नवौं राष्ट्रिय खेलकुद महिला क्रिकेट

सम्झनाको अर्धसतकमा पुलिसकाे जित

रिखिराम जिसी २०७९ असोज २७ गते १०:५२

रिखिराम जिसी
पोखरा ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट पोखरा रंगशालामा चलिरहेको छ । आइतबारबाट सुरु क्रिकेटमा नेपाल पुलिस क्लबको डेब्यु प्रतियोगिता हो । अधिकांश घरेलु प्रतियोगितामा विभागीय टिमको दबदबा रहँदै आइरहेको छ । अहिले चलिरहेको प्रतियोगितामा पनि विभागीय टिम बलियो रुपमा प्रस्तुत भइरहेका छन् ।

डेब्यु प्रतियोगिता खेलिरहेको नेपाल पुलिसका लागि सबै खेलाडी नयाँ हुन् । प्रदेशबाट खेल्दै आएका खेलाडीहरु पुलिसमा समेटिएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीको कप्तानी रहेको पुलिस दरिलो प्रस्तुत भएको छ । प्रतियोगिताको दुवै खेलमा पुलिसले सहज जित निकालेको छ । पहिलो खेलमा कर्णाली प्रदेशसँग फराकिलो जित निकालेको थियो ।

दोस्रो खेलमा प्रदेश नम्बर १ लाई पनि फराकिलो अन्तरले पराजित गर्‍यो । दुवै जितको श्रेय पुलिसकी ब्याटस्म्यान सम्झना खड्कालाई जान्छ । उनी दुबै खेलमा म्यान अफ द म्याच घोषित भएकी छन् । उनै खड्काले कर्णालीविरुद्धको पहिलो खेलमा २१ बलमा २ चौकाको मद्दतले २५ रन जोडिन् । उनले प्रदेश नम्बर १ विरुद्ध ४३ बलमा १० चौकाको मद्दतमा ६० रनको अर्धसतकीय रनिङ खेलिन् ।

Advertisement

सम्झना यो प्रतियोगिता विभागीय टोलीबाट खेलेको पहिलो प्रतियोगिता हो । यसअघि सुदूरपश्चिमको टिमबाट खेल्दै आएकी थिइन् । ०७१ सालबाट बझाङबाट खेल्न सुरु गरेकी यो सिजनबाट पुलिसको टोलीमा आवद्ध भएकी हुन् । प्रदेशबाट भन्दा विभागीय टोलीबाट खेल्ने मौका पाएको उनले बताइन् । ‘प्रदेशबाट खेल्दा खासै खेल देखाउन पाइएन । तर, यता देखाउन पाएँ । जहाँ पनि खेल्नुपर्छ तर, मेरो पोजिसन यता मान्छेहरुले बुझिदिए,’ उनले भनिन् ।

सुदूरपश्चिमकै खेलाडी भएका कारण खेल्न सजिलो भएको सम्झना बताउँछिन् । ‘टिममा धेरै सुदूरपश्चिमकै खेलाडी भएर पनि होला धेरै सजिलो भयो । बाँकी त आफ्नै मेहेनतले नै हो जस्तो लाग्छ मलाई,’ उनी भन्छिन् ।
अहिलेको टिमका क्याप्टेन, कोच सबैले आफूलाई बुझ्दा खुसी लागेको उनले बताइन् । ‘एकदम सजिलो भइराखेको छ । क्याप्टेन, कोच सबैले मलाई बुझिदिनु भएको जस्तो लागिराछ,’ उनले भनिन्, ‘त्यही अनुसार पनि आफ्नो पर्फमेन्स गर्न पाएँ, खुसी लागिराखेको छ ।’

Advertisement

अहिलेको प्रतियोगितामा आफ्नो क्लबलाई गोल्ड मेडल दिलाउने लक्ष्य रहेको उनले बताइन् । ‘क्लबलाई गोल्ड मेडल जिताएर म बेस्ट ब्याटर बन्ने लक्ष्य छ,’ उनले भनिन् ।

लुम्बिनीले कर्णालीलाई हरायो
लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई फराकिलो अन्तरले पराजित गरेको छ । पोखरा रंगशालामा बुधबार भएको दोस्रो खेलमा लुम्बिनीले कर्णालीलाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २७ रन बनायो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले ३ चौकाको मद्दतमा सर्वाधिक ३१ रन बनाइन् । सरस्वती घर्तीमगरले ३०, सुस्मिता बजगाईंले १२, मधु डिसीले १२ रन ल्याए । बलिङतर्फ कर्णालीका अन्जु गुरुङले २ र अन्जिला क्षेत्रीले १ विकेट लिए ।

जितका लागि १ सय २८ रन पछ्याएको कर्णाली मात्रै २३ रनमा समेटियो । कर्णालीले ८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २३ रनमा समेटियो । कर्णालीका लागि किरण कुँवरले ५ रन सर्वाधिक बनाइन् । लुम्बिनीका मधु डिसीले ४ ओभर बलिङ गर्दै ११ रन खर्चेर ४ विकेट लिइन् ।

उनी म्यान अफ द म्याच घोषित भइन् । कृतिका मरासिनीले २ र सुस्मिता भुसालले १ विकेट लिइन् । प्रतियोगिता अन्तर्गत बिहीबार नेपाल एपीएफ क्लब र गण्डकी प्रदेशविच पहिलो तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशविच दोस्रो खेल हुनेछ ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया