्याङ्जाकी सचिव भइन् । महिला सङ्घमा रहेर उनले महिलाहरुलाई सङ्गठित बनाउने काममा लागिन् । उनले महिलाहरुमा राजनैतिक जागरण ल्याउने काममा भूमिका खेलिन् । उनले त्यति नै बेला आरुखर्क गाउँ विकास समितिको सचिव भएर पार्टीमा काम गरिन् । उनी खगेन्द्र रेग्मी जिल्ला सभापति हुँदा काङ्ग्रेसको जिल्ला सदस्य समेत भएर सङ्गठनमा काम गरिन् ।

Advertisement

२०५२ सालबाट सुरु भएको माओवादी द्वन्द्वबाट नेपाली काङ्ग्रेसका थुप्रै नेता कार्यकर्ता पीडित भइरहेका थिए । उनी पनि माओवादीको निसानामा परिन् । माओवादीले २०५७ सालमा उनको फेदीखोलास्थित पर्सेभाटी भन्ने ठाउँमा भएको पसलमा आगो लगाइदिए । उनको पसलका सबै सामान ध्वस्त भए । त्यसपछि पनि माओवादीले उनलाई पिछा गरिरहे । घरमा गएर आतङ्कित पारिरहे । यसपछि उनलाई गाउँमा बस्नै गाह्रो भयो । माओवादीले पटक पटक काङ्ग्रेसको राजनीति छोड्न भने । ‘कि गाउँ छोड कि राजनीति छोड’ भनेर धम्की दिइरहे ।

तर उनले गाउँ छोडिन् तर राजनीति भने छोडिनन् । उनी केही समय सदरमुकाममा विस्थापित भएर बसिन् । सदरमुकाममा बस्न पनि सजिलो थिएन । आर्थिक अभावका बिचमा सहरको बसाइँ पनि सहज हुने कुरा थिएन । ऋण काढेर उनले खर्चको जोहो गरेर भए पनि राजनीतिलाई निरन्तरता दिइरिहन् ।

दोस्रो जनआन्दोलनको समयमा पनि उनले आफ्नो सक्रियतालाई कम हुन दिइनन् । सुरुबाटै उनी आन्दोलनमा सक्रिय भइन् । जिल्लामा प्रदर्शन हुने क्रममा पुलिसले उनलाई पक्राउ ग¥यो । उनी १९ दिनसम्म स्याङ्जा कारागारमा नजरबन्दमा बसिन् ।

उनी काङ्ग्रेसको १४ औँ महाधिवेशनमा स्याङ्जा क्षेत्र नं १ ‘ख’ बाट क्षेत्रीय सदस्य निर्वाचित भइन् । उनले २०७८ को स्थानीय निर्वाचनमा आफ्नो पालिकामा नेपाली काङ्ग्रेसलाई जिताउन उनी निरन्तर खटिइन् । फेदीखोला गाउँपालिका काङ्ग्रेसका सभापति महेन्द्र थापा भन्छन्, ‘७१ वर्षको उमेरमा पनि अम्बिका दिदीको जोस मरेको छैन । अझै पनि काङ्ग्रेस राजनीतिमा उहाँको सक्रियता कुनै तन्नेरीको भन्दा कम छैन ।’

नेपाली काङ्ग्रेस स्याङ्जाका नेता लोकतान्त्रिक योद्धा तारापति सुबेदी भन्छन्, ‘अम्बिकादेवी लोकतन्त्रका लागि लडेकी योद्धा हुन् । नेपाली काङ्ग्रेसको राजनीतिमा उनको योगदान एकदमै ठूलो छ । उनी कहिल्यै विचलित नभई निरन्तर सङ्गठन निर्माणमा लागिरहेकी छन् । उनले पद र पैसाका लागि कहिल्यै आफ्नो निष्ठा गुमाइनन् ।’

अम्बिकादेवीको योगदान बारे स्याङ्जाका काङ्ग्रेसका पुराना बौद्धिक नेता त्रिभुवन शर्मा भन्छन्, ‘अम्बिकादेवी महिलाहरुलाई जागरण गर्दे लोकतन्त्रका लागि सङ्घर्ष गरेकी व्यक्ति हुन् । सङ्गठन निर्माणमा उनको ठुलो भूमिका छ । उनले थुप्रै चुनौती सहेर पनि आफ्नो आदर्शलाई कहिल्यै ढल्न दिइनन् ।’

उनी नेतामात्र होइन, किसान पनि थिइन् । उनले राजनीति र कृषि पेसालाई सँगसँगै लिएर हिँडिन् । किसान परिवारभित्र उनका आफ्नै कर्तव्यहरु थिए । खेतबारी, मेलापात र कुटोकुदालो पनि सम्हाल्नै पथ्र्याे । बुहारीको भूमिका पनि निवाउनै पथ्र्याे । आमाको भूमिकामा सन्तानप्रतिका निश्चित कर्तव्यहरु पनि थिए । प्रकृतिले दिएको मातृत्वको दायित्व पूरा गर्नैपथ्र्याे । यी सबैका बाबजुद पनि उनले सबै कर्तव्यलाई सन्तुलित बनाउँदै जिन्दगीको रथ संयमतापूर्वक हाँकिरहिन् । उनी २०६३ सालमा सप्तरीको राजविराजमा भएको किसान सङ्घको महाधिवेशनमा बहुमतले केन्द्रीय सदस्य निर्वाचित भइन् ।

वास्तवमा उनले चार दशकभन्दा बढी लोकतन्त्र र नेपाली काङ्ग्रेसको राजनीति अनि महिला जागरण र परिवर्तनका पक्षमा बिताएकी छन् । घर परिवार र समाजका सबै चौघेराहरु नाघेर उनले आफ्नो राजनैंतिक चेतनालाई दियोलाई कहिल्यै निभ्न दिइनन् । बाल्यकालमै आफ्नो बुबाबाट परेको राजनैतिक प्रभावलाई उनले जीवनभर मर्न दिइनन् । राजनीतिमा लाग्नुको कारणबारे बताउँदै उनले भनिन्, ‘मेरो बुबा राजनैतिक व्यक्ति हुनुहुन्थ्यो । उहाँको राजनैतिक योगदानबाट म सानैबाट प्रभावित थिएँ । मेरो राजनैतिक प्रेरणाको स्रोत बुबा नै हो ।’

आफैले पैसा खर्च गरेर, गाडीभाडा तिरेर उनी हरेक क्षेत्र, जिल्ला र केन्द्रले आयोजना गरेका पार्टी र पार्टीका भातृसङ्गठनका कार्यक्रममा निरन्तर उपस्थित हुन्छिन् । उनले ४ दशक लामो पार्टी राजनीतिमा कुनै लाभको पद पाइनन् । उनी जहिले पनि निष्ठामै बाँचिन् । नैतिकता र आदर्शको घेरालाई कहिल्यै तोडिनन् । चाकडीमा कहिल्यै लागिनन् । उनी भन्छिन् ‘पदका लागि नेताको चाकडी गरेको भए म उहिल्यै सांसद भइसक्थेँ होला । तर मलाई आफ्नो काममा विश्वास छ । म सबैलाई सम्मान गर्छु तर चाकडी गर्न कहिल्यै जानिन ।’

आगामी मंसिर ४ गतेको निर्वाचनमा स्याङ्जा जिल्ला क्षेत्र नं १ प्रदेश ‘ख’ बाट समानुपातिकमा उम्मेदवारी दिएकी पौडेलको नाम जिल्ला र प्रदेशबाट सिफारिस भएको छ । केन्द्रले अन्तिम निर्णय गर्न बाँकी छ । उनलाई जीवनभरको राजनैतिक योगदानको अन्तिम पटक पार्टीले मूल्याङ्कन गर्छ भन्ने विश्वास छ । उनी भन्छिन्, ‘मेरो सक्रिय राजनीतिको यो अन्तिम मौका हो । यसपटक पार्टीले मेरो योगदानको अवश्य मूल्याङ्कन गर्ने छ भन्ने विश्वास लिएकी छु । तर म टिकटका लागि कुनै केन्द्रीय नेताको घरदैलोमा गएकी छैन । उनले भनिन्, ‘मैले कुनै ठुला नेतालाई भनेकी पनि छैन । सबै काठमाडौ गएका छन् रे ! तर म टिकटकै लागि भनेर नेता भेट्न काठमाडौ गइन र जान्न पनि ।’

तपाईको प्रतिक्रिया